
कुनै समय भरतपुरमा कालोपत्रे सडक हेर्न नारायणगढ बजार नै पुग्नुपर्दथ्यो । अहिले भने भरतपुरको स्वरूप नै फेरिएको छ । भरतपुरको १ देखि २९ वडा पुग्न ३० मिनेट छुट्टाए पुग्ने भएको छ । सडक सञ्जालले सबै स्थानलाई जोडेको छ ।
भरतपुर महानगरपालिकामा आठ वर्षको अवधिमा एक हजार ६५ किलाेमिटर सडक कालोपत्रे भएको छ । यी सडकहरू ६ मिटरदेखि १६ मिटर चौडाइसम्मका छन्। यसबाहेक संघ र प्रदेश सरकारमार्फत करिब दुई सय किलाेमिटर सडक थप बनेका छन्।
महानगर प्रमुख रेनु दाहालको नेतृत्वमा पहिलो कार्यकालमा ६२२ किलाेमिटर सडक कालोपत्रे गरिएको थियो। दोस्रो कार्यकालका तीन वर्षमा थप ४४२ किलाेमिटर सडक बनेको छ । यही गतिमा कालोपत्रे सडक निर्माण भए दोस्रो कार्यकालको अन्त्यसम्म ७३५ किलाेमिटरभन्दा बढी सडक बन्नेछ ।
‘विकासको पहिलो आधार सडक नै हो,’ उनले भनिन्, ‘कतिपयले कालोपत्रे गरेर विकास होइन भनेको सुनिन्छ । सडकले नै अन्य विकासलाई जोड्छ । समयको बचत हुन्छ । ट्रान्सपोर्टेसनमा लाग्ने लागत घटेर जान्छ । सबै क्षेत्रलाई सहज बनाउँछ ।’
महानगरले अहिले सडकलाई हरियालीसहित सौन्दर्यीकरण गर्ने नीति लिएको छ ।
निर्माण भएका सडकको दायाँ–बायाँ वृक्षरोपण गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । भरतपुरको पुल्चोकदेखि गोन्द्राङसम्म, बाइपास सडक, हुलाकी सडक, प्रचण्ड पथ र चक्रपथ निर्माणका लागि संघीय सरकारसँगकाे पहलमा निर्माण भइसकेको छ ।
महानगरभित्र मंगलपुर–शिवनगर, पार्वतीपुर–शुक्रनगर हुँदै तेलौलीसम्म २१ किलोमिटर प्रचण्ड पथ संघीय सरकारको बजेटमा निर्माण भएको छ । महानगरको चक्रपथ ८८ किलोमिटर छ । ‘सडक बनाउने मात्रै होइन, सौन्दर्यीकरणका लागि पनि ध्यान दिइएको छ । हाल महानगरभित्रका मुख्य सडकको ८० किलोमिटर क्षेत्रमा स्मार्ट सडकबत्ती जडान गरिसकेको छ । बाँकी १५० किलोमिटर सडक क्षेत्रमा स्मार्ट लाइट जडानको कार्य अन्तिम चरणमा छ ।