सर्वाेच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेका छन् । मंगलबार नक्खु कारागार पुगेर भेटेका केसीले समसामयिक राजनीतिदेखि देशको अवस्थाबारे कुरा भएको बताए ।
‘लामिछानेमाथि प्रतिशोध भयो भनेर स्वतन्त्र नागरिकको हैसियतले पार्टी कार्यालयमा हस्ताक्षर गर्न गएको थिएँ । म उहाँलाई जेलमा पनि भेट्न जान्छु भनेको थिएँ । २३ भदौको घटनाले जान पाइएन । अहिले शान्त माहोल भएकाले गएको हुँ,’ उनले भने ।
भेटमा आफूले असमान अभियोजन भएकाले कानुनी लडाइँ जारी राख्न भनेको केसीले बताए । ‘अरू सहकारी मुद्दामा अभियोजनबाट एकै दिन लगेर १० लाखमा छोड्ने काम भयो । रविजीको हकमा असमान व्यवहार देखियो । कानुनी लडाइँ लड्नुपर्छ भनेको छु,’ उनले भने ।
केसीले लामिछानेको आत्मविश्वास राम्रो पाएको बताए । ‘उहाँले न्याय हुन्छ भन्ने आस गर्नुभयो । अरु मरे पनि न्याय मरेको छैन भन्ने उहाँको भनाइ थियो । म भागेर जाने होइन, अपराधी होइन, न्याय पाउने आशा छ भन्नुभयो । मैले अदालतसँग समय माग्नुस् । कोर्टमै आफ्नो कुरा राख्नुस् भनेर सुझाएँ,’ उनले भने । भेटमा लामिछानेले वैकल्पिक शक्ति एक बनाउने चाहना प्रस्तुत गरेको केसीले बताए ।