
गत आर्थिक वर्ष ०८१/८२ मा नेपाल विद्युत् प्राधिकरणले नेपालबाट १७ अर्ब ४५ करोड ९९ लाख रुपैयाँबराबरको बिजुली निर्यात गरेको छ। भारत र बंगलादेशमा गरेर प्राधिकरणले सोबराबरको बिजुली निर्यात गरेको हो।
नेपाल विद्युत् प्राधिरकणको तथ्यांकअनुसार भारतमा १७ अर्ब १९ करोड ३२ लाख रुपैयाँ र बंगलादेशमा २६ करोड ६७ लाख रुपैयाँबराबरको विद्युत् निर्यात भएको छ।
गत आवमा भारतबाट १२ अर्ब ९२ करोड ३१ लाख रुपैयाँबराबरको विद्युत् आयात भएको छ। साेअनुसार गत आवमा विद्युत् व्यापारमा नेपाल चार अर्ब ५३ करोड ६८ लाख रुपैयाँले बचतमा देखिन्छ। यद्यपि, गत आवको अन्तिम तीन महिनाजति भारतले रातको समयमा विद्युत् कटौती गर्दा आयात घट्न गई यस्तो बचत बढ्न गएको देखिन्छ।
वैदेशिक विद्युत् व्यापारमा नेपाल अघिल्लो आव ०८०/८१ देखि नाफामा छ। यस्तो व्यापारमा अघिल्लो आव ०८०/८१ मा नेपाल १३ करोड रुपैयाँले बचतमा गएको थियो। त्यस आवमा १६ अर्ब ९२ करोडको विद्युत् आयात हुँदा निर्यात १७ अर्ब ६ करोड रुपैयाँको थियो। त्यसअघिका आवमा भने विद्युत् व्यापारमा नेपाल घाटामा थियो।
नेपालले भारतको इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा सन् २०२१ मे १ मा प्रवेश पाएको थियो। सुरुमा विद्युत् आयात अनुमति पाएको नेपालले सन् २०२१ नोभेम्बर ३ मा निर्यातकर्ताको रूपमा पनि प्रवेश पाएको थियो। हाल नेपालले भारतको मिडियम टर्म, डे अहेड र रियल टाइम मार्केटमा विद्युत् बिक्री गर्दै आएको छ।
अहिले भारतमा ९४१ मेगावाट विद्युत् निर्यात गर्ने अनुमति छ। त्यसमा हाल दैनिक सात सय मेगावाटभन्दा बढी विद्युत् निर्यात गरिरहेको छ। यस्तै, गत वर्षदेखि प्राधिकरणले बंगलादेशमा पनि विद्युत् निर्यात गर्न सुरु गरेको छ। बर्खामा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुने गर्छ।