१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ कार्तिक २२ शुक्रबार ११:०४:००
Read Time : < 1 मिनेट
समाचार

बिरामीको मृत्युपछि सेती प्रादेशिक अस्पतालमा तनाव

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २२ शुक्रबार ११:०४:००

उपचारका क्रममा बिरामीको मृत्यु भएपछि सेती प्रादेशिक अस्पतालमा तनाव भएको छ । उपचारमा चिकित्सकले लापरबाही गरेको आरोप लगाउँदै मृतकका आफन्तले शव बुझ्न अस्वीकार गर्दै बिहीबार अस्पताल घेराउ गरेपछि तनाव भएको हो ।

पेट दुखेपछि बुधबार बिहान ११ बजेतिर अस्पताल भर्ना भएका गौरीगंगा नगरपालिका–६, बनबेहडाका ४३ वर्षीय गगनसिंह कुँवरको बुधबार राति मृत्यु भएको थियो । सामान्य अवस्थामा भर्ना भएका बिरामीको चिकित्सकले लापरबाही गर्दा मृत्यु भएको आरोप मृतकका आफन्तले लगाएका छन् ।

‘बिहान आफैँ हिँडेर उपचारका लागि अस्पताल पुगेका बिरामीको साँझ मृत्यु भएको छ,’ मृतकका आफन्त राधिका कुँवरले भनिन्, ‘पेट दुखेपछि भर्ना गरेका थियौँ । उपचारका लागि डाक्टरलाई पटक–पटक बोलायौँ, तर आएनन् । उपचार गर्न नसक्ने अवस्था भए अन्यत्र रेफर गरिदिनुपथ्र्यो । हामी अन्तै लैजान्थ्यौँ ।’ 

घटनाको छानबिन गरिने
मृतकका आफन्तले उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । बुधबार बेलुकीदेखि अस्पतालको आकस्मिक कक्षमा शव राखेर मृतकका आफन्तले विरोध गरेका थिए । घटनाको छानबिन गर्ने, पीडित पक्षलाई क्षतिपूर्तिका लागि पहल गर्ने, मृतकका परिवारलाई सेती अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्नेलगायत सहमति भएपछि बिहीबार दिउँसो पीडित पक्षले शव उठाएका छन् ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेयले घटना कसरी भयो भन्ने बुझ्न छानबिन समिति गठन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले समितिको प्रतिवेदनअनुसार लापरबाही देखिए सम्बन्धित चिकित्सकलाई कारबाही गर्ने तथा क्षतिपूर्तिका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयलाई आग्रह गर्ने सहमति भएको जानकारी दिए । ‘मृतकका परिवारको निःशुल्क उपचार गर्ने सहमति भएको छ,’ पाण्डेयले भने ।

मृतकले नियमित अल्कोहल सेवन गरेको र खाना नखाएको पाइएको स्वास्थ्यकर्मीले बताएका छन् । चिकित्सकको लापरबाहीका कारण सेतीमा यस्ता घटना पटक–पटक दोहोरिने गरेको आरोप स्थानीयले लगाएका छन् ।