
धेरै अगाडिको कुरा हो, साँझको समय थियो । चिसो–चिसो हावा चलिरहेको थियो । एक बालक नदीकिनारमा बसेर आकाशतिर हेरिरहेका थिए । पछाडिबाट कसैले आवाज दियो, ‘भाइ, साँझ परिसक्यो घर हिँड ।’ उनले पछाडि फर्केर हेरे । पछिल्तिर उनकी दिदी उभिएकी थिइन् । उनले भनिन्, ‘आज धेरै चिसो छ, आमाले तिम्रा लागि न्यानो ओढ्ने पठाइदिनुभएको छ, ‘लेऊ, यो ओढ ।’
बालकले त्यो ओढ्ने लिए अनि उनी दिदीको हात समातेर घरतिर लागे । बाटोमा उनले एउटा दृश्य देखे । त्यहाँ एउटा भिखारी चिसोमा थरथर काँप्दै थिए । भिखारीको लुगा ठाउँ–ठाउँमा च्यातिएको थियो । उनी चिसोले कठ्यांगिँ्रदै बालकका अगाडि आए । साना बालकले उनको शरीर काँपिरहेको देखे । बालकको मनमा दया भरिएर आयो । ती बालकले आफ्नो न्यानो ओढ्ने भिखारीलाई दिए र भने– ‘बाबा, भिख माग्नु राम्रो काम होइन । भगवान्ले तपाईंलाई हातखुट्टा दिएका छन्, मिहिनेत गर्नुहोस् र मिहिनेतको कमाइ खाएर बाँच्नुहोस् । किनकि, मिहिनेत गर्ने मानिसले कहिल्यै अरूका अगाडि हात फैलाउनुपर्दैन, न यताउति भड्किनु नै पर्नेछ ।’
भिखारीले ती बालकलाई हेरिरहे । भिखारीले त्यस दिनदेखि भिख माग्न छाडिदिए । उनले हरेक दिन मिहिनेत गर्न थाले । भिख माग्ने काम छाडेर परिश्रम गर्न थालेपछि उनले साँच्चै कसैसामु हात पसारेर केही माग्नै परेन । उनी आफ्नै खुट्टामा उभिन सक्ने भए । त्यसरी एक सानो भनाइबाटै मानिसको जीवनमा नयाँ मोड ल्याइदिन सक्ने ती बालकको नाम थियो, नानक । तिनै बालक पछि गएर महान् सन्त गुरु नानकका नामले संसार प्रसिद्ध भए ।