
पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको भाडादर वृद्धि गर्ने आयल निगम सञ्चालक समितिको निर्णयले आमउपभोक्ता महँगीको मारमा पर्ने भएका छन्।
गत शुक्रबारको सञ्चालक समितिले इन्धन ओसार्ने ट्यांकरको ढुवानी भाडादर ४.७५ प्रतिशतदेखि ५.९० प्रतिशतसम्म बढाउन गरेको निर्णय निगम व्यवस्थापनले कार्यान्वयनको गृहकार्य गरिरहेको छ । निगम व्यवस्थापन र ट्यांकर साहुको स्वार्थमा वृद्धि गरिएको भाडादर उपभोक्ता मूल्यमा जोडेर असुल्ने गरिएको छ। त्यसैले, वृद्धि भएको ढुवानी भाडादरका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्ने भन्दै उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले चिन्ता व्यक्त गरे।
‘आयल निगमले उपभोक्ता हितका लागि कहिल्यै निर्णय गर्न सकेको छैन। अहिले पनि ट्यांकर साहूको स्वार्थपूर्ति गर्न भाडादर बढ्दा देशभरका उपभोक्ताले मार खेप्नुपर्ने स्थिति सिर्जना भएको छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष तिमिल्सिनाले भने। बढ्दो महँगीबाट आक्रान्त उपभोक्तालाई राहत दिनुपर्ने दायित्वबाट पन्छिएर सरकारी स्वामित्वको निगमले विनाकारण ढुवानी भाडा बढाएको उनले बताए।
‘विभिन्न अध्ययन समितिले अहिले कायम ढुवानी भाडादर नै बढी भएकाले घटाउन सिफारिस गरेका छन् । तर, निगम उल्टो बाटो हिँडेर ढुवानी भाडा वृद्धि गर्दै हिँड्छ भने उपभोक्ताहरू एकजुट भएर प्रतिकारमा उत्रनुपर्छ,’ उनले भने ।
हाल बरौनी–काठमाडौं रुटमा चल्ने ट्यांकरले पेट्रोल ओसार्दा प्रतिलिटर करिब ६ रुपैयाँका दरले ढुवानी भाडा पाउने गरेका छन् । यो हिसाबले एउटा ट्यांकरले भारतको बरौनीदेखि काठमाडौंसम्म तेल ओसार्दा एकपटकमा औसत १ लाख २० हजा रुपैयाँ भाडाबापत बुझ्दै आएका छन्। यो भाडादर अवैज्ञानिक र बढी भएको भन्दै निगम व्यवस्थापन बारम्बार आलोचित भइरहेको छ ।
अनावश्यक ट्यांकर विस्थापन गर्ने विकल्प प्रयोग गर्दै निगम
आयल निगमले पेट्रोलिमय पदार्थ ढुवानीका लागि १८ सयभन्दा बढी ट्यांकरसँग करार सम्झौता गरेको छ। तर, पाइपलाइनबाट पेट्रोल, डिजेल र मट्टीतेल आयात सुरु भएकाले भारतबाट इन्धन ढुवानी गर्ने रुटमा धेरै ट्यांकर विस्थापित भइसकेका छन् । तर, निगमले पुरानो करार सम्झौता रद्द गरेर आवश्यक संख्यामा मात्रै ट्यांकर परिचालन गर्न सकेको छैन ।
निगम स्रोतका अनुसार अहिले बढीमा १ हजार ट्यांकर भए देशभर इन्धन ढुवानी गर्न सकिन्छ । ‘अहिले आर्थिक वर्षको सुरुवाती चरण नै रहेकाले एक अध्ययन गरेर चाहिने संख्यामा मात्रै ट्यांकर राख्ने नीति लागू गर्नुपर्छ,’ स्रोतले भन्यो, ‘यसो गर्न सकियो भने करार सम्झौता भएका ट्यांकरले धेरै ट्रिप पाउँछन् र ढुवानी भाडा बढाउने विवादास्पद काम गरेर बस्नुपर्दैन।’
पाइपलाइन सञ्चालनमा आउनुअघि मासिक ८–९ ट्रिपसम्म तेल ओसार्ने ट्यांकरहरू अहिले २–३ पटक मात्रै तेल ओसार्ने काममा प्रयोग भइरहेका छन् । थोरै काम भएपछि धेरै ढुवानी भाडा मागेर ट्यांकर साहूहरूले सञ्चालन खर्च धान्न खोजिरहेको स्रोतको भनाइ छ।