मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण ११ सोमबार
  • Monday, 27 July, 2026
नवराज मैनाली काठमाडाैं
२o८३ श्रावण ११ सोमबार o७:४२:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अख्तियार पुग्यो सशस्त्रमा ११ करोड हिनामिना प्रकरण, भ्रष्टाचार कसुरमा छानबिन

इन्स्पेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामालाई अख्तियारमा बुझाइयो, १० दिन थुनामा राख्न म्याद थप

Read Time : > 3 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८३ श्रावण ११ सोमबार o७:४२:oo

सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले प्रारम्भिक अनुसन्धान प्रतिवेदन शुक्रबार बुझाएपछि आयोगले अनुसन्धान थालेको हो । 

सुरुमा इन्स्पेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेकोमा भ्रष्टाचार मुद्दा नै बलियो हुने निष्कर्षमा दुवैलाई अख्तियार बुझाइएको छ । अख्तियारले आइतबार उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतबाट म्याद लिएको छ । 

प्रहरीले ठगी तथा आपराधिक लाभ मुद्दामा उनीहरूमाथि अनुसन्धान गरिरहेको थियो । सरकारी सम्पत्ति हिनामिना भएकाले आपराधिक लाभभन्दा भ्रष्टाचार मुद्दा नै बलियो हुने निष्कर्षमा सरकारी वकिल कार्यालयबाट निर्णय गरी उनीहरूलाई आयोग बुझाइएको काठमाडौं परिसरका एक अधिकारीले बताए । ‘अख्तियारले मुद्दा दायर गरेपछि थप केही लेखी आएमा यताबाट पनि अनुसन्धान हुन्छ,’ ती अधिकारीले भने । 

सशस्त्र प्रहरीकै पत्रका आधारमा उनीहरू गत २० असारमा पक्राउ परेका थिए । इन्स्पेक्टर गुरुङ करिब ६ वर्ष कीर्तिपुरस्थित विद्यालयको लेखा अधिकृत भएर काम गरेकी थिइन् । विद्यालयको आम्दानीबापतको रकम कल्याण कोषमा जम्मा गर्नुपर्नेमा गैरकानुनी रूपमा निकालेर उनले साथी लामालाई दिँदै आएकी थिइन् । कतिपय रकम कनेक्ट आइपिएसबाट लामाको कम्पनीको खातामा स्थानान्तरण गरिएको छ । उनले स्कुलको कमान्डेटको नम्बर भनेर लामाकै नम्बर बैंकलाई दिएर झुक्याएकी थिइन् । 

यसमा सुरुमा सशस्त्र प्रहरीले डिआइजी युवराज अर्यालको नेतृत्वमा छानबिन समिति बनाएर आन्तरिक रूपमा छानबिन गरेको थियो । छानबिनले इन्स्पेक्टरकै योजनामा हिनामिना भएको निष्कर्ष निकालेको थियो । सुरुमा उनीहरूलाई पैसा फिर्ता गर्ने मौका दिए पनि फिर्ता गर्न नसकेपछि कानुनी प्रक्रिया अघि बढेको थियो । अचम्म के छ भने त्यति ठुलो रकम लामाको खातामा पनि छैन । त्यति रकम कहाँ लगानी गरे भन्ने खुल्न सकेको छैन । 

हिनामिना प्रकरणमा विद्यालयका तत्कालीन कमान्डेन्टहरू दिग्विजय सुवेदी, भूपेन्द्र केसी तथा रामजंग पाण्डेको पनि लापरबाही देखिएको छ । लेखापालले त्यसरी स्कुलको करोडौँ रकम हिनामिना गर्दा उनीहरूले सोधी–खोजी गरेका थिएनन् । साथै, विद्यालयको करोडौँ आम्दानीको खोजी नगर्ने कल्याण शाखाका अधिकारी पनि छानबिनमा छन् । सशस्त्रमा हरेक वर्ष लेखा अधिकृत हेरफेर हुनेमा गुरुङ भने करिब ६ वर्ष एउटै कार्यालयमा कार्यरत थिइन् । नयाँ लेखा अधिकृत त्यहाँ गएर हिसाब बुझ्ने क्रममा मात्र बदमासी बाहिर आएको थियो ।

भेप तस्करीमा सघाउने इन्स्पेक्टर कारबाहीमा
चीनबाट हुँदै आएको विद्युतीय चुरोट (भेप) तस्करीमा सुरक्षा निकायकै मिलेमतो देखिएको छ । तस्करीमा सघाएको आरोपमा सशस्त्र प्रहरी बलले मुस्ताङको नेचुङ बिओपीका तत्कालीन प्रमुख रहेका इन्स्पेक्टर वैकुण्ठ घिमिरेलगायतका प्रहरीलाई कारबाही गरेको छ ।

गत १ जेठमा मुस्ताङमा बरामद भेप तस्करीमा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको मिलेमतो देखिएको हो । भन्सार नाकाबाट छुटेको गाडी पछि लोमाङथान– २, एक्लेभट्टीबाट बरामद भएको थियो । नक्कली प्रज्ञापनपत्रका आधारमा दुईवटा गाडीमा राखेर भेप तस्करीको प्रयास भएको थियो ।

सशस्त्र प्रहरीले सीमामा कार्यरत आफ्ना सुरक्षाकर्मीमाथि छानबिन गर्दा तस्करीमा संलग्न समूहसँग सम्बन्ध भेटिएको हो । ‘उनीहरूले सुरक्षा निकायदेखि भन्सारका कर्मचारीसम्मका केही कर्मचारीलाई प्रभावित पारेको देखिन्छ,’ छानबिनमा संलग्न सशस्त्र प्रहरीका एक उच्च अधिकारीले भने ।

सशस्त्र प्रहरीको मुक्तिनाथ बाहिनीले छानबिन समिति गठन गरी स्थलगत रूपमा अनुसन्धान गरेको थियो, जहाँ मिलेमतो देखिएको हो । तर, घटनामा नेपाल प्रहरी र भन्सारका कर्मचारीको भूमिकामाथि भने छानबिन भएको छैन ।मिलेमतोमा गाडी पास भएको सूचनापछि भन्सार र सशस्त्र प्रहरीको टोलीले ना.६ख ४७४३ र ना.५ख ७९२१ नम्बरको कन्टेनरसहित धादिङ जिल्लाको धुनीबेँसी नगरपालिका– १ बस्ने सन्तोष लामा, सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका– २ बस्ने फुन्चुदोर्जे तामाङ र भोटेकोशी गाउँपालिका– ३ बस्ने पासाङ शेर्पालाई पक्राउ गरेको थियो । इलेक्ट्रिक भेपसहित २५९ कार्टुन विभिन्न सामान बरामद भएको थियो । 

अनुसन्धानको क्रममा भन्सारको प्रज्ञापनपत्र नै नक्कली भएको खुलेपछि चालकद्वय सन्तोष र फुन्चुदोर्जेसहित सिन्धुपाल्चोकका रवीन्द्र दर्नाल तथा हिमेत तामाङलाई पनि पक्राउ गरी सरकारी लिखत किर्ते मुद्दा दायर गरिएको छ । भेपलगायत सामानको विषयमा भन्सार कार्यालयले थप छानबिन गरिरहेको छ । 

पक्राउ परेका दर्नालले आफूलाई ठमेलमा एक चिनियाँ नागरिकले कालो झोलामा राखेर नक्कली प्रज्ञापनपत्र दिएको बयान गरेका छन् । तर, ती चिनियाँ नागरिकको पहिचान नहुँदा गिरोहका नाइके भेटिएका छैनन् । यो समूहले विगतमा पनि यसरी नै भेपलगायत सामान तस्करी गर्दै आएको आरोप छ । 

सशस्त्रको छानबिनमा तस्कर समूहले यसमा सशस्त्र प्रहरीसहित नेपाल प्रहरी र भन्सारका कर्मचारीलाई समेत प्रभावमा पारेको भेटिएको छ । तर, नेपाल प्रहरीका गण्डकी प्रदेशका प्रमुख डिआइजी दीपेन्द्र जिसी भने सो घटनामा प्रहरीको मिलेमतो नभेटिएको दाबी गर्छन् । कोरला नाकाबाट रातिको समयमा मालवाहक सवारीसाधनको आवातजावात रोक भए पनि राति ९ बजे दुई कन्टेनर छाडिएको थियो । 

सरकारले विद्युतीय चुरोट आयातमा रोक लगाए पनि उच्च माग भएकाले चीनबाट तस्करी हुने गरेको छ । उच्च नाफा हुने भएकाले सुन तस्करीमा संलग्न गिरोहसमेत यसमा लागेको जानकार बताउँछन् । पछिल्लो समय बारम्बार तस्करीको भेप बरामद भइरहेको छ । तर, यो गिरोहमा आबद्ध उच्च तहका व्यक्तिहरू भने अनुसन्धानमा आउन सकेका छैनन् । यसमा चिनियाँदेखि भारतीय व्यक्तिहरूसमेत संलग्न रहेको बताइन्छ ।

झापा र सुनसरीमा कार्यरत अधिकृतहरू छानबिनमा 
झापा र सुनसरीमा कार्यरत सशस्त्र प्रहरीका एसपीसहितका अधिकृतहरूलाई मुख्यालय झिकाएर सशस्त्र प्रहरीले छानबिन थालेको छ । तस्करीमा शंकास्पद भूमिका देखिएपछि जिम्मेवारीबाट हटाएर छानबिन थालिएको हो । झापाका अम्बिकाप्रसाद जोशी तथा सुनसरीका श्यामकुमार कार्कीलाई मुख्यालय तानिएको हो । त्यस्तै, डिएसपीलगायत अन्य अधिकारीलाई पनि जिम्मेवारीबाट हटाइसकिएको स्रोत बताउँछ । गृहमन्त्री सुधन गुरुङ दुई साताअघि ती जिल्लाको अनुगमनमा गएका थिए । अनगुमनका क्रममा उनलै पाएको सूचनाका आधारमा सशस्त्र प्रहरीले छानबिन थालेको हो ।