रौतहटको गढीमाई नगरपालिका– ७, धरमपुरस्थित भित्री सडकखण्डमा ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ।
बुधबार बिहान सवा ९ बजे धरमपुरबाट पौराहीतर्फ जाँदै गरेको ना.६त ८४९२ नम्बरको ट्याक्टरले आफ्नै घरअगाडि बाटोमा खेलिरहेका स्थानीय छोटेलाल यादवका छोरा रितिक यादवलाई ठक्कर दिएको थियो। ट्याक्टरको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका बालकको बेटर नेपाल अस्पताल, गरुडामा उपचारका क्रममा साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे अस्पतालमार्फत प्रहरी चौकी धरमपुरमा जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक कृष्णमोहनप्रसाद गुप्ताको कमान्डमा तीनजनाको टोली घटनास्थलमा खटिएको थियो।
घटनास्थलमा ट्याक्टर छाडेर चालक फरार भएपछि प्रहरीले ट्याक्टरधनी स्थानीय सञ्जीव यादवलाई नियन्त्रणमा लिएको छ।