
सर्प
मैले सर्पअंकित टीका लगाउन सुरु गर्दा धेरैले आश्चर्य माने । म प्रतीकात्मक कलाकार भएकाले प्रतीकको प्रयोग गरिरहेको हुन्छु । सर्प इच्छाहरूको प्रतीक मानिन्छ । म पनि त्यसवेला इच्छा नै इच्छाले भरिएकी थिएँ । तर, जुनसुकै अवस्थामा पनि इच्छाहरू ब्यालेन्समा हुनुपर्छ । सबैको जीवनमा सपनाहरूको दौड हुन्छ । हामी सानो हुँदा जान्ने चाहना अर्थात् उत्सुकता हुन्छ । ठूलो हुँदै जाँदा नयाँ उपलब्धि प्राप्त गर्न दौडन थाल्छौँ ।
पढाइको दौड । पढाइ सकेपछि कमाउने दौड । त्यसपछि घरको इच्छा, सम्पत्तिको इच्छा, नामको इच्छा, पदको इच्छा, सफलताको इच्छा । यी मात्रै नभएर हाम्रो शारीरिक आवश्यकता पुर्ति गर्न केटीले केटाको र केटाले केटीको इच्छा राख्छन् । यी इच्छाहरूको दौडलाई ब्यालेन्समा लानुपर्छ । यसैको प्रतीक हो, सर्पको टीका । अर्को अर्थ पनि छ । सर्पमा विष हुन्छ । इच्छाहरूमा पनि विष हुन्छ । त्यो विषलाई औषधि पनि बनाउन सकिन्छ । यसरी इच्छाहरूले भरिएको मस्तिष्क ब्यालेन्स गर्नुपर्छ भनेर सर्पको चित्रको टीका लगाउँथेँ ।
त्रिशूल
म महिला भएर होला, महिलाले भोग्नुपर्ने अन्याय र हिंसाबारे धेरै जानकार छु । महिलालाई न्याय छैन । संविधान र कानुनले समेटे पनि कार्यान्वयन नभएको अवस्था छ । अझै पनि छोरीलाई सम्पत्ति किन चाहिन्छ भन्ने सोच छ । शिक्षा दिन जरुरी ठानिँदैन । मान्छे शिक्षित भए पनि सोचमा परिवर्तन आएको छैन । पितृसत्तात्मक समाजमा जन्मेको बच्चाको सोच शिक्षाले परिवर्तन गर्न गाह्रो हुँदोरहेछ ।
समानताका लागि छोरीलाई शिक्षा दिन जरुरी छ । शिक्षाले कुनै पनि व्यक्तिलाई आत्मनिर्भर बनाउँछ । प्रतीकात्मक रूपमा भन्ने हो भने सरस्वती भएपछि लक्ष्मी आफैँ आउँछिन् । त्यसले स्वतन्त्रता दिन्छ । जहाँ सरस्वती र लक्ष्मी दुई दिदीबहिनी छिन्, त्यहाँ खुरुक्क शक्ति दुर्गा आउँछिन् । यी तीनमध्ये सुरुमा शिक्षा दिनुपर्छ । सरस्वती भएपछि लक्ष्मी र दुर्गा अनिवार्य हुन्छ ।
सर्पमा विष हुन्छ । इच्छाहरूमा पनि विष हुन्छ । त्यो विषलाई औषधि पनि बनाउन सकिन्छ । यसरी इच्छाहरूले भरिएको मस्तिष्क ब्यालेन्स गर्नुपर्छ भनेर सर्पको चित्रको टीका लगाउँथेँ ।
एकजना लेखकले भन्नुभएको रहेछ, जहाँ सरस्वतीको वास छ, त्यहाँ लक्ष्मीको वास हुँदैन । म असहमत छु । दक्षिण एसियामा महिलामाथि धेरै नै विभेद छ । धेरै संघर्ष गर्नुपर्छ । अन्यायको विरोधमा दुर्गा र शिवजीको त्रिशूल महिला शक्तिको प्रतीक हुन सक्छ । त्यसकारण मैले त्रिशूलअंकित टीका लगाएकी हुँ ।
उदाउँदो सूर्य
अहिले म उदाउँदो सूर्य चिह्नको टीका लगाउँछु । पछिल्लो समय मेरी छोरीको जुन विडम्बनापूर्वक दुर्घटना भयो, त्यसपछि एक वर्षसम्म मैले केही काम गरिनँ । मैले जीवन के हो भनेर बुझ्न खोजेँ । सूर्य प्रकाश हो, शिक्षा हो र आत्मसचेतना हो । म किन जन्मेँ ? म के हो ? यसको उत्तर खोजेँ । किनभने, जीन्दगीभर त मैले दौड नै लगाएँ ।
कहिले करिअरको दौड, कहिले परिवारको दौड, कहिले पैसाको दौड, कहिले शक्तिको दौड । तर, वास्तवमा म किन आएँ र मेरो अर्थ के हो भनेर खोजिरहेकी छु । अझै पनि म जीवन के हो भनेर सिकिरहेकी छु । जीवनको अर्थ के हो भनेर खोजिरहेको भएर यस्तो टीका लगाएकी हुँ । यो मेरो लागि ‘लाइट अफ द इनलाइटमेन्ट’ हो ।