मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १४ बुधबार
  • Wednesday, 30 July, 2025
२o८२ श्रावण १४ बुधबार o६:१o:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

डेढ दशकमा बन्यो राष्ट्रिय गौरवको रानीजमरा सिँचाइ आयोजना

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १४ बुधबार o६:१o:oo
  • कैलालीमा १४ हजार तीन सय हेक्टरमा विस्तार भएको सिँचाइ, जानकी गाउँपालिका– ९, कटासेमा निर्मित विद्युतगृह तथा विद्युत् प्रसारणलाइनको प्रधानमन्त्री केपी ओलीले मंगलबार उद्घाटन गरे

प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन गरेका छन् । आयोजनाअन्तर्गत कैलालीमा १४ हजार तीन सय हेक्टरमा विस्तार भएको सिँचाइ, जानकी गाउँपालिका– ९, कटासेमा निर्मित विद्युत्गृह तथा विद्युत् प्रसारणलाइनको सोमबार उद्घाटन गरेका हुन् ।

आयोजनाअन्तर्गत ४.७१ मेगावाट क्षमताको जलविद्युत् योजनाको डेढ वर्षअघि नै निर्माण सम्पन्न भएर विद्युत् उत्पादन भइरहेको छ । ०८० बाटै विद्युत् उत्पादन सुरु गरिएकोमा राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । सिँचाइतर्फको काम भने पूरा भएको छैन । ०६६/६७ मा सुरु भएको रानीजमरा कुलरिया आयोजनाले कैलालीमा ३८ हजार तीन सय हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य लिएको छ । त्यसमध्ये अहिले २० हजार तीन सय हेक्टरलाई लक्षित गरेर काम भइरहेको छ । 

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर वीरसिंह धामीले समग्र भौतिक प्रगति ७४.७६ प्रतिशत र वित्तीय प्रगति ६९.५५ प्रतिशत रहेको जानकारी दिए । उनले १४ हजार तीन सय हेक्टरमा बाह्रै महिना सिँचाइ सुविधा हुने गरी मूल र शाखा नहर निर्माणको काम पूरा भएको बताए । त्यसका लागि नौ किलोमिटर लामो मूल नहर, ११ किलोमिटर फिडर नहर, तीनवटा शाखा नहर, ५२ वटा उपशाखा नहर निर्माणको काम पूरा भएको आयोजना कार्यालयले जनाएको छ । रानीजमरा कुलरिया खण्डतर्फ मूल नहर, शाखा, उपशाखा नहर, फिडर नहर गरी करिब ७४ किलोमिटर नहर निर्माणको काम पूरा भएको सिनियर डिभिजनल इन्जिनियर धामीले जानकारी दिए । ती संरचनाबाट अहिले १४ हजार तीन सय हेक्टरमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको उनले बताए ।

लम्की विस्तार खण्डतर्फ बाँकी ६ हजार हेक्टरमा सिँचाइ सुविधा विस्तारका लागि नहर निर्माणको काम पूरा भएको छैन । लम्कीतर्फ करिब साढे १४ किलोमिटर लामो मूल नहर निर्माणको काम पूरा भए पनि शाखा नहर र खण्डहरू गरी नौ किलोमिटर नहर बन्न बाँकी रहेका धामीले बताए । त्यसका लागि जग्गा अधिग्रहणको काम पनि पूरा भएको छैन । सुरुमा ४० करोड मुआब्जा दिनुपर्ने आकलन गरिएकोमा अहिले करिब तीन अर्ब पुगेको अनुमान आयोजनाको छ ।

आयोजना कार्यालयका अनुसार सुरुवातमा १४ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा विस्तारको लक्ष्यसहित काम भए पनि सन् २०१८ देखि थप ६ हजार हेक्टरमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्यसहित काम सुरु भएको थियो । बाँकी करिब १८ हजार हेक्टरमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्यसहित यसै वर्षबाट काम सुरु गर्ने योजना रहेको आयोजना कार्यालयले जनाएको छ । ‘सुरुमा १४ हजार तीन सय हेक्टरलाई लक्षित थियो, त्यसपछि ६ हजार थपियो,’ आयोजना पूरा नहुँदै उद्घाटन गरिएकोबारे उनले भने, ‘थप खण्डका लागि यसै वर्षबाट काम भइरहेको छ । पहिलो खण्डको काम पूरा भएकाले उद्घाटन गरिएको हो ।’

सुरुमा १४ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा विस्तार गर्ने गरी आयोजनाको लागत १२ अर्ब ३७ करोड ७५ लाख रुपैयाँ थियो । पछि ६ हजार हेक्टर थपिएपछि २७ अर्ब ७० करोड २४ लाख पुगेको थियो । तर, निर्धारित अवधिमा काम पूरा नभएपछि अहिले आयोजनाको लागत बढेर २९ अर्ब ५९ करोड ७७ लाख पुगेको छ । सिनियर डिभिजन इन्जिनियर धामीले हालसम्म २० अर्ब ५८ करोड ५६ लाख रुपैयाँ खर्च भएको जानकारी दिए ।

१४ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा विस्तार गर्न ०६६/६७ मा सुरु भएको आयोजना ०७४/७५ मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । पछि लक्षित क्षेत्र ६ हजार हेक्टर थपिएपछि सम्पन्न हुने अवधि ०८०/८१ पुर्‍याइएको थियो । आर्थिक वर्ष ०८१/८२ मा समेत काम पूरा नभएपछि ०८५/८६ मा काम सक्ने लक्ष्य लिइएको छ । 

सिनियर डिभिजनल इन्जिनियर धामीले लम्की विस्तार खण्डको करिब नौ किलोमिटर लामो नहर निर्माणका लागि मुआब्जा निर्धारण भइसकेको उल्लेख गर्दै चालू आर्थिक वर्षभित्रै निर्माणको काम सुरु हुने बताए ।

आयोजनाअन्तर्गत विद्युत्गृह निर्माणसँगै सिँचाइ सुविधा विस्तारका लागि नहर निर्माण, नदी कटान नियन्त्रण गर्न तटबन्ध निर्माण, सडक, पुल र कल्भर्ट निर्माण भइरहेका छन् । रानीजमरा कुलरिया सिँचाइ आयोजनाको इन्टेक चिसापानीस्थित कर्णाली नदीमा निर्माण गरिएको छ । साढे ६ किलोमिटर विद्युत् प्रसारणलाइन, सिँचित क्षेत्र बचाउन नदी नियन्त्रण कार्यक्रमअन्तर्गत विभिन्न ठाउँमा ८० किलोमिटर लामो तटबन्ध, २४५ किलोमिटर लामो ग्रामीण सडक स्तरोन्नति, ७५ वटा पानी वितरण गर्ने संरचना निर्माण गरिएका छन् । १२० वर्षअघिको स्थानीय किसानको सामूहिक प्रयास र परम्परागत सीपबाट सुरु भएको रानीजमरा कुलरिया सिँचाइ प्रणालीलाई आधुनिक स्वरूपमा विस्तार गरिएको हो ।

रानीजमरा कुलरिया सिँचाइ ऐतिहासिक उपलब्धि : प्रधानमन्त्री

उद्घाटनपछि रानीजमरा कुलरिया सिँचाइ आयोजनाको मूल नहर अवलोकन गर्दै प्रधानमन्त्री केपी ओली

प्रधानमन्त्री केपी ओलीले रानीजमरा कुलरिया सिँचाइ आयोजना नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि भएको बताए । कृषि उत्पादन वृद्धि, ऊर्जामा आत्मनिर्भर र खाद्य सुरक्षामा आयोजनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो । ‘आयोजनाले यस क्षेत्रको ग्रामीण जीवनशैली, कृषि उत्पादन, ऊर्जा आत्मनिर्भरता र खाद्य सुरक्षासँगै समृद्धिको मार्गचित्र देखाएको छ,’ उनले भने । आयोजनाअन्तर्गत तेस्रो चरणको कामका लागि विश्व बैंकसँग ऋण लिने निर्णय सरकारले गरेको प्रधानमन्त्री ओलीले बताए ।

३८ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्यसहित रानीजमरा कुलरिया सिँचाइ आयोजनाको तेस्रो चरणको निर्माणका लागि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट ऋण लिने निर्णय गरेको उनले बताए । प्रधानमन्त्री ओलीले देशमा परिर्वतन ल्याउन योगदान गरेका दुई ठुला दल मिलेर बनेको सरकारले स्थिरता, स्थायित्व कायम गर्ने गरी काम गरिरहेको दाबी गरे ।

ऊर्जामन्त्री दीपक खड्काले सरकारले पश्चिम सेती, पञ्चेश्वर, कर्णालीजस्ता सुदूरपश्चिमका ठुला जलविद्युत् आयोजना निर्माणको काम सरकारले अघि बढाएको बताए ।