मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १४ बुधबार
  • Thursday, 31 July, 2025
२o८२ श्रावण १४ बुधबार २o:o७:oo
Read Time : > 1 मिनेट
अर्थ

सञ्चालनमा आयाे ७० करोड लागतको बगैँचा रिसोर्ट एन्ड स्पा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १४ बुधबार २o:o७:oo

पोखराको प्रमुख पर्यटकीय स्थल लेकसाइडमा ७० करोड लागतमा निर्माण भएको नयाँ होटेल सञ्चालनमा आएको छ । अंशुभरा ग्रुपले पोखरा लेकसाइडस्थित बाराहीचोकनजिकै निर्माण गरेको बगैँचा रिसोर्ट एन्ड स्पा बुधबारदेखि सञ्चालनमा ल्याएको हो । बुधबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले रिसोर्टको उद्घाटन गरेकी हुन् । 

चार रोपनी क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा ३२ वटा कोठा, चार प्रकारका लक्जरी सुइट (स्ट्यान्डर्ड, एक्जिक्युटिभ, आर्बर सुइट, बगैँचा सुइट) रहेका छन् । कोठाहरूको दैनिक मूल्य १५० डलरदेखि ३५० डलरसम्म रहेको ग्रुपका प्रबन्ध निर्देशकसमेत रहेका रिसोर्ट एन्ड स्पाका सञ्चालक सौगात थापाले जानकारी दिए ।

रिसोर्टभित्र फरक तीनवटा ‘टारो पुलसाइड बार’, ‘मरिच इन्डो–चाइनिज रेस्टुरेन्ट’सँगै ‘उमामी प्यान–एसियन रेस्टुरेन्ट’ सञ्चालनमा रहेका र प्रत्येकले फरक–फरक स्वादमा बहुराष्ट्रिय विविधता ल्याउने थापाको भनाइ छ । रिसोर्टमा आफ्नै फार्ममा उत्पादित विभिन्न खानेकुराहरू प्रयोग गरिने उनले बताए ।

शून्य प्लास्टिक नीति लिएको रिसोर्टमा काठ, ढुंगा, हस्तकला, महिला उद्यमी, एकल महिलाले तयार गरेको उत्पादनसँगै राउटे समुदायका परम्परागत भाँडाकुँडा प्रयोगसमेत गरिएको र यसले गर्दा सांस्कृतिक संरक्षणको जीवित थलोको रूपमा समेत रिसोर्टलाई चिनाउने उनले जानकारी दिए ।

ग्रुपका अध्यक्षसमेत रहेका गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले स्वदेशमै केही गनुपर्छ भन्ने सोचका साथ अघि बढेको र सोहीअनुसार ग्रुपले हस्पिटालिटी, रियल स्टेट, व्यावसायिक मल, अटोमोबाइल र कृषिलगायत विभिन्न क्षेत्रमा लगानी विस्तार गरेको बताए । 

विदेशमा जसरी मिहिनेत गरे नेपालमा राम्रो सम्मान र इज्जत पाइन्छ : परराष्ट्रमन्त्री  

 रिसोर्ट उद्घाटनपछि परराष्ट्रमन्त्री देउवाले विदेशमा जसरी नेपालमै मिहिनेत गरे दामसँगै सम्मान र इज्जत पाइने बताइन् । रिसोर्ट सञ्चालनमार्फत स्वदेशमा केही गर्नुपर्छ भन्ने सन्देशसमेत युवाहरूलाई दिन खोजिएको भन्दै राणाले विदेशमा गरिने मिहिनेतले केवल पैसा मात्र आर्जन हुने, तर स्वदेशमा पैसासँगै इज्जत पनि प्राप्त हुने बताइन् । 

पोखराको सुन्दरताको वर्णन गर्दै उनले आफू बाल्यकालमै पोखरा आएको र अहिले ६ दशक उमेर नाघिसक्दा पनि पोखराको सुन्दरताले मेहित बनाउने बताइन् ।