Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २८ बुधबार
  • Wednesday, 12 August, 2020
रुचि श्रेष्ठ काठमाडाैं
२०७६ भदौ १० मंगलबार ०८:०१:००
दृष्टिकोण

महिला समानता निरन्तरता र परिवर्तन

रुचि श्रेष्ठ काठमाडाैं
२०७६ भदौ १० मंगलबार ०८:०१:००

समकालीन नेपाली बौद्धिक वर्गमा एउटा कुरा स्पष्ट भइसकेको छ– कुनै प्रदेश, समुदाय वा वर्गका महिलाको समस्या सम्बोधनले मात्र सम्पूर्ण नेपाली महिलाको समस्यालाई सम्बोधन गर्न सक्दैन । कारण स्पष्ट छ, नेपाल जातीय,भौगोलिक, भाषिक, सांस्कृतिक विविधतामा आधारित छ ।

चेतना र विकासका हिसाबले महिलालाई विभिन्न आधारमा विभाजन गर्न सकिन्छ । नेपाली महिलाले कति पय नकारात्मक लाग्ने परिचयमा परिवर्तन ल्याएका छन् । तर, त्यस्ता परिवर्तन रातारात भएका होइनन् । महिलाले सामाजिक, पितृसत्तात्मक संरचना, आफैँभित्रको आत्मपीडक रुढीवादी मान्यता र मानसिकताविरुद्ध संघर्ष गरेका छन् । संघर्षको उद्देश्य हो, पुरुषसमान अधिकार प्राप्ति र आत्मसम्मान । 

समस्या समाधानको लागि त्यसको जरो ठम्याउनु आवश्यक हुन्छ । अनि समस्या स्विकार्न आत्मबल र साहस चाहिन्छ । तब मात्र संघर्ष अर्थपूर्ण बन्छ । यी प्रक्रिया कुनै विशेष र विशष्ट खाकाअनुसार नै चल्नुपर्छ भन्ने हुँदैन । मानिसमा आत्मज्ञान त्यतिवेला आउँछ, जब उसले समस्या, संकट र आत्मचिन्तनबारे थाहा पाउँछ । गान्धी कानुन पढ्न बेलायत गए । पछि, तिनै बेलायतीले आफूमाथि गरेको तिरष्कार, दमन र अत्याचारले उनको आत्मसम्मानलाई झकझक्यायो । त्यहीँबाट सुरु भएको थियो, बेलायती साम्राज्यविरुद्ध आत्मसम्मानयुक्त स्वाधीनताका लागि गान्धीको विद्रोह ।

सफलतामा महिला–पुरुष साझेदारी 
‘प्रत्येक पुरुषको सफलताको पछाडि महिलाको योगदान हुन्छ’ भन्ने भनाइ तर्कसंगत लाग्छ । ‘महिला असफल पुरुषको पछाडि लाग्दैनन्’ भन्दा पनि उत्तिकै तर्कसंगत लाग्ला । समाजमा धेरै तर्कहीन भनाइ पनि प्रचलित छन्, जसले चेत–अचेत रूपमा महिलालाई सहायक भूमिकामा बाँधिएको मात्र होइन, गौरवबोध गराइरहेको हुन्छ । अर्कोतिर, केही महिला आफ्नो सफलताको श्रेय बाबु र श्रीमान्लाई दिन कहिल्यै चुक्दैनन् ।

‘प्रत्येक पुरुषको सफलतामा महिलाको योगदान हुन्छ’ भन्ने भनाइ तर्कसंगत लाग्ला, तर ‘प्रत्येक महिलाको सफलतामा पुरुषको योगदान हुन्छ’ भन्ने भनाइ पनि उत्तिकै जायज लाग्छ

मानौँ, ‘प्रत्येक महिलाको सफलताको पछाडि पुरुषको योगदान हुन्छ’ भन्ने भनाइ पनि उत्तिकै जायज हुन्छ । खरो लैंगिक समानताको वकालत गर्नेका लागि यो कथन शत–प्रतिशत जायज हुन सक्छ । हाम्रो सामाजिक मूल्य र मान्यता हेर्ने हो भने पनि आफ्नो सफलताको श्रेय परिवार र आफन्तलाई दिनु विनयशीलता मानिन्छ ।

हो, कोही पनि व्यक्ति एकांकी रूपमा असफल पनि हुँदैन र सफल पनि हुन सक्दैन । एउटा अफ्रिकी कथन छ– एउटा बच्चो हुर्काउन सम्पूर्ण गाउँ चाहिन्छ । सम्पूर्ण मानव सभ्यताको अस्तित्व नै अनोन्याश्रित सम्बन्धमा टिकेको छ भने एउटा व्यक्तिको जीवनमा परिवार, साथी, समाजको प्रभाव पर्नु स्वाभाविक कुरा हो ।

तर, हाम्रो परिवार र समाजमा महिलाले आफ्नो सफलताको श्रेय पुरुषलाई दिनुको तात्विक अर्थ केलाउने हो भने महिलाले आफ्नो निर्णयको जिम्मेवारी लिन नसकेको देखिन्छ । महिलाले निर्णायक जिम्मेवारी लिन नचाहनु वा नसक्नुको कारण पनि स्पष्ट छ । महिलाले लिएको निर्णय ‘गलत’ साबित हुँदा सम्पूर्ण दोष महिलाकै थाप्लोमा पर्छ । विशेषगरी छोरीको निर्णयको जिम्मेवार आमा हुन्छन् । बाले अनुमति दिए आमा ढुक्क हुन्छन् ।

आमा पनि त बाकै अदृश्य संरक्षणमा बसेका हुन्छन् । महिलाले स्वनिर्णयको अधिकार प्रयोग गर्छन् भने निर्णय ‘गलत’ र ‘सही’ साबित हुने सम्भावना बराबर नै हुन्छ । परिणामको सबै जिम्मेवारी स्वीकार गरेर निर्णय लिन पाउनु नै आत्मसम्मानपूर्ण अधिकार हो । विभिन्न परिचय, परिवेश र राष्ट्रका महिलालाई एक सूत्रमा बाँध्ने धागो पनि यही नै हो ।

परम्परा र मान्यता रातारात परिवर्तन हुँदैनन् । त्यसो गर्न खोज्नु अस्वाभाविक हो । परिवर्तन आफैँ भइहाल्छ भन्दै पर्खेर बस्नु पनि अस्वाभाविक हो । तर, विरोध गर्नु स्वाभाविक हो, संघर्षको सुरुवात हो । स्वाभाविक कुरा स्वाभाविक रूपले स्वीकार हुन सहज छैन । समस्याको जटिलता यहीँबाट सुरु हुन्छ । एउटा ठूलो परिर्वतन ल्याउन एक युग लाग्न सक्छ, त्यो स्वाभाविक हो । युग परिवर्तन गर्ने सम्भावना बोकेको विचारको झिल्को बल्नचाहिँ मात्र एक निमेष भए पुग्छ ।