मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026
२o८३ असोज १४ बुधबार १६:४o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जमिन भासिँदा ज्यामिरेमा १५ घर पूर्ण क्षति, ८० घर प्रभावित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १४ बुधबार १६:४o:oo

जमिन चिरिने र धसिने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले बकैया गाउँपालिका– ६, ज्यामिरेको जोखिमयुक्त बस्तीमा स्थलगत निरीक्षण गरेको छ। प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको नेतृत्वमा मंगलबार पुगेको टोलीले प्रभावित क्षेत्रको अवस्था अवलोकन गरेको हो।

प्रजिअ अधिकारीले स्थलगत निरीक्षणपछि स्थानीयको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सुरक्षित स्थानमा व्यवस्थापन गर्न गाउँपालिकालाई आग्रह गरेका छन्। ११ असोजदेखि ज्यामिरेका विभिन्न स्थानमा जमिन फाट्ने, चिरा पर्ने र भूभाग धसिने क्रम देखिएको थियो। स्थलगत निरीक्षणका क्रममा केही स्थानको जमिन साबिकको सतहबाट करिब १२ फिटसम्म तल धसिएको पाइएको प्रजिअ अधिकारीले जानकारी दिए। जमिन चर्किनुका साथै विद्युतका पोल ढल्किने र भूभाग सर्ने क्रम देखिएको उनको भनाइ छ।

प्रजिअ अधिकारीले जोखिमयुक्त स्थानमा नागरिकलाई बस्न नदिई सुरक्षित स्थानमा व्यवस्थापन गर्नु तत्कालको प्राथमिकता भएको बताए। घटनाबारे राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयलाई समेत जानकारी गराइसकिएको उनले जानकारी दिए।

जमिन किन र कति क्षेत्रमा सरेको हो तथा बस्ती भविष्यमा बसोबासका लागि सुरक्षित रहन्छ वा रहँदैन भन्ने विषय प्राविधिक अध्ययनपछि मात्रै यकिन हुने प्रजिअ अधिकारीले प्रस्ट पारे। ‘पहिलो काम नागरिकलाई सुरक्षित राख्नु हो। प्राविधिकको सल्लाह लिएर त्यसपछि आवश्यक प्रक्रिया अघि बढाउँछौँ,’ उनले भने, ‘जमिन किन र के कारणले सरेको हो, त्यसको पनि अध्ययन गर्छौँ।’

बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीका अनुसार भूक्षय तथा जमिन चिरिने समस्याबाट ज्यामिरे क्षेत्रका १५ घरमा पूर्ण रूपमा क्षति पुगेको छ भने ८० घर प्रभावित भएका छन्। यसअघि जमिन सर्न थालेपछि जोखिममा रहेका परिवारलाई तत्काल घर छाडेर सुरक्षित क्षेत्रमा जान स्थानीय प्रशासन र गाउँपालिकाले आग्रह गरेका थिए। केही परिवारलाई सुरक्षित स्थानमा सारिएको छ भने सुरक्षाकर्मीले माइकिङ गरेर चिरा परेको भूभाग र जोखिमयुक्त घरमा नबस्न सचेत गराएका थिए।

स्थलगत निरीक्षणपछि प्रशासनले पनि तत्कालको व्यवस्थापनसँगै दीर्घकालीन समाधानका लागि भूगर्भ तथा विपतसम्बन्धी विज्ञबाट अध्ययन गर्नुपर्ने निष्कर्ष निकालेको छ। प्रजिअ अधिकारीका अनुसार ज्यामिरेको भूभागमा देखिएको समस्या सामान्य पहिरो मात्रै हो वा ठुलो भूभाग नै अस्थिर भएको हो भन्ने विषय अहिले यकिन भएको छैन। त्यसका लागि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेर प्राविधिक टोलीबाट अध्ययन गराउने तयारी छ।

अध्ययनले जमिनको बनोट, चिराको विस्तार, थप भूभाग सर्न सक्ने सम्भावना र बस्ती बसोबासका लागि सुरक्षित भए–नभएको पहिचान गर्नेछ। त्यसकै आधारमा प्रभावित बस्तीलाई यथास्थानमा सुरक्षित बनाउन सकिने वा अन्यत्र स्थानान्तरण गर्नुपर्ने भन्ने निर्णय लिइने प्रशासनले जनाएको छ।

यसअघि पनि तल्लो ज्यामिरे क्षेत्रमा जमिन चिरिने र सर्ने समस्या देखिएको थियो। पछिल्लो लगातारको वर्षापछि समस्या पुनः दोहोरिँदा स्थानीय प्रशासन र गाउँपालिकाले बस्तीको दीर्घकालीन सुरक्षालाई लिएर प्राविधिक अध्ययन गरिने जानकारी गराएका छन्।
प्रशासनले अहिले जोखिमयुक्त घरका बासिन्दालाई सुरक्षित स्थानमा रहन, जमिनमा नयाँ चिरा देखिए वा भूभाग सरेको महसुस भए तत्काल वडा कार्यालय तथा सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरेको छ।

↑