मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 19 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:३९:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सैनिक ब्यारेकबाट बाहिरिएपछि ओलीको सन्देश- देशको निसानी मेटाउन खोजिएको छ

सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:३९:oo

निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले गत साता जेन-जीको आन्दोलनमा सरकारले प्रदर्शनकारीलाई ताकी–ताकी गोली हान्ने आदेश नदिएको स्पष्ट पारेका छन् ।  प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्ने ओलीको माग छ ।

संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले भने, ‘जेन-जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो- आह्वान कर्ताले भनेझैँ । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरूको ज्यान गयो। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्दछ । त्यस घटनाप्रति म फेरि दु:ख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रद्धाञ्जली एवं घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछु ।’ 

ओलीले अगाडि भनेका छन्, ‘हामी यतिवेला हाम्रो संविधानमाथि ठुलो आक्रमण भएको अवस्थामा छौँ। प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ । नेपालको नक्सा जलाइएको छ । देशको निसीनी मेटाउन खोजिएको छ। जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता–कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानी–छानी खरानी बनाइएको छ ।’

जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा नेताका निवासदेखि राज्यका सार्वजनिक संरचनामा आक्रमण हुन थालेपछि सेनाले बालुवाटारबाट उद्धार गरेर ओलीलाई शिवपुरी ब्यारेक राखेकाे थियाे । ओली १० दिनपछि सैनिक ब्यारेकबाट बिहीबार बाहिरिएका हुन् । सेनाले ब्यारेकबाट बाहिर निस्किन अनुमति दिएपछि ओली भक्तपुरको सूर्यविनायक नगरपालिका– ७, गुन्डुस्थित डेरामा बस्न थालेका छन् । 

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको ओलीको सन्देश जस्ताको तस्तै:

दिदीबहिनी तथा दाजुभाइहरू !

आज संविधान दिवस। नेपाली जनताले ७० वर्षसम्म संघर्ष गरेर आफैँले निर्वाचित गरेको संविधानसभाले बनाएको संविधान जारी गरेको दिन । लोकतान्त्रिक गणतन्त्र, संघीय समावेशी व्यवस्था र जनताका अधिकार स्थापित भएको दिन ।

यो संविधान निर्माण गर्दा हामीले भोगेका चुनौती तपाईंहरूको सम्झनामा ताजै छ । नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई समेत परास्त गर्दै संविधान जारी भएको थियो । तसर्थ नेपालको संविधान नेपाली जनताले आफैँले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो ।

संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्ने गरी भूपरिवेष्टित देशलाई भूजडित बनाउन उत्तर–दक्षिण जोड्ने यातायात संरचनाहरू बनाइरहेका थियौं। उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेका थियौँ। हाम्रो सार्वभौमसत्ताको सामर्थ्य विस्तार गरेका थियौँ। हाम्रा विकास संरचनाहरूका जग बसालेका थियौँ । अर्थतन्त्र तग्रँदै थियो।

गत साता जेन-जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो- आह्वान कर्ताले भनेझैँ । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरूको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकी–ताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्दछ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रध्दाञ्जली एवं घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछु।

हामी यतिवेला हाम्रो संविधानमाथि ठुलो आक्रमण भएको अवस्थामा छौँ। प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ- नेपालको नक्सा जलाइएको छ, देशको निसानी मेटाउन खोजिएको छ। जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता–कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानी–छानी खरानी बनाइएको छ।

यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैँ बयान दिनेछ। हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैँ महसुस गर्नेछ। विदेश जाने–आउने एयरपोर्टको भिडलाई नकारात्मक भनिरहेको समाज आज देशबाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउनेछ। हाम्रो नयाँ पुस्ताले आफैँ बुझ्नेछ ।

तर, यो कुरा समय छँदै बुझ्नुपर्नेछ, नबुझेमा हाम्रो देशको सार्वभौमसत्ता इतिहासमा मात्र रहनेछ ।

हाम्रा युवाहरूले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नुभएको छ। देशको सिमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो। यथार्थभन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरू पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन्–झन् गाढा सम्झना गराउनेछ।

हामी सबै पुस्ताका नेपाली एकजुट हुनपर्दछ- सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न र हाम्रो संविधानको रक्षा गर्न। सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो। हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय संकटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ।

मेरो सबैमा अपिल छ- संविधान जोगाऔँ, सार्वभौमसत्ताको रक्षा गरौँ।