
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र उद्योग स्थापना गर्न कोशीका उद्योगीलाई आग्रह गरेको छ । मधेश प्रदेशको राजविराजस्थित उक्त औद्योगिक क्षेत्रभित्र मझौला तथा साना उद्योग स्थापना गर्न कम्पनीले कोशीका उद्योगीसँग यस्तो आग्रह गरेको हो ।
बुधबार विराटनगरमा कोशीका उद्योगीसँग छलफल गर्दै कम्पनीका अध्यक्ष बाबुराम पन्तले ८९.९१ रोपनी जग्गा विकसित गरिएको जानकारी दिँदै त्यहाँ उद्योग स्थापना गर्न आग्रह गरे ।
छलफलका क्रममा अध्यक्ष पन्तले औद्योगिक क्षेत्रभित्र न्यूनतम पाँचदेखि अधिकतम आठ रोपनीसम्मका प्लट, कालोपत्रे सडक, २४सै घण्टा विद्युत् आपूर्ति तथा छुट्टै सबस्टेसनको सुविधा रहेको जानकारी दिँदै उद्योग प्रयोजनका लागि ४० वर्षको लिज सम्झौता गर्न सकिने बताए । उनका अनुसार जमिनको भाडा प्रतिरोपनी वार्षिक १३ हजार आठ सय ९१ रुपैयाँ ५० पैसा तय गरिएको छ ।
गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रका प्रमुख मनीषकुमार मिश्रले जग्गा, भवन बहाल लिन इच्छुक उद्योगी व्यवसायीहरूले २१ साउन सम्म प्रस्ताव पेस गर्न सक्ने जानकारी गराए ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले अहिले निजी क्षेत्रले उद्योग स्थापना गर्न आवश्यक पूर्वाधार विकासमा ठुलो रकम खर्च गर्नुपरिरहेकाले मधेशमा विशेष औद्योगिक क्षेत्र स्थापना भएकोमा खुसी व्यक्त गरे । साथै, कोशी प्रदेश, सुनसरीको बर्जु गाउँपालिकाको अमडुवामा तत्काल नेसनल टे«डिङको ६ सय बिघा जमिन रहेको भन्दै त्यहाँ पनि विशेष औद्योगिक क्षेत्र स्थापनाका लागि पहल गरिदिन आग्रह गरे ।