मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
२o८३ भदौ १७ बुधबार ११:४९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढी प्रभावितका लागि जुट्दै सहयोगी हात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार ११:४९:oo

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट पीडितलाई राहत तथा पुनर्स्थापनाका लागि यहाँ स्वतस्फूर्त रूपमा सहयोग जुट्न थालेको छ । सरकारी निकाय, राजनीतिक दल, सामाजिक संघसंस्था, व्यापारिक प्रतिष्ठान तथा व्यक्तिहरूले आर्थिक सहयोग गरिरहेका छन् । आफ्नो खाजा खर्च कटाएर विभिन्न विद्यालयका विद्यार्थी पनि बाढीपीडितका लागि सहयोग जुटाइरहेका छन् । 

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट र मन्त्रीहरूले एक महिनाको पारिश्रमिक बाढीपीडितलाई दिने निर्णय गरेका छन् । प्रदेश सरकारले दुई करोड रुपैयाँ दिने निर्णय गरेको छ । धनगढी उपमहानगरपालिकाले लागि बाढीपीडितका लागि ४१ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । बाढीपीडितलाई राहत र पुनर्स्थापनामा सहयोगस्वरूप उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको नगरप्रमुख गोपाल हमालले जानकारी दिए ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपाका सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले १५ दिनको पारिश्रमिक उपलब्ध गराउने भएका छन् । नेकपा संसदीय दलको बैठकले पार्टीका सबै प्रदेश सभा सदस्यको १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय सोमबार गरेको छ । नेपाली कांग्रेस प्रदेश संसदीय दलले पनि आफ्ना प्रदेश सांसदको १० दिनको पारिश्रमिक प्रभावितका लागि दिने निर्णय यसअघि गरेको थियो ।

यहाँका निजी क्षेत्रले पनि बाढीपीडितका लागि स्वस्फूर्त सहयोग गरिरहेका छन् । धनगढीको निसर्ग अस्पतालले ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । बाढीपीडितको राहत र पुनर्स्थापनामा सघाउन उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको अस्पतालका अध्यक्ष तीर्थराज पन्तले बताएका छन् । 

धनगढीकै मायामेट्रो अस्पतालले तीन लाख ११ हजार १११ रुपैयाँ, कैलाली अस्पतालले एक लाख ११ हजार १११ रुपैयाँ, केयरटेकर अस्पतालले एक लाख ११ हजार १०१ रुपैयाँ सहयोग गरेको सार्वजनिक गरेका छन् । धनगढीको एरिस्टाे स्कुलका विद्यार्थीले ५४ हजार ९२५ रुपैयाँ संकलन गरेका छन् । विद्यार्थीबाट स्वैच्छिक रूपमा संकलित उक्त रकममा कर्मचारी र विद्यालयले थप गरेर तीन लाख एक हजार १११ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ । 

कैलारी गाउँपालिकाले दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । चैतन्य पाठशालाले एक लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको छ । बैतडी समाज धनगढीले ५५ हजार ५५५ रुपैयाँ र होटेल व्यवसायी संघ कैलालीले ५१ हजार रुपैयाँ सहयोग जम्मा गरेको सार्वजनिक गरेको छ ।

धनगढी– १७ को न्यू कालिका आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाले आफ्नो खाजाबापतको रकम कटाएर बाढीपीडितको सहयोगका लागि पाँच हजार २२५ रुपैयाँ संकलन गरेका छन् । विभिन्न संघसंस्था, व्यक्तिहरूले पनि बाढीपीडितका लागि व्यक्तिगत रूपमा आर्थिक सहयोग गरेको विवरणहरू सामाजिक सञ्जालबाट सार्वजनिक गरिरहेका छन् ।

आर्थिकसँगै यहाँका विभिन्न पालिका, वडा, टोल विकास समिति, सामाजिक संघसंस्थाहरूले खाद्यान्न, लुगाकडालगायत सामग्रीहरू संकलन र बाढी प्रभावित क्षेत्रमा पठाइरहेका छन् । जिल्ला प्रशासन कार्यालयले विभिन्न सामाजिक संघसंस्थाहरूले स्थानीय विपत् व्यवस्थापन समितिअन्तर्गत खाद्य र गैरखाद्य राहत सामग्री सहयोग गरिरहेको जनाएको छ । त्यसरी संकलन हुने राहत रेडक्रसको समन्वयमा प्रभावित क्षेत्रमा आवश्यकताअनुसार पठाइने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

राहत संकलनबारे प्रशासनले सबै पालिकाका विपत् व्यवस्थापन समितिसँग छलफल पनि गरेको थियो । ‘पालिकाको विपत् व्यवस्थापन समितिमार्फत राहत संकलन भइरहेको छ । त्यस्तो राहत रेडक्रसले केन्द्रसँग समन्वय गरेर आवश्यकताअनुसार पठाउने निर्णय गरेका छौँ,’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, ‘बाढीमा ज्यान गुमाएका र घाइते सुदूरपश्चिममा पनि छन् । उनीहरूका परिवारलाई यहाँ दिनुपर्ने पनि हुन सक्छ ।’