मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 23 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:२९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सम्बन्धविच्छेद गरेको दाबीपछि पनि धनराजले मितेरीबाट ६ पटक ऋण लिए, सबैमा ‘हकवाला’ र ‘श्रीमती’मा ज्योतिको नाम 

ज्योति गुरुङ : सहकारी ठगीदेखि मिटरब्याज, हुन्डी र क्रिप्टोमा संलग्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:२९:oo

मितेरी सहकारीका बचतकर्ताको ठुलो रकम अपचलन भएको सार्वजनिक भएपछि कांग्रेस उपसभापति धनराज गुरुङले सोही सहकारीमा महाप्रबन्धक रहेकी पत्नी ज्योति गुरुङसँग सम्बन्धविच्छेद गरिसकेको दाबी गरेका थिए । २९ फागुन ०७६ मै जिल्ला अदालत ललितपुरबाट सम्बन्धविच्छेद गरेको उनले बताएका थिए ।

यद्यपि, अपचलनको मुद्दाबाट जोगिन मात्रै धनराजले ‘कागजी सम्बन्धविच्छेद’ गरेको बयान सहकारीका तत्कालीन अध्यक्ष कुम्भराज गुरुङले संसदीय छानबिन समितिमै दिएका थिए । त्यसपछिका घटनाक्रमले पनि धनराजले ‘कागजी सम्बन्धविच्छेद’ मात्रै गरेको देखिन्छ ।

सहकारीमा समस्या आएपछि धनराजकी पूर्वपत्नी ज्योति फरार भइन् । त्यसयता पनि धनराजले सहकारीबाट ६ पटक ऋण लिएको देखिएको छ । र, हरेकपटक हकवालामा ज्योतिको नाम र नातामा ‘श्रीमती’ उल्लेख गरेका छन् । सहकारीका ती सबै कागजातमा धनराजले ल्याप्चेसहित हस्ताक्षर गरेका छन् ।

सहकारीको तथ्यांकअनुसार धनराजले २२ पुस ०७७ मा ६ लाख, ६ माघ ०७७ मा १० लाख, २० माघ ०७७ मा १८ लाख १० हजार, २३ माघ ०७७ मा १२ लाख १५ हजार, २ फागुन ०७७ मा ११ लाख र ३ फागुन ०७७ मा १२ लाख रुपैयाँ मितेरी सहकारीबाट ऋण लिएका थिए । यो तथ्यलाई सहकारी सेयरहोल्डर सदस्य मोतीप्रसाद आलेले सिआइबीलाई दिएको बयानले पनि पुष्टि गर्छ ।

उनले बयानमा भनेका छन्, ‘२८ कात्तिक ०८१ को पत्रसाथ प्राप्त धनराज गुरुङको ऋण फाइलबाट धनराज गुरुङको नाममा निम्न उल्लिखितबमोजिमको ऋण प्रवाह गरिएको र सो कर्जाको तमसुकमा हकवाला ज्योति गुरुङ र नाता श्रीमती उल्लेख गरिएको र निजहरूको सम्बन्धविच्छेद भइसकेको सम्बन्धमा यस मितेरी सहकारी संस्थामा निज धनराज गुरुङले जानकारी नगराएको/ढाँटेकाले फरार रहेकी ज्योति गुरुङलाई श्रीमती भनी हकवाला कायम गरी धनराज गुरुङलाई सहकारी संस्थाबाट माथि सवालमा उल्लेखित ऋण प्रवाह भएको हो ।’

ज्योति गुरुङ : सहकारी ठगीदेखि मिटरब्याज, हुन्डी र क्रिप्टोमा संलग्न

कांग्रेस उपसभापति धनराज गुरुङकी पत्नी रहेकै वेला ज्योति गुरुङले सहकारीबाट ठगी गरेको रकम मिटरब्याज, हुन्डी र क्रिप्टोसम्ममा लगानी गरेको देखिएको छ । सिआइबीको अनुसन्धानपछि उनीविरुद्ध हाल पाँचवटा मुद्दा दायर गरिएको छ । उनीमाथि अभियोगमा सहकारी ठगी, संगठित अपराध, व्यक्तिगत ठगी, लिखत किर्ते र बैंकिङ प्रणालीभन्दा बाहिरको कारोबार समावेश छन् ।

सहकारीको पैसा गैरकानुनी रूपमा निकालेर उनले ज्योति भण्डारीलाई मिटरब्याजमा लगानी गरेको सिआइबीले जनाएको छ । भण्डारीले त्यो पैसा क्रिप्टो तथा क्यासिनोमा लगाएका थिए, जसमा दुवैजनाको मिलेमतो पाइएको छ । साथै, एकपटक उनीहरू मिलेर कम्बोडियाबाट ३३ करोड ११ लाख हुन्डीगरी पठाएको विवरणसमेत सिआइबीको अनुसन्धान प्रतिवेदनमा छ । उक्त रकम निकाल्न भन्दै थप तीन करोड ४२ लाख रुपैयाँ रकम ज्योति गुरुङ तथा ज्योति भण्डारीलगायतले कुम्भराज गुरुङसहितलाई ठगी गरेको प्रकरणमा छुट्टै मुद्दा दायर भएको छ ।

बैंकिङ प्रणालीभन्दा बाहिर गएर १७ करोड ७२ लाख रुपैयाँबराबरको कारोबार गरेकोमा ज्योति गुरुङलगायतविरुद्ध नेपाल राष्ट्र बैंक ऐनको दफा ९५(१)को कसुरअनुसार अर्काे मुद्दा पनि दायर भएको छ । अनुसन्धानअनुसार हाल ज्योति अमेरिकामा छिन् । तर, उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दामा भने सिआइबीले अनुसन्धान गरेको छैन ।