मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १ आइतबार
  • Sunday, 17 August, 2025
२o८२ भदौ १ आइतबार o६:५२:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चिकित्सा शिक्षा पठनपाठन योजना अलपत्र : टिकटक बनाउने थलो बन्यो गेटा विश्वविद्यालय

टिकटक र सेल्फी खिच्नेको भिडले वातावरण र सुरक्षा व्यवस्थामा बाधा पुगेको भन्दै अस्पतालले जारी गर्‍यो सूचना

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १ आइतबार o६:५२:oo

साढे तीन दर्जनको संख्यामा विशाल आधुनिक भवन । भवनहरूको बिचमा चार लेनको मूल सडक र भवनसम्मै पुग्ने नालीसहितका शाखा सडक । सडकछेउतिर आधुनिक स्ट्रिट लाइट । झट्ट हेर्दा कुनै विकसित मुलुक पुगेको झल्को दिने यो दृश्य हो कैलालीस्थित गेटाको । जहाँ सामाजिक सञ्जाल टिकटक, फेसबुकका लागि फोटो र भिडियो खिच्न मानिसको भिड लाग्ने गरेको छ ।

सरकारले गेटामा चिकित्सा शिक्षाको पठनपाठनसहित ६ सय शड्ढयाको अस्पताल सञ्चालनका लागि भवनसहित संरचना निर्माण गरेको छ । तर, चिकित्सा शिक्षा र अस्पताल सञ्चालनको योजनाजस्तै त्यहाँ बनेका आलिसान भवन पनि चार–पाँच वर्षदेखि अलपत्र छन् । ६ सय शड्ढयाको अस्पतालका लागि पूर्वाधार बनेको ठाउँमा सरकारले ५० शड्ढयामा सीमित अस्पताल सञ्चालन गरिरहेको छ । चिकित्सा शिक्षा पठनपाठनको कुनै टुंगो र तयारी नै छैन ।

आलिसान भवनैभवनले सुन्दर र आकर्षक देखिने गेटा अहिले युवायुवतीका लागि टिकटक बनाउने थलो भएको छ । निर्मित संरचना प्रयोगविहीन रहेको अवस्थामा रहेको तथा टिकटक बनाउने र सेल्फी खिच्ने थलो बनेको हो । फोटो खिच्न र टिकटक बनाउनकै लागि दैनिक सयौँ युवायुवती गेटा पुग्ने गर्छन् ।

टिकटक र सेल्फी खिच्नेको भिडले अस्पतालको वातावरण र सुरक्षा व्यवस्थामा समेत बाधा परिरहेको भन्दै अस्पतालले सूचना नै जारी गर्नुपरेको छ । अस्पतालले गत साता सूचना जारी गरेर त्यहाँ टिकटक र फोटो नखिच्न आग्रह गरेको हो ।

अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले ठुलो भिडभाड हुँदा अस्पतालको वातावरण नै खल्बलिन थालेपछि सूचना जारी गर्नुपरेको बताए । उनका अनुसार शनिबार र सार्वजनिक बिदाको दिन टिकटक बनाउन र फोटो खिच्न आउनेको संख्या हजारभन्दा बढी हुन्छ । अस्पतालले सूचना जारी गरेपछि पनि टिकटक बनाउन जानेको संख्या रोकिएको छैन ।

गेटामा चिकित्सा शिक्षाको पठनपाठन र ६ अस्पताल सञ्चालनका लागि ६ अर्ब ६८ करोड रुपैयाँ लागतमा संरचना बनेका छन् । तर, तत्काल चिकित्सा शिक्षा पठनपाठन र अस्पताल सञ्चालनको कुनै सुरसार छैन । लामो समय प्रयोगविहीन भएपछि भवन र त्यसभित्र राखिएका सामान जीर्ण बन्न थालेका छन् । अधिकांश भवन ०७७ र ०७८ मा बनेका हुन् ।

निर्माण भएका भवनको उचित रेखदेखसमेत हुन सकेको छैन । भवनहरूमा ताला झुन्ड्याइएको छ । कतिपय भवन चर्किनुका साथै हावाहुरीले झ्यालढोकामा क्षति पुगेको छ । कतिपय भवनको रङ खुइलिन थालेको छ । भवनभित्र त्यतिवेलै एसी, पंखा, फर्निचरलगायत सामान राखिएका थिए । शैक्षिक भवनमा डेस्क, बेन्च, ह्वाइटबोर्ड, पोडियमसमेत राखिएका छन् ।

हालै खारेज भएको पूर्वाधार विकास समितिका इन्जिनियर पवन रावलले प्रयोगविहीन हुँदा संरचना र सामान जीर्ण हुन थालेका बताए । ‘चार–पाँच वर्षदेखि भवनहरू ताला लगाएर छोडिएका छन्, मर्मतसम्भार छैन, सामान प्रयोग भएका छैनन्,’ उनले भने, ‘अझै लामो समय प्रयोगविहीन राख्ने हो भने सामान बिग्रन्छन्, भवन मर्मत गर्नुपर्ने हुन्छ ।’ गेटामा शैक्षिक, प्रशासनिक, अस्पताल, आवास, छात्रावाससहित सानाठुला गरी ४२ वटा भवन रहेको रावलले बताए ।

विश्वविद्यालयको ऐन आयो, पदाधिकारी नियुक्त भएनन्
गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न विश्वविद्यालयसम्बन्धी ऐन गत असारमा जारी भइसकेको छ । तर, सहकुलपति नियुक्त गर्ने, गेटामा सानो आकारमा भए पनि विश्वविद्यालयको इकाइ वा कार्यालय राख्नेलगायत काम भएका छैनन् । विश्वविद्यालय कहिलेबाट सञ्चालन हुन्छ भन्ने यकिन छैन ।

गेटामा मेडिकल विश्वविद्याय स्थापनाका लागि दबाब दिन गठन गरिएको संघर्ष समितिका संयोजक लोकराज पाण्डेयले ऐन जारी भएर मात्र नहुने भन्दै पदाधिकारी नियुक्ति प्रक्रिया सरकारले तत्काल सुरु गर्नुपर्ने बताए । ‘ऐन आउनु खुसीको कुरा हो, तर सरकारले ऐन ल्याएर अल्झाउनु मात्र भएन,’ उनले भने, ‘पदाधिकारीको नियुक्ति तत्कालै गरेर सुरुमा कम्तीमा तीन सय शड्ढयाको अस्पताल र चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्नुपर्छ ।’

एउटा पनि मेडिकल कलेज नभएको सुदूरपश्चिममा सेती र महाकाली प्रादेशिक अस्पताललाई विश्वविद्यालयमातहत ल्याएर भए पनि यसै वर्षबाट चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्नुपर्ने माग स्थानीयको रहेको उनले बताए । विश्वविद्यालयमा प्रधानमन्त्री उपकुलपति र शिक्षामन्त्रीसहित दुईजना सहकुलपति रहने व्यवस्था गरिएको छ ।

ऐन जारी भएको ३० दिनपछि पूर्वाधार निर्माण समिति खारेज हुने र त्यहाँको सम्पूर्ण सम्पत्ति विश्वविद्यालयको हुने व्यवस्था ऐनमा छ । जसअनुसार ४ साउनदेखि समिति खारेज भएको छ । तर, समिति खारेज भइसकेको, विश्वविद्यालयका पदाधिकारी नियुक्ति नभएको र कार्यालयसमेत नरहेको अवस्थामा उक्त संरचना कसले हेर्ने भन्ने अन्योल छ ।

शिक्षा मन्त्रालयले पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेपछि दुई वर्षयता पूर्वाधार विकास समितिको कार्यकारी निर्देशकमा शिक्षा विकास तथा समन्वय इकाइ कैलालीको प्रमुखलाई तोकेको थियो । इकाइ प्रमुख ईश्वरीप्रसाद ज्ञवालीले समिति खारेज भइसकेको र विश्वविद्यालयको अंग पनि आइनसकेकाले अहिले ‘ग्याप’को अवस्था रहेको बताए । ‘अहिले ‘ग्याप’ सिर्जना भएको छ । त्यहाँको सम्पत्ति सम्हाल्ने र विश्वविद्यालयमा छिटोभन्दा छिटो पदाधिकारी नियुक्ति गर्ने दायित्व पनि शिक्षा मन्त्रालयको हो,’ उनले भने ।

गेटामा १ कात्तिक ०८० देखि स्वास्थ्य मन्त्रालयअन्तर्गत ५० शड्ढयाको अस्पताल सञ्चालन भइरहेको छ । त्यसमा पनि जनशक्ति र उपकरणको कमी छ । सरकारले ०६६ मा गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेको थियो । तर, मेडिकल कलेजका नाममा ०७३ देखि मात्र पूर्वाधार निर्माणको कामले गति पायो । गेटामा मेडिकल कलेज, विश्वविद्यालय वा प्रतिष्ठान कुन मोडेलमा सञ्चालन गर्ने भन्ने लामो समयको अन्योल चिर्दै दुई वर्षअघि सरकारले विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो ।