मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १८ आइतबार
  • Sunday, 03 August, 2025
२o८२ श्रावण १८ आइतबार १३:१७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकारमाथि दुर्व्यवहार, घटनाको महासंघ र प्रेस सेन्टरद्वारा विरोध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १८ आइतबार १३:१७:oo

समाचार संकलनमा बोलाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरले पत्रकारमाथि दुर्व्यवहार गरेको छ । रास्वपा त्रियुगा नगरपालिकाको नगर अधिवेशनमा समाचार संकलनको गर्न बोलाएर पत्रकार राकेश नेपालीमाथि फोटो, भिडियो खिच्न नपाइने भन्दै दुर्व्यवहार गरेको हो ।

प्रेस सेन्टर नेपाल १ नं. प्रदेशका सचिव तथा कान्तिपुर राष्ट्रिय दैनिक उदयपुरका संवाददाता नेपालीलाई त्रियुगा नगर अधिवेशनको समाचार संकलन गर्ने क्रममा अपमान र दुर्व्यवहार भएको प्रेस सेन्टर उदयपुरका जिल्ला सचिव दिनेश राईले जानकारी दिए । उनले भने, ‘रास्वपाको नगर अधिवेशनको समाचार संकलन गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखामार्फत जिल्लाका पत्रकारहरूलाई बोलाइएको रहेछ । धेरै पत्रकारहरू जानुभएन छ । त्यसमा राकेशजी पुग्नुभएको रहेछ । समाचारका लागि फोटो भिडियो किन खिचेको भन्दै भन्दै दुव्यवहार गरेका रहेछन् ।’

शनिबार दिउँसो घटना घटेपछि पत्रकार नेपालीले प्रेस सेन्टर र पत्रकार महासंघ जिल्ला शाखालाई जानकारी गराएको बताए । उनले भने, ‘रास्वपाकी नेतृ सरिन तामाङले अधिवेशन स्थलमै क्यामेरा खोस्नुका साथै फोटो खिच्नसमेत अवरोध पुर्‍याएपछि म कार्यक्रम स्थल छाडेर फर्केका थिए ।’

उक्त घटनाप्रति प्रेस सेन्टर उदयपुरले घोर निन्दा गर्दै जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारकर्मीमाथि हुने यसप्रकारको अपमान र दुर्व्यवहारप्रति सेन्टर खेद प्रकट गर्दछ । कुनै पनि बहानामा पत्रकारलाई अपमान, दुर्व्यवहार गर्दै हतोत्साहित गर्नु र गराउनु प्रेस स्वतन्त्रतामाथिको (खुल्ला र चुनौतीपूर्ण) प्रहार र प्रतिशोध हो भन्ने प्रेस सेन्टरको ठहर हो ।’

सेन्टरले घटनाको निष्पक्ष छानबिन गर्न र दोषीमाथि कडा कानुनी कारबाही गरी सिंगो प्रेस जगतलाई पेसाप्रति प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग पनि गरेको छ । यता नेपाल पत्रकार महासंघ शाखा उदयपुरले पनि विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेको छ । 

पत्रकार महासंघ उदयुरका सचिव तुलसीप्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रास्वपाले नगर अधिवेशनको समाचार संकलनका लागि नेपाल पत्रकार महासंघ उदयपुर शाखालाई संस्थागत निमन्त्रणा गरेको आधारमा पत्रकार नेपाली त्यहाँ पुगेका थिए । महासंघ यो घटनाप्रति कडा आपति र खेद प्रकट गर्दछ । कुनै पनि वहानामा पत्रकारलाई हत्तोत्साही गर्ने र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध यस प्रकारका घटानको विरोध गर्दै छानबिन र दोषीमाथि कारबाहीको माग गर्दछ ।’ रास्वपाको प्रथम त्रियुगा नगर अधिवेशन हिजो शनिबार त्रियुगा नगरपालिका– ३, मोतीगडास्थित होटल इम्पायर इनमा भएको थियो ।