
पहिरोका कारण अवरुद्ध बनेकाे केदारनाथको यात्रा शनिबारदेखि आंशिक रूपमा पुनः सुरु भएको छ। गत बुधबारको पहिरोले गर्दा बाटो बन्द भएपछि यात्रा स्थगित भएको थियो। सोनप्रयागमा रहेका नयाँ पत्रिकाकर्मी सौरभ यादवका अनुसार पहिरोका कारण बाटोमा अलपत्र परेका करिब पाँच हजारभन्दा बढी तीर्थयात्रीलाई स्थानीय प्रशासन र एनडिआरएफको टोलीले सकुशल उद्धार गरी सोनप्रयाग पुर्याएका थिए।
प्रशासनले तत्कालका लागि यात्रा बन्द गर्ने बताए पनि यात्रुहरूको सुविधाका लागि अहिले नयाँ व्यवस्था गरिएको छ। पहिरो गएको स्थानबाटै यात्रा गर्न मिल्ने गरी बाटो खुलाइएको छ। बाटो पूर्ण रूपमा नबने सम्मका लागि सोनप्रयागदेखि गौरीकुण्डसम्मको ५ किलोमिटर बाटो पैदल हिँडेर यात्रा गर्न सकिनेछ।
यस अघि सोनप्रयागदेखि गौरीकुण्डसम्म गाडीबाट जाने गर्थ्यो । गौरीकुण्डबाट केदारनाथसम्मको २२ किलोमिटरको दूरी पनि पैदल नै तय गर्नुपर्नेछ। यस वर्ष हालसम्म १४ लाखभन्दा बढी भक्तजनले केदारनाथको दर्शन गरिसकेका छन्।
केदारनाथको मन्दिर प्रत्येक वर्ष वैशाख १९ गते खुल्छ र भाइटीकाको दिन कात्तिक १७ गते बन्द हुन्छ। यो मन्दिर वर्षमा ६ महिना मात्र खुला रहन्छ।