
अर्को वर्ष थाइल्यान्डले एएफसी यू–२० महिला एसिया कप फुटबल प्रतियोगिता आयोजना गर्दै छ । एसियन फुटबल महासंघ (एएफसी)ले छनोट खेलको ‘ड्र’ सार्वजनिक गरेको छ । जसमा नेपाल समूह ‘ए’मा छ । नेपालको समूहमा साबिक विजेता उत्तर कोरिया, साउदी अरेबिया र भुटान छन् । ‘ए’देखि ‘एच’सम्मको समूहका शीर्ष टोलीले थाइल्यान्डमा हुने प्रतियोगितामा स्थान सुरक्षित गर्नेछन् ।
मंगोलियाले ‘ड्र’लगत्तै नाम फिर्ता लिएको छ । एएफसीले आठै समूहबाट उत्कृष्ट तीन टोलीलाई अन्तिम चरणमा प्रवेश गर्ने प्रावधान बनाएको छ । समूह ‘ए’को छनोट खेल भुटानमा हुनेछ । भुटानले ६ अगस्टदेखि छनोट खेल आयोजना गर्नेछ । नेपाल र भुटानले हालै मात्र एएफसी यू–२० साफ महिला च्याम्पियनसिपमा भाग लिएका थिए । जसमा नेपाल उपविजेता र भुटान तेस्रो भए ।
नेपाली यू–२० महिला टोलीले अब तीन सातापछि भुटानमा अर्को अन्तर्राष्ट्रिय एक्सपोजर पाउनेछ । लामो समयपछि नेपालले दक्षिण एसिया क्षेत्रपछि एसियाली राष्ट्रसँग प्रतिस्पर्धा गर्न लागेको हो । अझ उत्तर कोरियाजस्तो तीनपटकको फिफा विश्वकप विजेतासँग नेपालले प्रतिस्पर्धा गर्ने अवसर पाएको छ । नेपालका लागि उत्तर कोरिया र साउदी अरेबिया नयाँ प्रतिद्वन्द्वी हुन् । दुई वर्षअघि मात्र साउदी अरेबियाको यू–२० महिला टोली स्थापना भएको हो । साउदी अरेबियाले आधिकारिक रूपमा एएफसीले आयोजना गर्ने माथिल्लो स्तरको प्रतियोगितामा सहभागिता जनाएको छैन । उत्तर कोरियाले छनोट प्रतियोगिताका लागि सन् २०२४ को विश्व च्याम्पियन टोलीका २१ खेलाडीलाई समावेश गरेको छ ।
नेपालका प्रतिद्वन्द्वी
उत्तर कोरिया
उत्तर कोरिया समूहकै सबैभन्दा बलियो राष्ट्र हो । उत्तर कोरिया सरकारले उमेर समूहमा राम्रो लगानी गरेको छ । पुरुष र महिलामा उत्तर कोरियाको अन्तर्राष्ट्रिय सहभागिता पनि लोभलाग्दो छ । अझ महिलातर्फ उत्तर कोरिया एसियाकै नम्बर एक राष्ट्र हो । महिला यू–२० विश्वकप तथा एसिया कपमा उत्तर कोरिया सधैँ उपाधि दाबेदारका रूपमा प्रस्तुत हुने गर्छ । फिफाले सन् २००२ देखि यू–२० महिला विश्वकप आयोजना गरेको हो । उत्तर कोरियाले कीर्तिमानी रूपमा तीनपटक यो ट्रफी उचालेको छ ।
पहिलो दुई संस्करणमा उत्तर कोरिया छनोट भएन । तर, सन् २००६ मा उत्तर कोरियाले विश्वकप उपाधि नै जित्यो । सबैलाई आश्चर्यचकित बनाएको उत्तर कोरियाले रसियामा भएको विश्वकपमा ६ खेलमा शतप्रतिशत जित निकाली विश्व च्याम्पियन ट्रफी जित्यो । दोस्रोपटक विश्वविजेता बन्न उत्तर कोरियाले १० वर्ष प्रतीक्षा गर्यो । यद्यपि, सन् २००८ मा ब्याक टु ब्याक फाइनलमा पुगे पनि उसले उपाधि रक्षा गर्न सकेन । सन् २०१६ मा पपुवा न्युगिनीमा भएको विश्वकपमा एकपटक उत्कृष्ट प्रदर्शन गरी उत्तर कोरियाले ट्रफी हात पार्यो । यसपटक उत्तर कोरिया ६ खेलमै अपराजित रह्यो । सन् २०२४ मा सात खेलमा जित निकाली उत्तर कोरियाले विश्वकप जित्यो ।
उमेर समूहको विश्वकपमा उत्तर कोरिया सर्वाधिक सफल टोली हो । समग्र यू–२० विश्वकपमा उत्तर कोरियाले ३२ जित र १० हारको सामना गरेको छ । एएफसी यू–२० च्याम्पियनसिपमा भने उत्तर कोरिया दुईपटक च्याम्पियन बनेको छ । सन् २०२४ मा उज्वेकिस्तानमा भएको प्रतियोगितामा उसले पाँचमध्ये चार खेलमा जित निकाली ट्रफी हात पारेको थियो । सन् २००७ मा उत्तर कोरियाले पहिलोपटक एएफसी यू–२० महिला एसिया कप जितेको थियो । एसिया कपमा उत्तर कोरियाले अहिलेसम्म ५६ मध्ये ४३ खेलमा जित निकालेको छ ।
साउदी अरेबिया
साउदी अरेबियाको उमेर समूहको महिला टोलीको इतिहास धेरै पुरानो होइन । सन् २०२३ को डिसेम्बरमा साउदी अरेबिया फुटबल संघले यू–२० महिला राष्ट्रिय टोली बनाएको हो । यसअघि, यू–१७ महिला टोलीले विभिन्न अन्तर्राष्ट्रिय पु्mटबल प्रतियोगितामा भाग लिएको थियो । यू–१७ भन्दा माथिको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा निरन्तर सहभागी हुने लक्ष्यका साथ साउदीले दुई वर्षअघि मात्र टोली बनाएको हो । गत वर्ष महिला टोलीले पहिलो अन्तर्राष्ट्रिय खेल्यो । स्कटल्यान्डकी पूर्वखेलाडी पाउलिन हामिलको प्रशिक्षणमा साउदी अरेबियाले प्रशिक्षण गरिरहेको छ । उनकै प्रशिक्षणमा साउदी अरेबियाको यू–२० महिला टोलीले एक वर्षभित्र पाँचवटा मैत्रीपूर्ण खेल खेल्यो । जसमा साउदी अरेबियाले तीनमा हार र दुईमा जित निकालेको छ ।
भुटान
नेपालको समूहमा कमजोर राष्ट्र भुटान हो । आयोजकका रूपमा भुटानले घरेलु मैदान र समर्थकको फाइदा लिन सक्छ । एएफसी महिला यू–२० एसिया कपमा भुटानले सन् २००२ देखि छनोट खेलेको हो । तर, एकपटक पनि भुटान अन्तिम चरणमा पुग्न सकेन । पछिल्लो दुई संस्करणको छनोटमा भुटानले भाग नै लिएन । भुटानले विशेषगरी दक्षिण एसियाली क्षेत्रमा केन्द्रित बनाएको छ । यसै सोमबार बंगलादेशमा भएको साफ यू–२० च्याम्पियनसिपमा भुटानको प्रदर्शन कमजोर रह्यो ।