कैलालीको धनगढी उपमहानगरपालिका– ७, मनेहरामा रहेको एकीकृत भान्साघरका कर्मचारी बिहान ४ नबज्दै खाजा पकाउने तयारी थाल्छन् । प्रायः बिहान करिब ७ बजेसम्म खाजा तयार भइसक्छ । तयार भएको खाजा ‘कन्टेनर’मा ‘प्याक’ पारेर त्यतिवेलै गाडीमार्फत विद्यालयमा पठाइन्छ ।
एकीकृत भान्साघरमा कार्यरत १० जना कर्मचारीले यसरी नै हरेक दिन तीन हजार तीन सय बालबालिकाका लागि दिवाखाजा तयार गर्छन् । उपमहानगरभित्रका २१ वटा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई पोषणयुक्त दिवाखाजा तयार पारी वितरण गर्न गत १ साउनबाट एकीकृत भान्साघर सञ्चालनमा ल्याइएको हो ।
भान्साघरमा धनगढीको वडा नम्बर १ देखि ८ सम्मका ११ वटा आधारभूत र १० वटा माध्यमिक तहका विद्यालयमा अध्ययनरत करिब तीन हजार तीन सय बालबालिकाका लागि दिवाखाजा तयार गरिन्छ । तयार भएको खाजा ‘प्याक’ गरेपछि दुईवटा गाडीमार्फत विद्यालयमा पुर्याउने गरिएको एकीकृत भान्साघरका खाद्य प्राविधिक शेखर जोशीले जानकारी दिए ।
उनका अनुसार दिवाखाजामा दिनैपिच्छे खिर, खिचडी, भेज बिर्यानीलगायत पाँच प्रकारका परिकार बनाउने गरिएको छ । हरेक दिन बिहान विद्यालयले दिवाखाजा खाने विद्यार्थी संख्या उपस्थितिको सूचना भान्साघरलाई दिन्छन् । त्यही संख्यामा विद्यालयलाई पठाइने खाजाको मात्रा तय गरिन्छ । ‘उपस्थितिका आधारमा कहिलेकाहीँ विद्यार्थी संख्या तलमाथि हुन्छ, तर औसतमा तीन हजार तीन सय विद्यार्थीलाई दिवाखाजा बनाएर वितरण गरिरहेका छौँ,’ खाद्य प्राविधिक जोशीले भने ।
हिजोआज विद्यालयहरू बिहान सञ्चालन भइरहेकाले उज्यालो नहुँदै दिवाखाजाको तयारीमा जुट्ने गरेको उनले बताए ।एकीकृत भान्साघर सञ्चालनमा ल्याइएपछि बालबालिकाले पोषणयुक्त खाजा पाउनुका साथै विद्यालयमा दिवाखाजा बनाउने झन्झट पनि हटेको शिक्षकहरू बताउँछन् ।
धनगढी बोराडाँडीमा रहेको त्रिभुवन माविमा अध्ययनरत पाँच सय चारजना विद्यार्थीका लागि एकीकृत भान्साघरबाट अहिले दिवाखाजा जाने गरेको छ । विद्यालयका प्रधानाध्यापक सीताराम अवस्थीले एकीकृत भान्साघरबाट दिवाखाजा आउन थालेपछि दिवाखाजा व्यवस्थापनमा केही सहज भएको बताए । दातृ निकाय र सामाजिक संस्थाको सहयोगमा धनगढी उपमहानगरले एकीकृत भान्साघर सञ्चालनमा ल्याएको हो ।
विद्यार्थीलाई पोषणयुक्त खाजा खुवाउने र विद्यालयमा दिवाखाजा बनाउने झन्झट अन्त्य गर्ने उद्देश्यले एकीकृत भान्साघरको थालनी गरिएको उपमहानगरका शिक्षा अधिकृत केशव खत्रीले बताए । सामुदायिक विद्यालयहरूले दिवाखाजा व्यवस्थापन गर्न कहीँ भान्सा नहुने, कहीँ भाँडाकुँडा नहुने, कहीँ भान्से नहुनेजस्ता समस्या भोग्दै आएकोमा एकीकृत भान्साघरको अवधारणाले दिवाखाजा व्यवस्थापन गर्न सहज भएको उनले बताए ।
मनेहरास्थित समायोजन भएको एक विद्यालयको भवनमा एकीकृत भान्साघर सञ्चालनमा ल्याइएको हो । धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले भवन मर्मत, भाँडाकुँडालगायत सामान खरिद, गाडी खरिद, विद्युत् जडान गरी दुई करोड ४५ लाख ३३ हजार रुपैयाँको लगानीमा एकीकृत भान्साघर सञ्चालनमा ल्याइएको जानकारी दिए । त्यसमध्ये विश्व खाद्य कार्यक्रमले भान्साघरमा ८६ लाख रुपैयाँको लागतमा उपकरण जडान गरिदिएको उपमहानगरले जनाएको छ ।
एकीकृत भान्साघर सञ्चालनले पोषणयुक्त दिवाखाजामार्फत सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा सुधार हुनुका साथै यसले बिचमै विद्यालय छाड्ने दर घट्ने अपेक्षा गरिएको नगर प्रमुख हमालले बताए । दिवाखाजाको व्यवस्थापन सामुदायिक विद्यालयमा समस्याका रूपमा रहेकाले आगामी वर्ष नगरका अन्य वडामा पनि एकीकृत भान्साघरको अवधारणा विस्तार गरिने उनको भनाइ छ । एकीकृत भान्सारघर फुड फर लाइफ नामक सामाजिक संस्थाले सञ्चालन गरिरहेको छ ।
धनगढी उपमहानगरपालिका प्रमुखगोपाल हमाल भन्छन्– एकीकृत भान्साघर सञ्चालनले पोषणयुक्त दिवाखाजामार्फत सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा सुधार हुनुका साथै यसले बिचमै विद्यालय छाड्ने दर घट्ने अपेक्षा गरिएको छ ।