
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा बुधबार स्वस्थ शिशु प्रतिस्पर्धा हुँदै छ । शिशुको वृद्धि विकास, सरसफाइ, स्तनपान, स्याहारसुसारलगायत अवस्था हेर्न र शिशुलाई स्वस्थ राख्न यस्तो प्रतिस्पर्धा आयोजना गरिएको हो । अस्पतालको आयोजनामा हुन लागेको प्रतिस्पर्धामा भाग लिन १०२ जना अभिभावकले नाम दर्ता गराएका छन् । अस्पतालले आयोजना गर्न लागेको यो ६१औँ प्रतिस्पर्धा हो ।
अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार शिशुमा पोषणको अवस्था, शारीरिक–मानसिक अवस्था र अन्य वृद्धि विकासको अवस्थालाई हेरिनेछ । जुन बच्चा स्वस्थ र राम्रो वातावरणमा हुर्किएको छ, त्यस्ता बच्चा यस्तो प्रतियोगिताबाट छनोट हुनेछन् ।
‘भर्खर जन्मिएकादेखि एक वर्षसम्मका शिशुहरूको वृद्धि विकास, उमेरअनुसारको तौल, शारीरिक साथै मानसिक विकासको अवस्थालगायत पक्ष हेरिन्छ,’ उनले भने, ‘शिशुको स्वास्थ्य अवस्था र वृद्धि विकास कस्तो छ भनेर पत्ता लगाउन पनि यसले मद्दत गर्छ, प्रतिस्पर्धामा आएपछि अभिभावकले पनि शिशु स्याहारमा बढी ध्यान दिनुहुन्छ ।’
त्यस्तै, शिशुको अवस्था र हुर्काइबारे आमासँग पनि सोधपुछ गरिनेछ । प्रतिस्पर्धामा भाग लिएका शिशुको स्वास्थ्य जाँचपछि के–के कुराको कमी छ, त्यसमा सुधार गर्न वा ध्यान दिने भन्नेमा सुझावसमेत दिइनेछ ।
अधिकारीका अनुसार प्रतियोगिता तथा प्रतिस्पर्धा आयोजना गर्नुको मुख्य उद्देश्य शिशुको माइलस्टोन, ब्रेस्ड फिडिङ, आमाको फुड सप्लिमेन्ट, पाउडर तथा फर्मुला मिल्क सेवनलगायतको अवस्था हेरिने छ ।