मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 23 August, 2025
Invalid date format o७:४४:oo
Read Time : > 8 मिनेट
फिचर प्रिन्ट संस्करण

विपिन जोशी हराएको देशमा एक साता 

Read Time : > 8 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:४४:oo

इजरायल डायरी

  • १० जना नेपाली मारिएको र विपिन जोशी अपहरणमा परेको ठाउँ जाँदै थियौँ । त्यहाँ पुग्दा बडो भावुक माहोल बन्यो ।

मध्यपूर्व लामो लामो समयदेखि चर्चाको शिखरमा छ । इजरायल र प्यालेस्टाइनबिच परस्पर युद्धका घाउ यथावत् छन् । २०८० असोज २३ (अक्टोबर ७, २०२३)मा गाजापट्टीबाट हमास समूह इजरायलतर्फ प्रवेश गरेर १२ सय मानिसको हत्या गरे, जसमा नेपाली १० जनाको पनि ज्यान गयो । यीमध्ये एकजना मेधावी विद्यार्थी विपिन जोशी अपहरणमा परे । त्यसयता गाजाक्षेत्रमा इजरायलले गरेको हमला (उनीहरूको भाषामा सैन्य अप्रेसन) जारी छ र त्यहाँ भएको मानवीय संकटका पीडादायी कथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आउने क्रम जारी छ । पश्चिम एसियामा त्यो ठाउँ युद्धको भुंग्रो हो, जो तत्काल सेलाउने कुनै लक्षण छैन ।

नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले इजरायल सरकारका तर्फबाट त्यहाँ भ्रमणका लागि निमन्त्रणा प्रेषित गरे । यही मेसोमा यो पंक्तिकारसहित १९ जना नेपाली पत्रकारको टोली १९ साउन साँझ सवा ६ बजे इजरायलको तेलअभिभ विमानस्थल अवतरण गर्‍यो । फ्लाई दुबईको विमानबाट झरेर अध्यागमनतिर जानेक्रममा बाटोको देब्रेतिर नेपाली विद्यार्थी विपिन जोशीको तस्बिरमा आँखा पुग्यो । विपिनसहित ५० जना हमास समूहको कब्जामा ६८० दिनदेखि अझै छन् । इजरायली अधिकारीका अनुसार हमासको कब्जामा रहेकामध्ये २० जना इजरायली जीवित अवस्थामा तथा २८ जना मृत र विपिनसहित दुईजना अज्ञात अवस्थामा छन् । विमानस्थलको अध्यागमन भवनमा राखिएको विपिनको तस्बिरसँगै हमासको कब्जामा रहेका इजरायली बन्दीहरूको पोस्टर टाँगिएको थियो ।

बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित र नेपालका लागि पूर्वइजरायली राजदूत (अब म्यानमारका लागि राजदूत) हनान गदार तथा इजरायली राजदुतावास काठमाडौंकी नियोग उपप्रमुख जनान बेबरले स्वागत गरे । जनान एक साता हाम्रो टोलीमा सँगै थिइन् । विमानस्थलबाट करिब एक घण्टा बसमा हामी इजरायलको राजधानी जेरुसेलम पुग्यौँ ।

विपिन जोशी अपहरणमा परेको इजरायलको आलुमिम किबुज

पश्चिम एसिया (अमेरिकी भाषामा मध्यपूर्व)को एउटा जल्दोबल्दो ठाउँ, जोसँग युद्धको मात्र होइन, आविष्कार र कृषिक्रान्तिको विरासत छ, त्यहाँ विभिन्न पक्षसँग भेटवार्ता र अवलोकनका लागि हामीसँग एक साता समय छ । इजरायल र प्यालेस्टाइन तथा इजरायलका अन्य छिमेकी वा अन्य देशसँगको शत्रुतापूर्ण सम्बन्ध हाम्रा लागि प्राथकिताको विषय थिएन । बचपनदेखि इजरायल र प्यालेस्टाइन द्वन्द्वका कथा सुन्दै र पढ्दै आएकाले त्यहाँको कौतुहलता हुने नै भयो । हामी दिवंगत वरिष्ठ पत्रकार दुर्गानाथ शर्माले नेपाल टेलिभिजनको विश्व घटनामा पस्केको इजरायल, प्यालेस्टाइनका युद्धका समाचार विवरण सम्झिँदै थियौँ । तर, यो भ्रमणमा हामीलाई विपिन जोशी, इजरायलमा रहेका नेपाली श्रमिकहरूको अवस्था, दुई देशको सम्बन्धमा केन्द्रित हुनु थियो । इजरायली अधिकारीहरूबाट जारी युद्धको कथ्य सुन्नु त छँदै थियो । 

हामी पुग्दा तेलअभिभमा अलिकति गर्मी थियो भने जेरुसेलम तुलनात्मक रूपमा शीतल थियो । जेरुसेलममा हावाको सिरेटो चलिरहेको थियो । गएको साँझ इजरायली भोजनबाट हामीलाई स्वागत भयो । 

१८ साउन बिहानदेखि हाम्रो भ्रमण र भेटवार्ता सुरु हुँदै थियो । अघिल्लो दिन हामीलाई भोलिपल्टको कार्यतालिका दिने चलन सात दिनसम्म कायम रह्यो । 

भ्रमणको दोस्रो दिन इजरायलको राजधानी जेरुसेलमबाट हाम्रो पहिलो गन्तव्य थियो पश्चिमी पर्खाल (वेस्टर्न वाल), जहाँ यहुदी, इसाइ र मुस्लिम धर्मावलम्बीहरू प्रार्थनारत थिए । बिहान नास्तापछि हामी वेस्टर्न वालको सुरुङभित्र प्रवेश गर्‍यौँ । त्यहाँ हामीले शताब्दियौँ पुरानो इतिहाससँग साक्षात्कार गर्‍यौँ । यहुदीहरूका मन्दिर निर्माण र ध्वंशका कथा सुन्यौँ । इसाइहरूका इस्टदेव जिसस क्राइस्टलाई मारिएको ठाउँ पुग्यौँ । पश्चिम एसियाको द्वन्द्वको मुख्य विषय धर्म हो, त्यसको केन्द्रभावमा पुगियो । अत्यन्तै कडा सुरक्षा व्यवस्थामाझ मानिसहरू आ–आफ्ना धार्मिक अभ्यास गरिरहेका थिए । सबै शान्त थिए । 

त्यहाँबाट फर्केर म्युजियम अफ टोलरेन्स पुग्यौँ । त्यहाँ विपिन जोशीसहित हमास समूहले बेपत्ता पारेका बन्दीहरू, मारिएका व्यक्तिको पोष्टर थियो । इजरायली समाजको सहनशीलताबारे त्यहाँ बताइयो । त्यसपछि अपरान्ह हामीलाई आधुनिक जेरुसेलमको भ्रमण गराउने कार्यक्रममा सहभागी भयौँ । युद्धरत अवस्थाको देशभित्र निर्माण भएका आधुनिक भौतिक पूर्वाधार र संरचना देखेर चकित भयौँ ।

हामीलाई १९ साउनको बिहानै औपचारिक पोसाकमा तयार हुन भनिएको थियो । हामी इजरायलको परराष्ट्र मन्त्रालय जाँदै थियौँ । राहदानी र इजरायलको अध्यागमनमा प्रिन्ट गरिएको बिटु (भिसा)कागज साथमा लिएर जान भनिएको थियो । बिहान ९ बजे परराष्ट्र मन्त्रालयको ढोकामा पुग्यौँ । अत्यन्तै कडा सुरक्षा जाँच । विमानस्थलको सुरक्षाजस्तै कडा जाँचपछि हामीभित्र गयौँ । मोबाइल साथमा राख्न दिइयो, तर फोटो नखिच्न, भित्र चार्ज नगर्न हामीलाई निर्देशन थियो । मन्त्रालय परिसरभित्र एक्लै यताउति नहिँड्न र कर्मचारीको साथमा मात्रै हिँड्नसमेत सचेत गराइयो । आफैँले निम्ता गरेका विदेशी पत्रकारलाई लाइनमा उभ्याएर चेकजाँचमा लाइन लगाइएको थियो । त्यो हाम्रा लागि आतिथेय व्यवहार त थिएन, तर सुरक्षाको सन्दर्भमा कुनै सम्झौता हुँदैन भन्ने पाठ उनीहरूले हामीलाई पढाएका थिए । ढोकाबाट हाम्रो टोलीभित्र प्रवेश गर्न आधा घण्टाभन्दा बढी समय लाग्यो । 

परराष्ट्र मन्त्रालयको भुइँतल्लाको एउटा कोठामा हामी पुग्यौँ । मन्त्रालयको एसिया प्रशान्त डिभिजनअन्तर्गत दक्षिण र पूर्वी एसिया ब्युरो प्रमुख सागी करनीले ब्रिफिङ गरे । उनले औपचारिकता निर्वाह गरेनन्, सोझै विषयमा प्रवेश गरे । रोचक त, हामीलाई औपचारिक पोसाकमा जान भनिए पनि हामीसँग छलफल गर्ने अधिकारी अनौपचारिक पोसाकमा थिए । 

उनले सुरुमा गाजामा इजरायलले गरेको सैन्य कारबाही, अक्टोबर ७ को घटना, नेपालीहरूसहित इजरायलीको मृत्यु, विपिन जोशीको बेपत्ता अवस्थाबारे क्रमैसँग बताए । हामी विपिनका सन्दर्भमा बढी केन्द्रित भयौँ । विपिन हमास नियन्त्रित गाजामा जीवित छन् भन्ने प्रतिक्रियाको आस गरेर गएका नेपाली पत्रकारका लागि उत्साहको खबर आएन । उनले भने, विपिन जोशीको अवस्थाका बारेमा २०२३ अक्टोबर ७ मा हमासको अपहरणमा परेदेखि हामीलाई यकिन छैन । यही कुरा नेपाली राजदूत धनप्रसाद पण्डितले पनि हामीलाई दोहोर्‍याए । नेपाल सरकारले विपिन जीवित रहेको प्रमाण भेटिएको प्रचार गराएको धेरै भएको छैन । विपिनको अज्ञात अवस्थाको खबर लिनुको विकल्प हामीसँग भएन ।

पूर्वराजदूतसमेत रहेका करनीले इजरायलले आफ्नो आत्मरक्षाका लागि प्रयास गरिरहेको भन्दै गाजा क्षेत्रको कारबाहीको बचाउ गरे । गाजा क्षेत्रमा मात्रै अन्तर्राष्ट्रिय समुदाय र मिडियाकेन्द्रित रहेको, हमास समूहले निर्दोष मानिसलाई युद्धमा मानवढाल बनाएको, राहत सामग्री लुटेको उनले ब्रिफिङ गरे । युद्धका क्रममा इजरायलीहरू मारिँदा त्यसप्रति अन्तर्राष्ट्रिय समुदाय, सञ्चारमाध्यमले सहानुभूति नजनाएको रोष उनले पोखे । हामी विपिनको विषयमा केन्द्रित भयौँ र निस्कियौँ । मन्त्रालयमै नेपाल र इजरायलबिच कृषिका सन्दर्भमा भएको सहकार्यका बारेमा बेग्लै प्रस्तुतीकरण थियो ।

परराष्ट्र मन्त्रालयबाट निस्केर हामी याद भासेम संग्रहालय पुग्यौँ । दोस्रो विश्वयुद्धमा जर्मनीले यहुदीहरूलाई कत्लेआम गरेको विवरण समेटिएको संग्रहालय थियो त्यो । दोस्रो विश्वयुद्धमा यहुदीहरूमाथि जर्मन शासक हिटलरले गरेको बर्बर दमनका क्रममा ६० लाख यहुदीहरूको कत्लेआमको विवरण र प्रमाण राखिएको संग्रहालयमा पीडादायी स्मृति र प्रमाण थिए ।

त्यही दिन हामी बाल्कोनी अफ द स्टेट जाने कार्यतालिका थियो । यो इजरायल र प्यालेस्टायनबिच विवादित वेस्ट ब्यांक क्षेत्र रहेछ । यसलाई इजरायलले पेडुएल सामरिया भन्ने गरेको छ । सामरिया वेस्ट बैंकको एउटा डाँडाको टुप्पो हो जहाँबाट इरायलको उत्तर दक्षिण सबै तट देखिने रहेछ । त्यो विवादित क्षेत्र भए पनि हाल इजरायलको नियन्त्रणमा रहेछ । त्यहाँका मेयरले हामीसँग कुराकानी गर्ने तयारी गरेका थिए, तर उनी अचानक जेरुसेलम पुग्नुपर्ने भएछ । हामीलाई स्थानीय जानकार व्यक्तिले सबै जानकारी गराए । त्यो रणनीतिक महत्वको विन्दु रहेछ, त्यो क्षेत्र जसको कब्जामा हुन्छ, आधाउधि इजरायलमा उसको प्रभाव रहनेरहेछ । सुरक्षा संवेदनशीलताका हिसाबले निकै महत्वपूर्ण ठाउँमा हाम्रो भ्रमण थियो ।

हामी त्यस क्षेत्रमा जाने क्रममा ग्रिनलाइन (प्यालेस्टाइनसँग सीमारेखा) कटेको जानकारी भयो । ग्रिनलाइन कटेलगत्तै हामी एउटा ग्यास स्टेसन(चिया नास्ता, पसलसहितको पेट्रो पम्प)मा रोकियौँ । अरबी मूलका मालिक र कामदारले हामीलाई पिजा दिएर स्वागत गरे । उनीहरूको हार्दिकता गजब थियो । त्यो ग्यास स्टेसनमा हामी जसरी अप्रत्याशित रूपमा पुगेका थियौँ, उनीहरूले पनि हामीलाई अप्रत्याशित रूपमा नै स्वागत गरेका थिए । उनीहरूको हार्दिकताले हामीलाई छोयो ।

हामी बाल्कोनी अफ स्टेट पुग्दा नेपालका लागि पूर्वइजरायली राजदूत हनान गदर पनि पुगिसकेका थिए । उनले यहुदीहरूका लागि उक्त क्षेत्रको ऐतिहासिकता तथा इजरायलको सुरक्षाका लागि त्यसको रणनीतिक महत्वबारे बेलीविस्तार लगाए । हामी वेस्ट बैंकको बाल्कोनी अफ स्टेटमा एक घण्टाभन्दा बढी समय बिताएर जेरुसेलम फर्किने क्रममा ग्रिनलाइन कट्नासाथ इजरायली सेनाबाट रोकियौँ । त्यहाँ हाम्रो सुरक्षा जाँच भयो । इजरायली डिफेन्स फोर्सले हामीसँगै गएकी नियोग उपप्रमुख जनानसँग सोधपुछ गरे । हामी सबैको पासपोर्ट जाँच भयो त्यसपछि हामी जेरुसेलम लाग्यौँ । वेस्ट बैंकबाट फर्किनेहरूको सुरक्षा जाँच गरिनेरहेछ । स्वदेश फर्किने दिन एयरपोर्टमा पनि हाम्रो टोलीका वरिष्ठ सदस्यलाई इजरायली सुरक्षाकर्मीले तिमीहरू रमल्लाह (प्यालेस्टायनको राजधानी) पुग्यौ भनेर प्रश्न गरेका थिए ।

२० साउनमा बिहान हामी पेरेस सेन्टर फर इनोभेसनमा पुग्यौँ । इजरायलको प्रविधि र नवप्रवर्तनबारे रोचक प्रस्तुति थियो । उनीहरूका आविष्कारका कथा सुनिएपछि लाग्यो, इजरायल युद्धमा मात्र रहेनछ, आविष्कारको क्षेत्रमा पनि यसले चमत्कार गरिरहेको रहेछ । उनीहरूले अर्बौँ डलरका प्रविधि, कृषि उत्पादन निर्यात गरेर कमाइ गरेको, स्वास्थ्यमा गर्दै गरेको नयाँ आविष्कारका कथा सुनाए ।

साँझ हामीलाई अर्थशास्त्री ओदेद डिसटेलले इजरायली अर्थतन्त्रबारे जानकारी दिए । उनले युद्धकै बिचमा पनि इजरायलले हासिल गरेको आर्थिक वृद्धिको कथा सुनाए । त्यस दिन रात्रिको भोजनपछि रात्रिकालीन तेलअभिभको भ्रमण गर्‍यौँ । तेलअभिभको मध्य सहरमा युवादेखि वृद्धसम्म खानपिन (विशेषत: मदिरा)मा यसरी झुम्मिएका थिए, मानौँ त्यहाँ युद्ध वा द्वन्द्वको कुनै नामोनिसान केही छैन ।

२१ साउनमा हाम्रो खास दिन थियो । २०८० असोज २३ गते १० जना नेपालीहरू मारिएको र विपिन जोशी अपहरणमा परेको ठाउँ जाँदै थियौँ । बिहान त्यहाँ पुग्दा बडो भावुक माहोल बन्यो ।

किबुज अर्थात् कम्युन रहेछ त्यस क्षेत्रमा । सामूहिक खानपिन, कृषिमा सामूहिक काम गर्ने, तर बस्ने कोठा बेग्लाबेग्लै । सुरुमा हामी गाजाको सीमाक्षेत्रबाट तीन किलोमिटरवरको निर ओज किबुज (कम्युन) पुग्यौँ ।

नेपालीहरू मारिएको र विपिन अपहरणमा परेको आलुमिम किबुज (कम्युन) सुनसान थियो । एउटा गाई फार्ममा मात्रै चहलपहल थियो । पूरै उजाड थियो । हामी निर ओज किबुज सुरुमा पुगेर आलुमिम किबुज (नेपालीहरू परेको) ठाउँमा पुगेका थियौँ । निर ओजको बस्ती त अझ उजाड थियो । हमासको हमलामा मारिएका बालबालिकादेखि परिवारका तस्बिर घरमा टाँसिएका थिए । बालबालिका मारिए, तर उनीहरूका कपडा, खेलौना, जुत्ताचप्पल यत्रतत्र छरिएका थिए । मारिएका र बेपत्ता भएका मानिसहरूको पनि तस्बिर जताततै थियो । यतिसम्म कि हामी बस्तीमा पुग्दा कुकुर र बिराला घरमालिक खोजिरहेका थिए, घर मालिक जीवित थिएनन् ।

निर ओज बस्तीमा घरैपिच्छे पहेँला रंगका झन्डा अर्थ लाग्ने गरी राखिएको थियो । पहेँलो झन्डामा रातो, कालो र नीलो रंग पोतिएको थियो । रातोको अर्थ मानिसको हत्या भएको, कालोको अर्थ मानिस हमासको कब्जामा रहेको र नीलोको अर्थ हमासको कब्जाबाट मुक्त भएर फर्केको अर्थ लाग्दोरहेछ । कुनै समयमा इजरायलका लागि नेपाली दूतावासमा सल्लाहकार रहेका र अहिले सेनाको विशेष फोर्समा काम गरिरहेका क्याप्टेन नदाफ बेन यहुदाले यो कुरा सुनाए । एउटा वरको छहारीमुनि बसेर कुराकानीका क्रममा उनले भावुक हुँदै भने, ‘मलाई आशा छ कि म छिट्टै नेपाल आउनेछु, तर एक्लै होइन, विपिन भाइलाई लिएर ।’ अनि विपिन ? उनी पनि अरूजस्तै विपिन कहाँ छन्, कस्तो अवस्थामा छन् भन्ने अन्योलमा थिए ।

निर ओज कम्युनजस्तो रहेछ । त्यहाँका मानिसहरू बेग्लाबेग्लै घरमा बस्ने, कृषिकर्म गर्ने तर सामूहिक रूपमा खाने गर्दा रहेछन् । अक्टोबर ७, २०२३ मा सामूहिक भान्साघरमाथि हमला भयो । कहाँ भएन हमला । गोली लागेका पर्खाल, झ्याल थिए । जलाइएका सामान एउटा कोठामा थिए । त्यहाँ भेटिएका इफ्ताख कोहेनले भने– यहाँ गाउँजस्तो राम्रो परिवेश थियो । एैँचोपैँचो चल्थ्यो । सबै परिवारजसरी बस्थ्यौँ । तर, एकैसाथ सबै उजाड भयो ।’ उनी ७० किमि परबाट हामीलाई भेट्न आएका थिए । नेपालीहरूको सहृदयताबारे उनी बोल्दै गर्दा आफूलाई थाम्न सकेनन् ।

त्यही उजाड भान्साघरमा नेपाली मूलका विजय राई पनि भेटिए । खोटाङका राई इजरायलीपत्नी र तिन छोराछोरीसहित २०६१ सालदेखि इजरायलमा छन् र उतैको नागरिकता लिइसके । राई आफ्नै आँखाअघि ढलेका साथीहरू र परिवार सम्झेर भावुक भए, आफूलाई सम्हाल्न नसकेर कुराकानीकै क्रममा बाहिरिए । हमासको हमला हुँदा उनी घरमै थिए । राईको परिवार चार घण्टासम्म सेफ हाउसमा ढोका लाएर बसेको रहेछ । ११ घण्टा सेफरुममा बसेर परिवारलाई बाहिर निकाले र आफू पनि बाहिरिए । त्यसपछि उनीहरू त्यो क्षेत्रमा बस्न गएका छैनन् । राई भन्दै थिए, ‘यो क्षेत्रमा हामी ४०० जना थियौँ, आधाउधि त मारिए । बाँकी कति घाइते भए, कति अपहरणमा परे ।’ उनी त्यस घटनापछि काममा गएका छैनन् । भन्छन्, साथीहरूको यादले म पिरोलिन्छु । सम्हालिन सकेको छैन ।’

आलुमिमस्थित विपिन जोशी अपहरणमा परेको ठाउँमा स्थानीय एम्बुलेन्सचालक खायाम भेटिए, जसले घाइते भएका नेपालीलाई अस्पताल लगेका थिए । उनले भने, ‘१० जना इमानदार नेपाली भाइहरू मारिए । हामीले बिचराहरूलाई बचाउन सकेनौँ । म साहै्र दु:खी छु ।’

आलुमिममा नेपाली विद्यार्थीहरू बस्ने कोठा र माहोल राम्रो रहेछ । तर, सेफहाउस वास्तबमा सेफ अर्थात् सुरक्षित रहेनछ । बंकर भइदिएको भए नेपालीहरू मात्र नभएर इजरायलीहरूकै क्षति नहुनेरहेछ । ढोका र छानो नभएको शौचालय आकारको पक्की कोठा सेफहाउस थिएन । सबैको त्यस्तै रहेछ । त्यसले बेचैन बनायो । त्यस ठाउँमा हमलापछि बाहिरिएका मानिसलाई फर्काउन खोजिएको रहेछ, तर अझै पनि त्यहाँ बस्न मानिसहरू तयार छैनन् । त्यहाँबाट उदास भएर फर्कियौँ । 

२२ साउनमा गोलान हाइट्स जाने हाम्रो कार्यक्रम थियो । सिरिया र लेबनानसँग जोडिएको यो क्षेत्र निकै संवेदनशील थियो । यी पंक्तिकार एक दशकअघि लेबनान र इजरायलको सीमाक्षेत्र पुगेका थिए, तर गोलान हाइट् पुगिएका थिएनन् । संयुक्त राष्ट्रसंघीय शान्ति मिसन इरायल र सिरियाको सीमाक्षेत्रमा छ, जहाँ नेपाली सैनिकहरू उल्लेख्य संख्यामा छन् । 

गोलान हाइट्सको मजदल साम्स गाउँमा नेपाली शैलीको भोजन लियौँ । त्यसपछि हामीलाई सानो एउटा खेल मैदानमा लगियो जहाँ गत वर्ष लेबनानको हिजबुल्लाह समूहले प्रहार गरेको इरानी मिसाइलबाट फुटबल खेलिरहेका १२ जना बालबालिकाको एकै ठाउँमा ज्यान गएको थियो । त्यहाँ भेटिएका उनका परिवारको क्रन्दनले बेचैन बनायो । द्रुज समुदायका मानिस बस्ने उक्त ठाउँमा अरबी भाषा बोलिँदोरहेछ । त्यस घटनामा घाइते भएका बालबालिकाको उपचार अझै भइरहेको रहेछ । आँखैअगाडि साथीहरू गुमाएका एक किशोर त्यहाँ थिए, तर उनी शान्त थिएनन् । अर्का अभिभावक भन्दै थिइन्, ‘मेरो छोरो अहिले पनि राति झस्किरहन्छ ।’ १२ जना बालबालिकामध्ये एउटाको शव त त्यहीँ खरानी भएको थियो । बाँकी ११ जनाको शव चिन्न नसक्ने अवस्थामा थियो । ‘हामीलाई चाहिँ न्याय कसले दिने ?’ एकजना आमाका चित्कारले दिनभरि कान घोचिरह्यो । 

त्यहाँबाट हामी हाइफा सहर हुँदै तेलअभिभ फर्कियौँ । हाइफामा इजरायलका पूर्वकूटनीतिज्ञ रेदा मन्सुरले रात्रिभोज आयोजना गरे । सिरियाको मामिलामा विद्यावारिधि गरेका उनले इजरायलले कसरी अस्तित्व रक्षाका लागि छिमेकीहरूसँग प्रतिस्पर्धा गरिरहेको छ भन्ने लामो प्रस्तुति दिए । 

२३ साउनमा हामी मृतसागर (डेड सी) जाँदै थियौँ । जहाँको नुनिलो पानीमा तैरिँदै अद्भुत प्राकृतिक अनुभव लिए साथीहरूले । त्यहाँ नेपालबाट गएको अर्को टोली पनि मिसियो । एमाले सांसद तारा लामा तामाङ, माओवादी नेता खिमलाल देवकोटा, शेरबहादुर देउवा प्रधानन्त्री हुँदाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीलगायतको टोलीसँग भेट भयो । हामीसँगै यात्रामा रहेकी नियोग उपप्रमुख जनान अर्को टोलीमा मिसिने भइन् । हामीसँग छुट्टिएर उनी अर्को टोलीमा गइन् । मृतसागरको भ्रमणपछि हाम्रो कार्यक्रम लगभग सम्पन्न भइसकेको थियो ।

तेलअभिभ फर्किने क्रममा बाटामा होस्टेजेज स्क्वाएर नाम गरिएको ठाउँमा हामीलाई लगियो । त्यहाँ विपिन जोशीसहित हमासले बन्धक बनाएको भनिएका व्यक्तिको पोस्टर थियो । उनीहरूको रिहाइका लागि प्रार्थना र ऐक्यबद्धता दिन मानिसहरू जम्मा भइरहने रहेछन् । त्यहाँबाट हामी यसपालि जुनमा इरानबाट प्रहार भएका मिसाइलले आक्रमण गरेको इजरायली सेनाको बेस भवन पुग्यौँ । गेटबाहिरबाट हेर्‍यौँ । हामीलाई तस्बिर खिच्न दिइएन । एकजना साथीले फोटो खिचेका रहेछन्, सैनिकले केरकार गरे । 

त्यसपछि एउटा टेलिभिजनका अन्तराष्ट्रिय मेनेजरले हामीलाई स्वागत गरे । त्यहाँ उनले इजरायलको सर्भाइभल युद्धबारे व्याख्या गरे । साँझ इजरायली सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोज थियो । 

इजरायलमा हाम्रो एक साता बितिसकेको थियो । युद्धका चोट, नेपालीहरू मारिएको र बेपत्ता भएको स्थान र त्यो पीडादायी विवरण, इजरायलले कृषि र आविष्कारमा गरेको चमत्कारका विवरणको मिश्रित अनुभव लिएर २४ साउनमा दुबई हुँदै राति स्वदेश फर्कियौँ ।