कोरियाबाट फर्केर कृषिमा

२०७६ भदौ २६ बिहीबार ०७:१९:००

विद्यार्थी भिसामा कोरिया गएका तीन युवा नेपाल फर्किएर आधुनिक तरकारी खेती सुरु गरेका छन् । १ करोडभन्दा बढी लगानी गरेर चुरे क्षेत्रको फेदीमा उनीहरूले कोरियामा सिकेको सीप प्रयोगमा ल्याएका हुन् ।

मोरङको केराबारी ६ का दिलकुमार राई, डा. सरद केसी र महेन्द्रजंग साम्पाङले खोलाका किनारमा अर्गानिक खेती गरेका छन् । परम्परागत खेतीभन्दा फरक तरिकाले उनीहरूले टनेलमा टमाटर, खुर्सानी धनियाँ खेती गरिरहेका छन् । जनेफिस एग्री रिसर्च सेन्टर नाम दिएर व्यावसायिक तरकारी खेती गरिरहेका उनीहरूको उत्पादन धरान, इटहरी, विराटनगरलगायत स्थानीय बजारमा बिक्री भइरहेको छ ।

भारतबाट आउने तरकारीका कारण बजारमा उचित मूल्य पाउन भने समस्या हुने गरेको महेन्द्रजंग साम्पाङले बताए । ‘अहिले हाम्रो उत्पादन स्थानीय बजारका लागि ठिक्क छ,’ महेन्द्रले भने, ‘सरकारले भारतबाट आउने तरकारीको विषादी परीक्षण कडा गरिदिने हो भने हामीले राम्रो बजार भाउ पाउने थियौँ ।’ स्वदेशमै केही गर्न खोजेको काममा सरकारको पनि उत्तिकै साथ हुनु पर्ने भनाई उनको छ । त्यसो भएमा विषादी नभएको स्थानीय तरकारीले स्थानीयको स्वास्थ्य ठिक राख्न महत्वपूर्ण भुमिका खेल्ने उनले बताए । 

एक बिगहा जग्गामा खेती सुरु गरेका उनीहरूले गाँउमै बसेका युवालाई तालिम दिने योजनासमेत बनाएका छन् । गाईबस्तुको गोबर प्रयोग गरेर उनीहरूले तरकारी उत्पादन गर्ने गरेका छन् । केही स्थानीयले उनीहरूको तरकारी फार्ममा रोजगारीसमेत पाएका छन् ।