मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १२ सोमबार
  • Monday, 28 July, 2025
२o८२ श्रावण १२ सोमबार १o:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आफ्नै दाजुको हत्या गरी फरार भाइ सीमावर्ती गाउँबाट पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १२ सोमबार १o:o७:oo

आपसी विवादको क्रममा चार दिनअघि धारिलो हतियार प्रहार गरी दाजुको हत्या गरी फरार भएका भाइलाई प्रहरीले भारततर्फ भाग्दै गरेको अवस्थामा सीमावर्ती गाउँबाट पक्राउ गरेको छ । 

सिराहाको गोलबजार नगरपालिका मुसहर्निया पुराण्डिह गाउँका करिब २५ वर्षीय भुट्का भनिने श्यामकुमार सदालाई सिराहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका– ३, जमुवास्थित नहरको बाटो हुँदै भारतर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ गरिएका सदालाई आइतबार सिराहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई इलाका प्रहरी कार्यालय गोलबजारमा राखेर थप अनुसन्धान भइरहेको छ।

गाउँमा मदिरा सेवन गरेर घर फर्किएका सदाले गत बिहीबार साँझ १९ वर्षीया श्रीमती कौशिला सदालाई कुटपिट गर्न थालेपछि छुट्याउन गएका सहोदर दाजु करिब ३५ वर्षीय लेलहा भनिने मोतीराम सदाको छातीमा धारिलो हतियार प्रहार गरेका थिए। हतियार प्रहारबाट गम्भीर घाइते भएका सदालाई तत्काल छिमेकीले लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल पुर्‍याएको  भए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनालगत्तै हतियारसहित फरार भएका भाइलाई खोजतलास गर्ने क्रममा भारतीय सीमाभन्दा करिब तीन किलोमिटरभित्र रहेको जमुवा गाउँबाट पक्राउ गरिएको हो ।