१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १५ मंगलबार
  • Tuesday, 28 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ जेठ १५ मंगलबार o६:o६:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

जेठ १ बाट ब्रोकर कमिसन घट्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १५ मंगलबार o६:o६:oo

सेयर कारोबारमा ब्रोकरले पाउने कमिसन घट्ने भएको छ । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिले १ जेठबाट लागू हुने गरी ब्रोकर कमिसन घटाउने निर्णय गरेको हो । कमिसन शुल्क बोर्डले प्रस्ताव गरेअनुसार अर्थमन्त्रीले स्वीकृत गरेको १० प्रतिशतकै दरमा घट्ने गरी लागू हुने धितोपत्र बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले बताए । उनले भने, ‘यो निर्णयले लगानीकर्तालाई एउटा उत्साह थप्नेछ, लामो समयको माग पूरा भयो ।’

जेठबाट लगानीकर्ताले ब्रोकरलाई बुझाउने, ब्रोकरले धितोपत्र बोर्डलाई बुझाउने र धितोपत्र बोर्डले लिने कमिसनको दरसमेत घटाइएको छ । बोर्डका अनुसार सेयर कारोबारमा रहेको अधिकतम ०.४० प्रतिशतको माथिल्लो सीमालाई घटाएर ०.३६ प्रतिशत कायम गर्ने र तल्लो सीमामा रहेको ०.२७ प्रतिशतलाई घटाएर ०.२४३ प्रतिशत कायम गरिएको छ । यसअघि बोर्डले १० पुस ०७७ मा ब्रोकर कमिसन घटाएर माथिल्लो सीमा ०.४० प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशत बनाएको थियो ।

अब लगानीकर्ताले ५० हजारसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा ०.३३ प्रतिशत, पाँच लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३०६ प्रतिशत कमिसन बुझाउनुपर्छ । त्यस्तै, २० लाखदेखि एक करोड रुपैयाँसम्ममा ०.२७ प्रतिशत र एक करोडभन्दा माथिको कारोबारमा ०.२४३ प्रतिशतसम्म कमिसन लाग्नेछ । 

बोर्डले आफूले पाउँदै आएको कमिसन शुल्क पनि १० प्रतिशतले घटाएको श्रेष्ठले बताए । बोर्डले ब्रोकरले दिएको सेवा शुल्कमा ०.६ प्रतिशत नियमन शुल्कबापत ब्रोकर कम्पनीबाट प्राप्त गर्दै आएको छ । अब भने ब्रोकरले ०.५४ प्रतिशत यस्तो शुल्क बुझाउनुपर्नेछ ।

लगानीकर्ताले गर्ने कारोबारबापत धितोपत्र बोर्डले प्राप्त गर्दै आएको कमिसन ७ प्रतिशतले घटाएको छ । बोर्डले लगानीकर्ताले गर्ने कारोबार रकमको ०.०१५ प्रतिशत कमिसन पाउँदै आएको छ । अब ०.०१४ प्रतिशत मात्रै पाउनेछ । 
एक वर्षदेखि रोकिएको ब्रोकर कमिसन घटाउने प्रस्ताव अर्थमन्त्रीमा वर्षमान पुन आएसँगै अगाडि बढेको हो । मन्त्री पुनसँग लगानीकर्ताले अल्पकालीन र दीर्घकालीन सुधारको योजनामा ब्रोकर कमिसन घटाउनुपर्ने माग राखेका थिए । लगानीकर्ताको मागलाई सम्बोधन गर्दै उनले गत साता मन्त्रीस्तरीय निर्णय गर्दै कमिसन घटाउने प्रस्तावलाई स्वीकृत दिएका थिए । 

अघिल्लो वर्ष जेठमा बसेको सञ्चालक समितिको बैठकले बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । उक्त समितिले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने प्रस्ताव गरेको थियो । सोहीअनुसार सञ्चालक समितिले कमिसन घटाउने प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेको थियो । 

पाँच महिनाअघिकै विन्दुमा फर्कियो नेप्से 
 नेप्से परिसूचक पाँच महिनायताकै तल्लो विन्दुमा आइपुगेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १५ दशमलव ६२ अंकले घटेर एक हजार नौ सय ५८ दशमलव ७५ विन्दुमा आइपुगेको हो । यसअघि उक्त विन्दुमा गत २६ मंसिर मंगलबार नेप्से सूचक ३६ अंकले बढेर एक हजार नौ सय ५८ विन्दुमा बन्द भएको थियो । नेप्से सूचक मात्र नभई कारोबार रकम पनि घटेको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका ६९ लाख ७८ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन तीन अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको थियो ।

सोमबार सिटिजन लाइफ इन्स्योरेन्स, नेपाल फाइनान्स, पोखरा फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, गोर्खा फाइनान्स ६ करोड रुपैयाँदेखि ३१ करोड ९८ लाख रुपैयाँसम्मको कारोबार भएकोछ । यस दिन सर्वाधिक बढ्ने कम्पनीमा बोटलर नेपाल (तराई), माउन्टेन हाइड्रो नेपाल, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था, दिव्यश्वरी हाइड्रोपावर र वराही हाइड्रोपावर पब्लिक लिमिटेडको चार दशमलव शून्य ५ प्रतिशतदेखि ९ दशमलव शून्य ३ प्रतिशतसम्मले बढेको छ । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिले ब्रोकर कमिसन घटाउने निर्णय गरेको भए पनि लगानीकर्तामा त्यसको प्रभाव देखिएन । लगानीकर्ता देव गुरागाईंले  विगतदेखिकै चर्चामै रहेको हुँदा खासै लगानीकर्तामा नछोएको बताए । उनले भने, ‘अलिक ठूलो दरमा घटेको भए एक प्रकारको सेन्टिमेन्ट हुन सक्थ्यो, तर यसमा नयाँ केही छैन ।’

पूर्वअर्थसचिव गोपी मैनालीले अर्थतन्त्रमा विश्वासको वातावरण नहुँदा त्यसको असर अहिलेको पुँजी बजारमा परेको बताए । उनले भने, ‘लगानीकर्तामा व्यक्तिमा एउटा विश्वास हुन्छ र क्षणिक समयका लागि बजार बढ्छ, त्यसलाई तत्परता दिन सकिएन भने विश्वासको वातावरण निरन्तर घट्दै जान्छ, अहिले सेयर बजारमा भइरहेको पनि त्यही हो ।’

अर्कोतर्फ धितोपत्रमा हुन सक्ने (भित्री कारोबार) इन्साइडर टे«न्डिङको अनुसन्धान गर्ने जिम्मेवारी नेपाल प्रहरीलाई दिने निर्णय गरेपछि पनि लगानीकर्तामा मनोवैज्ञानिक असर परेको मैनालीको भनाइ छ । प्रहरीले अनुसन्धान गर्ने विषयलाई लिएर बोर्डकै कर्मचारीहरू असन्तुष्टि छन् ।

 अर्थशास्त्री चन्द्रमणि भट्टराईले पुँजी बजारमा सुधार ल्याउनका लागि नीतिगत सुधार गरेर जानुपर्ने बताए । उनले भने, ‘लगानीकर्तामा निराशा छ, त्यसमा आशा ल्याउन लगानीकर्ताले बुझाएको सुझावअनुसार काम गर्नुपर्छ ।’ अहिले समग्र अर्थतन्त्रमै निराशा छ, यस्तो अवस्थामा सरकारले सबै लगानीयोग्य क्षेत्रलाई विश्वासमा लिएर काम गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

ad
ad