
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा इलाकामा हुने अवैध चोरी–तस्करी नियन्त्रणका लागि मुख्यालयले समेत सूक्ष्म रूपमा निगरानी गरिरहेको र त्यसमा कतै कमीकमजोरी देखिएमा कुनै पनि कमान्डर कारबाहीको भागीदार हुने चेतावनी दिएका छन्।
मंगलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट सीमा क्षेत्रमा तैनाथ सबै तहका युनिट कमान्डरहरूलाई सीमा सुरक्षासँग सम्बन्धित विविध विषयमा निर्देशन दिँदै उनले जवाफदेही र जिम्मेवार बन्न जोड दिएका हुन् । चेन अफ कमान्डलाई कायम राख्न मातहत सबै कमान्डरहरूको उत्तिकै भूमिका हुने उनले स्मरण गराए।
‘हरेक कमान्डर मुलुक, आमजनता र संगठनको हितमा विवेक प्रयोग गर्न स्वतन्त्र रहेका छन्,’ निर्देशनका क्रममा उनले भने, ‘असल कार्यका लागि मुख्यालयको आदेशको पर्खाइमा बस्नुपर्देन ।’
सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीलाई सीमा क्षेत्रमा कार्य गर्दा अपनाउनुपर्ने आचरणका विषयमा समय–समयमा काउन्सिलिङ गर्दै आचरणविपरीत कार्य गर्नेमाथि कठोर हुनसमेत उनले निर्देशन दिएका छन् । सीमा क्षेत्रबाट हुने अवैध आवतजावत रोक्न र शंकास्पद व्यक्ति देखिएमा त्यसलाई विशेष निगरानी गर्न र सीमा क्षेत्रलाई व्यवस्थित गर्न हरहालतमा चनाखो बन्न उनको निर्देशन छ।
कार्यक्रममा सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडामगरले सीमा क्षेत्रका स्थानीय बासिन्दासँगको समन्वय र सहकार्य अझै बढाउन निर्देशन दिएका छन्।
कार्यक्रममा सीमासँग जोडिएका बाहिनी मुख्यालय प्रमुखहरूले हाल सीमा क्षेत्रमा भइरहेका कामकारबाहीसम्बन्धी विविध विषयमा प्रस्तुतीकरण गरेका थिए भने गण, गुल्म तथा बिओपी कमान्डरहरूले समेत सीमा सुरक्षाको वर्तमान अवस्था, चुनौती र भावी योजनाबारे जानकारी गराएको सशस्त्र प्रहरी बलले जनाएको छ ।