मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 20 August, 2025
Invalid date format १८:३२:oo
Read Time : > 1 मिनेट
समाचार

कांग्रेस–एमालेले राज्य शक्तिको दुरुपयोग रोक्नुपर्छः पुन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३२:oo

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सत्तारूढ दुई ठुला दल कांग्रेस र एमालेले प्रतिपक्षमा रहेका साना दलहरूप्रति प्रतिशोध साध्न उद्धत रहेको आरोप लगाएका छन्।  

कांग्रेस नेता एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको तेस्रो स्मृति दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक विमर्श कार्यक्रममा बोल्दै पुनले राज्य शक्तिको दुरुपयोग रोक्न माग गरेका हुन्। गल्ती गर्ने जोकोही कानुन र अनुसन्धानभन्दा माथि नहुने भए पनि प्रतिशोध स्वीकार्य हुन नसक्ने उनको भनाइ थियो। ‘दुई ठुला पार्टीहरू सरकारमा हुनुहुन्छ। तपाईंहरूसँग बढी जिम्मेवारी छ। दुई पार्टी मिलेर साना दलहरूलाई पेल्न र प्रतिशोध साध्न खोजेकोजस्तो देखिएको छ,’ पुनले भने । 

पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले न्यायालय र अख्तियारजस्ता निकायलाई प्रतिपक्षीविरुद्ध दुरुपयोग गर्ने कोसिस भइरहेको बताए । आफ्नो दल सरकारमा हुँदा पनि आफूले विरोधीसँग प्रतिशोध साध्न राज्य शक्तिको दुरुपयोग गर्न नहुने सार्वजनिक अभिव्यक्ति दिएको स्मरण पुनले गरे । ‘विगतमा आफ्नै पार्टीको सरकार हुँदा पनि मैले राज्यसत्ताको दुरुपयोग गरी कसैमाथि प्रतिशोध साध्न मिल्दैन भनेको थिएँ, उनले भने, ‘सत्तापक्ष, पतिपक्षी वा आफैंँभित्रको अर्को पक्षविरुद्ध राज्य प्रयोग गरिनुहुँदैन। यो म हिजो पनि भन्थेँ, आज पनि भन्छु।’ 
पुनले सरकारमा बसेर एउटा गल्ती ढाक्न अर्को गल्ती गर्दै जाने प्रवृत्ति छाडेर सच्चिन कांग्रेस र एमालेलाई आग्रह गरे। माओवादी केन्द्र आफ्ना गल्तीहरूप्रति जनतासँग माफी माग्न तयार रहेको भन्दै पुनले विगतमा गल्ती सच्याउन तयार रहेको प्रतिबद्धता जनाए। ‘माओवादी केन्द्र आफ्ना गल्तीमा जनतासँग माफी माग्न र सच्याउन तयार छ । आफूले अवसर पाएका बेलामा ध्यान नपुगेका कुरा स्वीकार गर्न हामीलाई कुनै हिच्किचाहट छैन ।’ 

ठूला पार्टीमाथि जनताको प्रश्न रहेको चर्चा गर्दै उनले गठन भएको ६ महिनामा रास्वपालाई संसदको चौथो शक्ति बनाएर जनताले पुराना दलप्रति प्रश्न गरेको बताए । 

लोकतन्त्रको विकल्प झन् राम्रो लोकतन्त्र र नेताहरुको विकल्प झन् राम्रो नेता भए पनि पपुलिज्मको जगबाट उदाउने अतिजातीवादी र अन्धराष्ट्रवादीहरु विकल्प हुन नसक्ने उनको भनाइ थियो ।  ‘हाम्रो पार्टीको कोणबाट हेर्दा लोकतन्त्रको विकल्प झन् राम्रो लोकतन्त्र हो, पार्टी सिस्टमको विकल्प झन राम्रो पार्टी सिस्टम र नेताहरुको विकल्प झन राम्रो नेताहरु हो’, पुनले भने, ‘सस्तो लोकप्रियतावादले मुलुकका समस्या समाधान गर्दैन । तर, हाम्रा विचार राजनीतिक, कामकारबाही र कार्यशैलीमा धेरै नै शुद्धीकरण जरुरी छ ।’ पुराना पार्टी र नेताहरुले आफूलाई परिस्कार गरेर विचार, जानीति, र निष्ठाका साथ अघि नबढे मुलुकमा अहिलेको भन्दा थप निराशा छाउने पुनले उल्लेख गरे । 

०९८, ००७, ०३६, ०४६, ०५२ र ०६३÷०६३ को संघर्षको इतिहाससँग जोडिएका दलहरुले विगतको ब्याजले मात्र अबको नेतृत्व गर्न नसक्ने उनको भनाइ थियो । ‘हिजो बलिदानको ब्याजले मात्र आजको राजनीति धान्न सकिँदैन । मान्छेले विश्वास गर्दैन’, पुनले भने, ‘पुराना पुस्ताका नेताहरुप्रति हाम्रो पुराका पुरा सम्मान छ । पुराना नेताले विचार, राजनीतिक निष्ठा र संस्कार देखाउन जरुरी छ । पार्टीहरु र नेताहरु लोकतान्त्रिक संस्कारमा छन् भन्ने विश्वास दिलाउन नसकेको अवस्था छ । त्यो कुरामा आत्मालोचना गर्नैपर्छ ।’