मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026
२o८३ असोज १४ बुधबार १९:१४:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

गण्डकीसँग भुटानको लगातार दोस्रो हार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १४ बुधबार १९:१४:oo

पोखरा भ्रमणमा रहेको भुटानको राष्ट्रिय क्रिकेट टोलीले जारी अभ्यास खेलमा लगातार दोस्रो हार व्यहोरेको छ। पुरुष टी–२० एसिया कप क्यालिफायरको तयारीका लागि अभ्यास गर्न पोखरा आएको भुटान गण्डकी–११ सँग लगातार दोस्रो खेलमा पराजित भएको हो। चार खेल खेल्ने तय भएको भुटानले बिहीबार र शुक्रवार क्यान–११ सँग खेल्ने छ।

पोखरा रंगशालामा बुधबार सम्पन्न दोस्रो खेलमा गण्डकीले भुटानलाई ६४ रन अन्तरले पराजित गरेको हो। यसअघि मंगलबार सम्पन्न पहिलो खेलमा भुटान गण्डकीसँग आठ विकेटले पराजित भएको थियो।

बुधबार भुटानले टस जितेर पहिले बलिङ रोजेको थियो। पहिले ब्याटिङको निम्ता पाएको गण्डकीले पूरै २० ओभर खेल्दै सात विकेट गुमाएर १९६ रनको योगफल तयार गरेको थियो। १९७ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङका लागि मैदान उत्रेको भुटान १७.४ ओभरमा सबै विकेट गुमाएर १३२ रनमा समेटियो।

गण्डकीका लागि प्लेयर अफ द म्याचसमेत रहेका सब्रिन श्रेष्ठले २४ बलमा एक चौका र पाँच छक्कासहित टोलीका लागि सर्वाधिक ४५ रन जोड्दा करण पंगेनीले २७ बलमा एक चौका र पाँच छक्कासहित ४५, सन्दिप खत्री क्षेत्रीले नटआउट रहँदै नौ बलमा एक चौका र चार छक्का सहित ३० रन प्रहार गरे। मुस्कान थापा मगरले २४ बलमा दुई चौका र एक छक्कासहित २१, रोहित चन्दले १६ बलमा दुई चौका र एक छक्कासहित २० रन बनाउँदा दीपकप्रसाद डुम्रेले १० बलमा चार चौकासहित टोलीका लागि १९ रनको योगदान गरे। ओपनर अर्जुन कमालले तीन बलमा दुई रनमात्र बनाएका थिए।

जवाफी ब्याटिङका लागि मैदान उत्रेको भुटानका लागि सोनाम चोपेलले २१ बलमा ६ चौका र दुई छक्कासहित ४३ रन बनाउँदा तासी दोजीर्ले ११ बलमा दुई चौका र तीन छक्कासहित ३१ रनको योगदान गरे। तेन्जिन राब्गे २० बलमा तीन चौकासहित २१ र थिन्ले जाम्त्सोले ११ बलमा दुई चौका र एक छक्कासहित १७ रन बनाए।

भुटानका थिन्ले जाम्त्सोले चार ओभर खेल्दै २७ रन खर्चेर चार विकेट हात पार्दा सोनाम येशले दुई र नाम्गे थिन्लेले एक विकेट निकाले। नेपालका विपिन खत्रीले ३.४ ओभरमा २२ रन खर्चेर चार, दीपक प्रसाद डुम्रेले तीन ओभरमा ३२ रन खर्चेर तीन, सिब्रिन श्रेष्ठले दुई र सन्दिप खत्री क्षेत्रीले एक विकेट हात पारे।
 

↑