
कञ्चनपुरको दोधारा–चाँदनीमा सुक्खा बन्दरगाहको काम सुरु भएको छ। दोधारा-चाँदनी नगरपालिका– १, चाँदनीमा सुक्खा बन्दरगाहको काम सुरु भएको हो। भारतीय लगानीमा निर्माण हुने सुक्खा बन्दरगाहको ठेक्का पनि भारतीय निर्माण कम्पनी सिओएमटी कस्ट्रक्सन प्रालिले लिएको छ।
नेपाल सरकारले सुक्खा बन्दरगाह निर्माणस्थलको जमिनमा रहेका रुख हटाएपछि भारतीय निर्माण कम्पनीले मंगलबारदेखि काम सुरु गरेको हो। सुक्खा बन्दरगाह निर्माणका लागि गौरीशंकर सामुदायिक वनमा रहेका झन्डै १५ सय रुख काटेर खाली गराइएको थियो। नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले नेपाली पक्षबाट रुख काटेर जमिन खाली गराएर सुक्खा बन्दरगाह निर्माणको जिम्मा पाएको भारतीय निर्माण कम्पनीलाई साइट देखाएको बताए।
‘४२.३६ हेक्टर क्षेत्रफल रहेको सुक्खा बन्दरगाहमा पहिलो चरणमा २५ हेक्टरमा मात्रै संरचना निर्माण हुनेछ,’ उनले भने, ‘जिम्मा पाएको कम्पनीले अहिलेदेखि नै काम सुरु गरेको छ, जरा निकाल्ने कामदेखि व्यवस्थापन हुनेछ।’ वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) र आइइई तयार भइसकेको बताउँदै उनले साइट क्लियरेन्सको कार्य सम्पन्न भएसँगै भारतीय पक्षले काम सुरु गरेको बताए। उक्त कम्पनीले गोदाम, भन्सार जाँच, क्वारेन्टाइन, इमिग्रेसन, सुरक्षालगायत भौतिक पूर्वाधारका भवन निर्माण गर्नेछ।
सुक्खा बन्दरगाह निर्माणका लागि भारतीय र नेपाल सरकारबिच १ जुन २०२३ मा सम्झौता भएको थियो। सिओएमटी कस्ट्रक्सन प्रालिका म्यानेजिङ डाइरेक्टर सुनील शर्माले भारत सरकारको मापदण्डअनुरूप कामकाज अघि बढाउने बताए। उनका अनुसार झन्डै २ अर्ब ४० करोड लागतमा तीन वर्षभित्रै निर्माण कार्य सम्पन्न गरिनेछ।
सुदूरका युवा उद्यमी एवं औद्यौगिक तथा लगानी प्रवर्द्धन बोर्डसदस्य तेजबहादुर चन्दले सुक्खा बन्दरगाहकोे काम पूरा भएसँगै सुदूरको मात्रै नभई समग्र नेपालको आर्थिक विकासको ढोका खुल्ने बताए। उनले नेपालको सबैभन्दा छोटो दूरीमा रहेकोे नाका यही भएकाले सुक्खा बन्दरगाह निर्माण विकासको कोशेढुंगा साबित हुने बताए। ‘हामीले नाकाबाट सामान आयात मात्रै होइन, निर्यात पनि गर्ने हो,’ उनले भने, ‘महाकालीमा चार लेन पक्की पुल बनिसकेको अवस्थामा उत्तरमा चीन, दक्षिणमा भारतसँग त्रिदेशीय नाका जोड्नेछ।’ उनले उक्त नाका निर्माणसँगै एसियन मुलुकसँग नेपालको सिधै कनेक्टिभिटी हुने बताए।
कञ्चनपुरका युवा उद्यमी दिवाकर भट्टले देशकै छोटो नाकामा दोधारा-चाँदनी भएकाले यो निर्माणसँगै पश्चिम नेपालको औद्योगिक व्यावसायिक विकासमा टेवा पुग्ने बताए। सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिमको सम्भावनाको ढोका खुल्ने उनको भनाइ छ। भारतको राजधानी नयाँ दिल्ली र उत्तराखण्डस्थित औद्योगिक क्षेत्र रुद्रपुरसम्म सहज पहुँच हुने हुँदा सुदूरपश्चिमको विकासमा ठुलो योगदान मिल्ने अपेक्षा गरिएको बताए।
‘रुद्रपुर भारतकै ठुलो औद्योगिक क्षेत्र हो, नेपालको गड्डाचौकी नाकादेखि भारतको औद्योगिक क्षेत्र पुग्न दुई घण्टा लाग्छ, तर यति छोटो दूरीमा रहेको औद्योगिक क्षेत्रसँग सुदूरपश्चिमले अहिलेसम्म व्यापारिक कारोबार गर्न पाएको छैन,’ उनले भने, ‘सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आएपछि यस क्षेत्रको व्यापार विस्तारको ढोका खुल्छ।’
स्थानीय युवा प्रवीण बोगटीले अब सरकारले अन्यन्त्र योजनाभन्दा यही योजनामा ध्यान दिनुपर्ने बताए। उनले बन्दरगाहसँगै दैजी–छेला औद्योगिक क्षेत्र निर्माणलाई पनि अघि बढाउन सके सुदूरपश्चिमको विकास हुने बताए।