
नेपाल–चीनको सिमानामा अवस्थित ल्हेन्दे खोलामा गएराति पुनः आएको बाढीले स्याफ्रुबेँसी-रसुवागढी सडकमा क्षति पुर्याएको छ । बन्द सडक खुलाउन काम सुरु भइसकेको जनाइएको छ ।
ल्हेन्दे खोलामा आज बिहान आएको बाढीले गत असार २४ गतेको बाढीबाट जोगिएको टिमुरे सुक्खा बन्दरगाहको माटो बगाएको र नदी कटानले सडकमार्ग क्षति भएका कारण साना–ठुला सबै प्रकारका सवारीसाधन टिमुरे खण्डको आवतजावत पूर्ण रूपमा बन्द भएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।
जिल्ला विपत् व्यवस्थापनका अध्यक्षसमेत रहेका उनले चिनियाँ भूभागमा भारी वर्षा भइरहेका कारण पटकपटक आउने बाढीप्रति पूर्वसावधानी अपनाउँदै नदीकिनारको तटीय क्षेत्रमा बसोबास नगर्न जिल्लावासीलाई आग्रहसमेत गरे ।
गएरातिको बाढीले सडक संरचनाबाहेक अन्य धनजनको क्षति नभएकोसमेत प्रजिअ पौडेलले जानकारी दिए। ल्हेन्दे खोलाको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढ्दै छ भन्ने जानकारी गएराति नै तटीय क्षेत्रमा जानकारी गराइएको थियो ।