राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले विपतकाे समयमा सरकारलाई साथ दिने, तर सरकारका कमजोरीमाथि प्रश्न उठाउन नछाड्ने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले विपतका वेला आफन्त गुमाएका परिवार आफ्ना मान्छेको खोजी र उद्धारको प्रतीक्षामा रहेको भन्दै राजनीतिक दलहरूबिच आरोप–प्रत्यारोपभन्दा सरकारलाई आवश्यक सहयोग र खबरदारी गर्नुपर्ने बताए।
उनले आफूहरूले सर्वदलीय बैठकमै सरकारलाई साथ दिने प्रतिबद्धता जनाएको र अहिले पनि सरकारको काँधमा काँध मिलाएर अघि बढिरहेको बताए। तर, जनताको प्रतिनिधिका रूपमा सरकार र सम्बन्धित निकायलाई खबरदारी गर्नु आफ्नो अधिकार भएको उनको भनाइ थियो।
शाहीले बाढी आएको दिन दिउँसो २ बजे नै सुरुङभित्र मानिसहरू रहेको जानकारी आएको दाबी गर्दै उद्धारमा भएको ढिलाइप्रति प्रश्न उठाए। उनका अनुसार ७२ घण्टापछि अनुगमन टोली र ७६ घण्टापछि मात्रै उद्धार टोली पुगेको थियो। अन्तर्राष्ट्रिय समुदायबाट राहतसँगै विज्ञ र प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा पनि ९६ घण्टापछि मात्रै पहल भएको उनले बताए।
‘हामी जनताका जनप्रतिनिधि हौँ। जनताको आवाज बोल्ने र सम्बन्धित निकायलाई खबरदारी गर्ने अधिकार हामीसँग छ,’ शाहीले भने।
उद्धारका लागि आवश्यक स्रोत, साधन र जनशक्ति परिचालन गर्ने अधिकार सरकार र सम्बन्धित मन्त्रीसँग रहेको उल्लेख गर्दै उनले आफूहरूले उपकरण खरिद गर्न नसक्ने बताए। ‘उपकरण खरिद गर्ने अधिकार हामीसँग छैन, मन्त्रीलाई भन्ने हो। त्यो हुन सकेन,’ उनले भने।
शाहीले स्थानीय तहलाई समेत प्रभावकारी रूपमा परिचालन गर्न सरकारसँग माग गरे। वडाध्यक्ष तथा गाउँपालिका उपाध्यक्षसमेत बेपत्ता भएको अवस्थामा सम्बन्धित स्थानीय तहका प्रमुखहरूले सरकारले समन्वय नगरेको भन्दै भिडियो सन्देश जारी गरेको उनले बताए।
उनले उद्धारमा उपकरणको अभाव देखिएको भन्दै सामान्य अवस्थामा पाँच घण्टाभित्रै मिनी एक्स्काभेटर ल्याउन सकिने दाबी गरे। देशभित्र वा विदेशबाट समेत सुरुङमार्गसम्म उपकरण पुर्याउन सकिने भए पनि लामो समयसम्म उद्धारमा आवश्यक उपकरण नपुगेको उनको आरोप थियो। ‘२४ घण्टा फेसबुकमा हालेर १४४ घण्टापछि एक्स्काभेटर पठाइयो,’ उनले भने।
प्रधानमन्त्रीले हिलोभित्र उपकरण पठाउन नसकिने भनेको प्रसंग उल्लेख गर्दै शाहीले आफू त्यससँग सहमत नभएको बताए। ‘म ठोकुवा गर्छु, सकिन्छ। हामीले धेरै मान्छेको जीवन बचाउन सक्थ्यौँ, तर बचाउन सकिएन,’ उनले भने।
उद्धारका क्रममा सुरक्षाकर्मीले आवश्यक उपकरणविना काम गर्नुपरेको दाबी गर्दै उनले मोबाइलको बत्ती बालेर सेना सुरुङभित्र प्रवेश गर्नुपरेको बताए। हेलमेटमा लगाउने बत्तीसमेत पर्याप्त नभएको उनको भनाइ थियो।
शाहीले राज्यका मन्त्री, सांसद, शासक र विज्ञहरूले आफ्नो क्षमता र जिम्मेवारीअनुसारको काम गर्नुपर्नेमा प्रचारमुखी गतिविधिमा अल्झिँदा समस्या भएको टिप्पणी गरे। उनले भने, ‘देशका मन्त्री, सांसद, शासक र विज्ञहरू आफ्नो जिम्मेवारीको काम छोडेर अर्कै काममा अल्झिँदा, हुनुपर्ने ठाउँमा नहुँदा र अनुमति दिनुपर्ने ठाउँमा अनुमति नदिँदा अहिले पनि सुरुङभित्र मानिसहरू कराइरहेका छन्।’
शाहीले विपतकाे समयमा उद्धारमा खटिएका नेपाली सेनालगायत सुरक्षाकर्मीको भूमिकाको सम्मान गर्दै उनीहरूलाई केवल प्रशंसा गर्नुको सट्टा आवश्यक सुविधा र पारिश्रमिक वृद्धि गर्नुपर्ने धारणा राखे।
सरकारलाई निरन्तर सहयोग गरिरहे पनि सरकारका गलत काममाथि मौन नबस्ने स्पष्ट पारे। ‘सरकारको साथमा छौँ, तर सरकारको गुलामीमा छैनौँ,’ शाहीले भने।