१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ कार्तिक २६ मंगलबार ०७:१६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

आलम प्रकरण : सरकारी साक्षी चमारले बयान फेरेपछि प्रहरीको नियन्त्रणमा

Read Time : > 2 मिनेट
२०७६ कार्तिक २६ मंगलबार ०७:१६:००

बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर जलाएको अभियोगमा प्रहरी हिरासतमा रहेका सांसद मोहम्मद अफताब आलमविरुद्ध बयान दिने भनिएका गौरीशंकर राम चमारले घटनाको विषयमा थाहा नभएको भन्दै अदालत पुगेका छन् । अदालतमा थुनछेक बहस चलिरहेका वेला चमार सोमार आलम पक्षका वकिलसँग अदालत पुगेका थिए । उनलाई प्रहरीले पक्राउ गरेको छ । 

स्टोभ पड्केर घाइते भएको कागजात पेस
चमार राजपुरमा भएको बम विस्फोटमा घाइते भएको सरकारी साक्षी हुन् । उनले आफू बमले नभएर स्टोभ पड्केर घाइते भएको कागजात पेस गरेका छन् । २७ चैत ०६४ को संविधानसभा निर्वाचनलाई लक्षित गरी बम बनाउँदै गर्दा भएको विस्फोटमा परेर घाइते भएका भनिएका चमारलाई सो घटनाको घाइते नभएको भन्दै आलम पक्षका वकिल सुरेशप्रसाद श्रीवास्तवले निवेदनसहित अदालत लैजाँदै थिए । 

विस्फोटमा परेर घाइते भएका भनिएका चमारको अनुहारको तल्लो भागदेखि छातीसम्म जलेको थियो । उनले यसअघि बम विस्फोट आलमको योजनामा भएको भन्दै रौतहट जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको प्रहरीले सार्वजनिक गरेको थियो । भारत बिहारको सीतामढी ग्राम मुसाचौक बैरगनियाका चमारले मट्टीतेलको स्टोभ पड्कँदा आफ्नो अनुहार जलेको विवरण निवेदनमा लेखेका छन् । 

यसअघि २१ कात्तिकमा बम विस्फोटमा मारिएका मोहम्मद ओसी अख्तरकी पत्नी अमना खातुनले आफ्नो पति वैदेशिक रोजगारीमा गएर नफर्किएको निवेदन अदालतमा दिएकी थिइन् । तर, ०७४ सालमै खातुनले पतिको मृत्यु दर्ता प्रमाणपत्र बनाइसकेकी थिइन् । विस्फोटमा घाइते भएका अख्तरलगायतलाई इँटाभट्टामा जलाएर मारेको आलममाथि अभियोग छ । 

साधारण तारेखमा छाड्न आलमका वकिलको माग
आलमको मुद्दामा थुनछेक बहसको तेस्रो दिन सोमबारबाट प्रतिवादी पक्षको बहस सुरु भएको छ । आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोटसम्बन्धी कसुरमा गरी तीनवटा मुद्दा दायर गरिएको छ । आलममाथि लगाइएका मुद्दामा सोमबार प्रतिवादी पक्षका तर्फबाट वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, योगेन्द्र अधिकारी, सुनील पोखरेल र गोपालकृष्ण घिमिरेले बहस गरेका थिए । आलम पक्षमा ३० जनाभन्दा बढी कानुन व्यवसायी रहेकाले बहस बुधबारसम्म जारी रहने सम्भावना छ । 

प्रतिवादी पक्षबाट बहस गरेका अधिकांश कानुन व्यवसायीले राजपुर घटनामा आलमको संलग्नता नरहेको दाबी गरेका थिए । सरकारी वकिलको कार्यालय र प्रहरी अनुसन्धानले समेत आलम घटनामा संलग्न भएको पुष्टि गर्न नसकेको भन्दै साधारण तारेखमा रिहा गर्न माग गरेका थिए । ‘प्रहरीको अनुसन्धान प्रतिवेदनमा आलमको कुरा समेटिएको छैन । आलमले गरेका बयानका अधिकांश कुरा प्रहरी प्रतिवेदनमा उल्लेख नै छैन,’ वरिष्ठ अधिवक्ता केसीले भने, ‘सरकारी वकिल र प्रहरीले इन्सेकको प्रतिवेदनलाई प्रमाण बनाएका छन् । एउटा गैरसरकारी संस्थाले बनाएको प्रतिवेदनका भरमा आलमलाई थुनामा राख्न मिल्दैन ।’ आलमलाई मिडिया ट्रेल गरेर बदनाम बनाइएको र उनको मानहानी भएको भन्दै हावादारी भरमा एउटा जननिर्वाचित सांसदलाई दुःख दिने काम गर्न नहुने केसीको जिकिर थियो ।

बहसपछि पुनः आलमलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा लगिएको छ । मंगलबार पनि प्रतिवादी पक्षका कानुन व्यवसायीले बहस गर्ने र त्यसपछि पुनः सरकारी वकिलको तर्फबाट बहस हुने जिल्ला अदालत रौतहटले जनाएको छ ।

घाइतेलाई जलाउन सघाउने तत्कालीन एसपी लामाको खोजी
आफैँले बनाएको बम विस्फोट भएपछि घाइतेलाई जलाएर मारेको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफताब आलमलाई सघाउने प्रहरीहरूमाथि समेत छानबिन सुरु भएको छ । प्रहरीले रौतहटमा कार्यरत सशस्त्र प्रहरीका तत्कालीन एसपी रामकृष्ण लामामाथि अनुसन्धान थालेको छ । उनलाई उपस्थित गराइदिन भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । 

लामा हाल विदेशमा रहेको बताइएको छ । सोही सूचनाका आधारमा नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)लाई पत्राचार गरेको छ । ‘उनी हङकङमा रहेको पारिवारिक स्रोतबाट थाहा भएको छ,’ इन्टरपोल शाखाका एक प्रहरी अधिकारीले भने, ‘क्यान्सर र पक्षघातका रोगी छन् भन्ने सूचना छ ।’ स्रोतका अनुसार नेपाल प्रहरीले हङकङ प्रहरीलाई समेत पत्राचार गरिसकेको छ । तर, शुक्रबारसम्म कुनै जवाफ आएको छैन । हङकङमा रहेकै पुष्टि भएमा उनलाई झिकाउन थप प्रक्रिया अघि बढाइने प्रहरीको तयारी छ ।

गौरमा मौन जुलुस
आलम समर्थकले सोमबार गौरमा मौन जुलुस निकालेका छन् । करिब तीन हजारको हाराहारीमा रहेका आलम समर्थकले गौरको बिपी चोक हुँदै नगरको विभिन्न भागको परिक्रमा गरेका थिए । अदालतमा थुनछेक बहस चलिरहेका वेला मौन जुलुस प्रदर्शन गरिएको हो ।