२०७६ कार्तिक ४ सोमबार १३:००:००
प्रदेश

हाप्किडोमा प्रदेश ५ पहिलो

२०७६ कार्तिक ४ सोमबार १३:००:००

रोल्पामा आयोजित ‘सहिद स्मृति मार्सल आर्टस् हाप्किडो प्रथम राष्ट्रिय प्रतियोगिता’ सम्पन्न भएको छ । रोल्पा मार्सल आर्टस् हाप्किडो संघद्वारा परिवर्तन गाउँपालिकाको पुतलाचौरमा आयोजित प्रतियोगितामा ८ स्वर्ण पदकसहित प्रदेश ५ पहिलो, ६ स्वर्णसहित प्रदेश ३ दोस्रो र २ स्वर्णसहित कर्णाली प्रदेश तेस्रो भएका छन् । 

प्रतियोगितामा पुरुषतर्फ प्रदेश ३ का विशाल खड्का र महिलातर्फ प्रदेश ५ कि कविता घर्तीमगरले उत्कृष्ट खेलाडीको उपाधि जितेका छन् । विक्रम बाँठामगर उत्कृष्ट रेफ्रीको रूपमा पुरस्कृत भएका छन् । 

प्रतियोगितामा सात प्रदेशका सात टिम र आयोजकको एक गरी जम्मा ८ टिम सहभागी थिए । प्रत्येक टिममा १६ खेलाडी रहेको खेल संयोजक यमुना घर्तीले जानकारी दिइन् । पुरुषतर्फ ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५ र ६५–७० केजी तौल समूहका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिलातर्फ पनि सोही तौल समूहको रहेको संयोजक घर्तीले बताइन् ।

खेलमा स्वर्ण १६, रजत १६, कास्य ३२ गरी जम्मा ६४ वटा पदक बाँडिएको थियो । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी, उदयमान खेलाडी, प्रशिक्षक र निर्णायकलाई १०÷१० हजार नगदसहित सम्मान गरिएको थियो भने टिम प्रथम, द्वितीय र तृतीयलाई आकर्षक ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार दिइएको आयोजक समितिका संयोजक यमुना घर्तीमगरले बताइन् ।

शुक्रबार प्रदेश मन्त्री सुदर्शन बरालले खेल उद्घाटन गरेका थिए । खेल सञ्चालनका लागि परिवर्तन गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो ।