
ग्राहक– यो खुकुरीमा धार लगाइदे, कति पैसा लिन्छस् ?
आरनवाला– अढाई सय हजुर ।
ग्राहक– धत साला, तँलाई अढाई सय, दुई सय दिन्छु । खुरुक्क धार लगाएर राखिदे । झन् चिनेजानेको भनेर आएको नापिदो पो रहेछ ।
विराटनगर–१ पुष्पलाल चोकमा परम्परागत आरन चलाएर फलामका औजार बनाउने र अर्चाप्ने काम गर्दै आएका ५६ वर्षीय शम्भु विश्वकर्माले वर्षौँदेखि भोग्दै आएको व्यवहार हो यो । अर्काले दिएको जग्गामा सडक नजिकै सानो छाप्रो बनाएर फलामका औजार उत्पादन गर्दै आएका उनलाई केहीले मात्र सम्मानले बोलाउँछन् र उचित ज्याला दिएर औजार लैजान्छन् । तर, धेरैले अझै ‘ओइ शम्भु कामी’ भनेर सम्बोधन गर्ने गरेको दुखेसो पोखे ।
भोजपुरको टेम्केमैयुङ गोगनेबाट ०४८ सालमा रोजगारीका लागि भल्टयाङभुल्टुङ परिवार लिएर तराई झरेका थिए शम्भुबहादुर विश्वकर्मा । सुरुमा उनले उदयपुरको बसाहमा अर्कोको जमिनमा बसेर आरन चलाए । तर बालीमा औजार बनाउनु र अर्जाप्नु पर्दा परिवारको गुजार चलाउन निक्कै मुश्किल पर्याे । त्यसैले १० वर्षपछि ०५८ मा उनी फेरि कुम्लो बोकेर सपरिवार अझै दक्षिण विराटनगर आए । २२ वर्षदेखि उनी विराटनगरको चर्को गर्मीमा जेनतेन आरन थापेर परिवारको गुजारा चलाइरहेका छन् । उनलाई जीवनसाथी तीर्थमायाले घन ठोक्न सहयोग गर्दै आएकी छिन् ।
शम्भु फलामका औजारहरू हँसिया, चुलेसी, कोदालो, खुकुरी, कन्ती, तावा आदि बनाउँछन् र बनाएका विभिन्न औजार अर्जाप्ने गर्छन् । चाडबाड लागेपछि उनको कमाई अलि राम्रै हुन्छ । तर अरुबेला भने दैनिक गुजारा चलाउन समेत धौ धौ पर्छ । एक त ‘यो कामीले राम्रो बनाउनै जान्दैन’ भनेर कामै दिँदैन दिनेहरूले पनि हेपेर उचित ज्याला दिँदैनन । फुर्सदका वेला आफुले बनाएका फलामका औजार घरघरमा डुलेर बिक्री पनि गर्छन् ।
प्रचण्ड गर्मीमा पनि सधै तातो आगोमा घन ठोकेर जीवन खियाए पनि शम्भुले कमाउन केही सकेनन । बुढीगंगा गाउँपालिका–१ खोला किनारमा पाँच धुर जमिनमा टिनको टहरो बनाउँदा लागेको पाँच लाख ऋण उनले अझै तिरिसकेका छैनन । यसैले बुढेसकाल लागिसक्दा पनि उनी औषधि खाएर अझै घन ठोकिरहेका छन् ।
‘पहिलेभन्दा आजकल धेरै सम्मान पाउन थालेका छाँै हजुर । अब हामीलाई कसैले हेप्न सक्दैन,’ आफुमाथि भैरहेको अपमानित व्यवहारबाट अभ्यस्त भैसकेका शम्भु भन्छन् । उनी पेशा धान्नका लागि सबैसँग जोरी खोजेर साध्य नहुने भएकोले हेपे पनि सहनुपर्ने बाध्यता सुनाउँछन् ।
दुई छोरा र दुई छोरी हुकाईसकेका शम्भुले बसाइँ हिँडिरहनुपर्दा छोराछोरी पढाउन नसकेको बताए । उनका छोराहरू रंग पेन्टिङको काम गर्छन् भने छोरीहरू आफनै घर गरेर खाँदैछन् । वर्षौसम्म आरनमा नग्रा घोटेका शम्भुले कमाईले एउटा फलाम तताउने मेसिन समेत किन्न सकेनन । छोराहरूले पनि कमाउन थालेपछि बल्ल उनले एउटा ग्रेन्डर मेसिन किनेका छन् । दलितहरूका परम्परागत पेशालाई आधुनिकीकरण गर्ने नारा र भाषण धेरै सुनेका शम्भुले जीवनमा पेशाका लागि कतैबाट कुनै सहयोग पाएका छैनन । आरनलाई आधुनिक बनाउने उनको धोको अझै अधुरै छ । शम्भु भन्छन्, ‘खै हजुर जमिन भएकाहरूलाई मात्र सरकारले सहयोग गर्दोरहेछ । हामी जस्ता भुमिहीनले निर्वाहमुखी पेशा गर्न केही सहयोग पाउँदा रहेनछौँ ।’