मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ३ शुक्रबार
  • Friday, 19 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असोज ३ शुक्रबार १२:o३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निजी क्षेत्रले माग्यो सुरक्षा प्रत्याभूति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असोज ३ शुक्रबार १२:o३:oo
  • गृहमन्त्री र उद्योगी–व्यवसायीबिच भेट, उच्च मनोबलका साथ व्यवसाय गर्ने वातावरण बनाउन माग, प्रहरीका संरचना पुनर्निर्माणमा सघाउने निजी क्षेत्रको प्रतिबद्धता

निजी क्षेत्रले सरकारसँग उद्योग–व्यवसायका लागि सुरक्षा प्रत्याभूति माग गरेको छ । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले बिहीबार गृहमन्त्री ओमप्रकाश अर्याललाई छुट्टा–छुट्टै भेटेर व्यावसायिक वातावरण निर्माणका लागि आग्रह गरेका छन् । 

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले गृहमन्त्री अर्याललाई भेटेर शान्ति सुरक्षाको प्रत्याभूति दिने गरी तत्काल ठोस कदम चाल्न सुझाव दिएको हो । महासंघले मर्यादित रूपमा उच्च मनोबलका साथ व्यवसाय गर्ने वातावरण निर्माणका लागि सुरक्षाको प्रत्याभूति दिलाउन गृहमन्त्रीसँग आग्रह गरेको छ ।

निजी क्षेत्रले जिल्ला–जिल्लामा सुरक्षाको अनुभूति गर्न नसकिरहेको भन्दै अध्यक्ष ढकालले सरकारले सुरक्षामा विशेष ध्यान दिन आवश्यक रहेको बताए । जवाफमा गृहमन्त्री अर्यालले आमनागरिक तथा व्यवसायीको शान्ति सुरक्षाका विषयमा सरकार संवेदनशील रहेको बताए । 

आन्दोलनपछि क्षतिग्रस्त भएका प्रहरीको संरचना पुनर्निर्माणमा सघाउन निजी क्षेत्र तयार रहेको अध्यक्ष ढकालले बताए । कतिपय उद्यमी–व्यवसायी प्रहरीका संरचना पुनर्निर्माणका लागि तयार रहेको बताउँदै उनले यसका लागि उद्योग वाणिज्य संघमार्पmत सहकार्यका लागि प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउन पनि आग्रह गरे ।

महासंघ अध्यक्ष ढकालले आन्दोलनका क्रममा भएको घुसपैठबाट निजी क्षेत्रको सम्पत्तिमाथि भएको आक्रमण, तोडफोड र आगजनीमा संलग्नमाथि कारबाही गर्न पनि मन्त्री अर्यालसमक्ष आग्रह गरे । मुलुकको राजस्वमा योगदान दिनुका साथै रोजगारी दिइरहेको निजी क्षेत्रलाई मर्यादित रूपमा काम गर्न सक्ने वातावरण सिर्जनाका लागि सरकारले सकारात्मक सन्देश प्रवाह पनि गर्नुपर्ने ढकालको भनाइ थियो । नेपाली अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत छ भने ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले दिइरहेको छ । 

महासंघका उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ तथा कोषाध्यक्ष भरतराज आचार्यले आन्दोलनका क्रममा निजी क्षेत्रका सयौँ व्यवसाय स्थापना प्रभावित भएको, तोडफोड र आगजनीका कारण ठुलो आर्थिक क्षति भएको बताउँदै सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरे । उनीहरूले दोषिमाथि कारबाही नगरिए दण्डहीनताको अवस्था सिर्जना हुनेतर्फ गृहमन्त्रीको ध्यानाकर्षण गराए । महासंघले घटनामा भएको क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ ।