सनम कठायत

स्वास्थ्यकर्मी  मोडल

२०७६ कार्तिक १७ आइतबार ११:४७:००
सुनिता खनाल काठमाडाैं

प्रेमध्वज प्रधान, उदय सोताङ, रामकृष्ण ढकालदेखि प्रमोद खरेल, अञ्जु पन्त, शिव परियार, सिडी विजय अधिकारीसम्मका गीतमा मोडलिङ गरिसकेका छन्, सनम कठायतले । मोडलिङमा लागेको एक दशकमा संगीतसँग सम्बन्धित नेपालका सबैजसो अवार्ड हात पारिसकेका छन्, उनले । तर, यस क्षेत्रमा आफूले अझै धेरै काम गर्न बाँकी रहेको उनी बताउँछन् । हालसम्म ६ सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । उनले अभिनय गरेका अधिकांश भिडियो सफल मानिएका छन् ।

उनको अर्को परिचय पनि छ, माइक्रोबायोलोजिस्टको । उनको खास पेसा हो यो । अहिले महामारी रोग नियन्त्रण शाखा, टेकुमा कार्यरत छन् । त्यसबाहेक नर्सिङ कलेजहरूमा पढाउँछन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा पनि काम गर्छन् । केही समय कान्ति बाल अस्पतालमा काम गरेका थिए । एकातिर सूक्ष्म जीवाणुबारे जानकार हुनुपर्ने उनको पेसा छ भने अर्कोतिर मोडलिङको रंगीन दुनियाँमा जमेका छन् । दुई फरक क्षेत्रलाई सन्तुलन मिलाएर अगाडि बढ्नु चानचुने कुरा थिएन । कलेज पढ्ने वेलामा एकातिर टप लेभलको पढाइ त अर्कोतिर मोडलिङमा संघर्षको चरण थियो । त्यतिवेला निकै गाह्रो भएको उनी बताउँछन् । मेडिकल क्षेत्रलाई ‘पार्टटाइम जब’ मान्छन्, उनी । पूर्णकालीन काम भने मोडलिङलाई नै मानेका छन् । स्वास्थ्य क्षेत्रमा रहेर परिवारको र मोडलिङबाट आफ्नो सपना पूरा गरिरहेका छन् । दुवै काममा उत्तिकै सक्रिय छन् । आफ्नो जीवन प्रेरणादायी लाग्छ । 

समय व्यवस्थापनमा माहिर छन्, उनी । दुवैतिर तारतम्य मिलिरहनुमा सञ्चारमाध्यम र उनीसँग जोडिएका साथीसंगीको पनि सहयोग छ । अफिस र मोडलिङ क्षेत्रका सबै सहकर्मी र हाकिमहरूको साथ र माया पाएका छन् । कार्यालयमा मोडलिङको परिचयले राम्रो माहोल बन्ने गरेको उनी बताउँछन् । भन्छन्, ‘मेडिकल पर्सन मात्रै भएको भए मोडलिङको मज्जा लिनबाट चुक्ने थिएँ । दुवै पाटोमा उत्तिकै सन्तुष्ट छु ।’

माइक्रोबायोलोजिस्टको परिचयले आफूलाई मोडलिङ क्षेत्रमा विश्वासिलो बनाएको उनको भनाइ छ । स्वास्थ्य क्षेत्रमा पनि रंगीन दुनियाँको परिचयले सहज बनाएको बताउँछन् । स्वास्थ्य क्षेत्रका साथीहरूले मोडलिङ, सुटिङ कस्तो हुन्छ, दैनिक जीवन कसरी सन्तुलित गर्नुहुन्छ जस्ता प्रश्न सोध्दा उनलाई रमाइलो लाग्छ । ‘शरीरले होइन, विचार र दिमागले मोडलिङ ग¥यो भने यो क्षेत्र अझ सुन्दर हुनेछ,’ उनी भन्छन्, ‘अभिनय यात्राका लागि संघर्षभन्दा सिकाइ ठूलो कुरा हो ।’ एकपटक उनको नाम प्रहरी निरीक्षकमा पनि निस्किएको थियो । तर, उनी त्यता लागेनन् । 

मोडलिङमा उनी भाइरल ट्रेन्डिङभन्दा दिगो यात्रामा विश्वास गर्छन् । त्यसका लागि राम्रो सोच र शिक्षालाई ठूलो कुरा मान्छन् । फ्यानहरूबाट फिल्म खेल्ने सल्लाह आउने गरेको बताउँछन् । सामाजिक मुद्दा र सकारात्मक सन्देश प्रवाह हुने प्रोजेक्ट पाउँदा फ्यानको चाहना पनि पूरा गर्ने उनको सोच छ ।