
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसिँचाइमन्त्री उमेशकुमार यादवले सीमा क्षेत्रमा जनता प्रहरी र तस्कर दुवैबाट असुरक्षित रहेको बताएका छन्। सप्तरीको राजगढमा प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु भएपछि बिहीबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
उनले प्रहरीकै मिलेमतोमा तस्करी हुने गरेको आरोप लगाउँदै भने, ‘प्रहरीको सेटिङमा तस्करी हुने गर्दछ। सादा पोसाकका घुमुवाहरू तथा स्थानीय युनिटसँग मिलेमतो हुने गर्छ भने ठुला तस्करहरूले सिधै माथिल्लो तहसम्म आफ्नो पहुँचका आधारमा सेटिङ मिलाएका हुन्छन्।’ उनले यसरी हुने लेनदेनमा ‘सम्प्रेषण नहुँदा’ वा ‘सम्मानजनक भागबन्डा नमिलेपछि’ समस्या उत्पन्न हुने गरेको उल्लेख गरेका छन्।
यादवले गृह प्रशासनको ‘औपनिवेशिक’ दृष्टिकोणले गर्दा सरुवामा नै मोटो रकम तोकिने गरेको र त्यसको पहिलो सिकार मधेशका जनता हुने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले यस घटनालाई प्रहरी प्रशासनको गलत नियतको परिणाम भनेका छन्।