मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २८ शनिबार
  • Wednesday, 16 July, 2025
मेखराज उदय
२o८२ असार २८ शनिबार o८:५३:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नेपालमा जात व्यवस्था

तत्कालीन मूलवासी राजा वा शासकहरूसँग सम्झौता गरी जात व्यवस्था लागू गर्न सफल भए

Read Time : > 5 मिनेट
मेखराज उदय
नयाँ पत्रिका
२o८२ असार २८ शनिबार o८:५३:oo

नेपालमा जात व्यवस्था र छुवाछुत प्रथा अहिले पनि याथावतै छ । संविधान र कानुनी व्यवस्थाबमोजिम जात, समुदाय, धर्म, सम्प्रदाय आदिका आधारमा कोही कसैमाथि विभेद र छुवाछुत गर्नु दण्डनीय अपराध हो । यद्यपि, सर्वविदितै छ, कानुनी व्यवस्था समाजमा कार्यान्वयन हुन सकेको छैन । भारतबाट आयातीत यो महारोग नेपाल कसरी प्रवेश गर्‍यो ? यो प्रश्न अहं छ नै, तथापि आजको सरहदको नेपाल प्राचीन कालदेखि एकीकृत थिएन । सोहीअनुसार विभिन्न टुक्रे राज्यमा फरक–फरक कालखण्डमा जात व्यवस्था र छुवाछुत प्रथा भित्रिएको इतिहास छ । केही सय वर्षअघि मात्रै मुगल शासकको क्रूरता, अत्याचारबाट प्रताडित भई छिमेकी मुलुक भारतबाट नेपालखण्डतर्फ प्रवेश गरेका ब्राह्मण पुरोहितहरूले खस, (कर्णाली) मगरात (हालको मस्र्याङ्दी नदीदेखि पश्चिम र राप्तीपूर्व) राज्य, नेवा: (काठमाडौं), मधेशका सलहेस राज्य तथा अन्त्यमा पूर्वका किराँत शासित राज्यहरू आदिमा प्रवेश गरेको इतिहास छ । उनीहरूको प्रवेशसँगै तत्कालीन मूलवासी राजा वा शासकहरूसँग सम्झौता गरी जात व्यवस्था लागू गर्न उनीहरू सफल भए । 

स्मरणीय के छ भने गोरखा राज्य विस्तारपूर्व नै यस क्षेत्रमा ब्राह्मण ‘धर्म’ र जात व्यवस्था, छुवाछुत प्रथा व्यापक रूपमा झांगिसकेको थियो । तथापि, ऐतिहासिक तथ्य भन्छ, राजा पृथ्वीनारायण शाह र उनका उत्तराधिकारी शाह राजाहरू यसका मुख्य जिम्मेवार हुन् । किनभने, नेपालको आर्य ब्राह्मण र खस (क्षत्रीय) दुई समुदायबिच सम्झौता बन्यो । जसअनुसार ब्राह्मण धर्म र खस राजाबिचको सम्झौताबमोजिम करिब अढाई सय वर्ष शासन सत्ता सञ्चालन गरियो । त्यसैको परिणाम नै राजतन्त्रात्मक हिन्दु अधिराज्य थियो । यसै सन्दर्भमा नेपाल कसरी बन्यो र यसको राजनीतिक, सामाजिक–सांस्कृतिक विविधता एवं विभेदी सम्बन्धबारे थप चर्चा गरौँ । 

इतिहासकार बाबुराम आचार्यका अनुसार नेवा:, नेवार हुँदै शब्दको अपभ्रंशबाट नेपाल शब्द बनेको हो । त्यस्तै, डा. सुनीतिकुमार चट्टर्जीको भनाइमा पनि नेपार र नेवार शब्द एकै हुन् । इए गाइतका अनुसार नेपालमा सन् १७६९ सम्म नेवारी यहाँको राजभाषा थियो । नेपाल शब्दको उल्लेख सर्वप्रथम अथर्व परिशिष्टमा भएको छ । त्यसपछि महाभारत, बृहस्पति अर्थसूत्र, कौटिल्यको अर्थशास्त्र र कुमुक भट्टले मनुस्मृतिको टीका (भाष्य)मा पनि प्रयोग गरेका छन् । समुद्र गुप्तको प्राचीन प्रयाग अभिलेख र नेपालका केही लिच्छवि राजाहरूको अभिलेखमा नेपालको प्रथम उल्लेख भएको पाइन्छ । (हाम्रो समाज: एक अध्ययन, जनकलाल शर्मा)

तथ्य के हो भने राजा जयस्थिति मल्ल (सन् (१३६०–१३९५)ले भारतबाट कट्टर ब्राह्मण कीर्तिनाथ उपाध्याय तथा मैथिल ब्राह्मण रघुनाथ झा, रामनाथ झा तथा दक्षिण भारतबाट श्रीनाथ भट्ट र महिनाथ भट्टलाई नेपाल (काठमाडौं उपत्यका)मा झिकाई चार वर्णबाहेकका पञ्चम जातिलाई पेसाका आधारमा ३६ भागमा विभाजन गरे । यहाँको बनिबनाउ समाजलाई विभाजन गरी छुवाछुत प्रथासमेत कठोरतापूर्वक लागू गरे । (डा. चन्द्रविक्रम बुढाथोकी, जयस्थिति मल्लको सुधार) ।

‘न्याय नपाए गोरखा जानू’ भन्ने सर्वव्यापक कथन नेपाली जनमा आजपर्यन्त सुन्न पाइन्छ । गोरखाली राजा राम शाह (सन् १६०५–१६३६) ले वर्ण व्यवस्थालाई बलियो पार्न चार वर्ण ३६ जातको व्यवस्था गरेका थिए । उनका अन्य सुधार तथा नियमसहित वर्ण व्यवस्था र छुवाछुत प्रथा लाद्नु उल्लिखित कथनको एक महत्वपूर्ण कारण र आधार हो ।

लेखक मोदनाथ प्रश्रितको ‘जातपात र छुवाछुत प्रथा: शास्त्रीय सन्दर्भ’का अनुसार नेपालको तराई, मधेश क्षेत्रमा इपू १००० तिर आजको नेपालको मिथिला क्षेत्र (पूर्वी तराई) का विदेह जनकवंशीलाई शास्त्रमा क्षत्रीय भनिएको र राजा जनकले ‘ब्रह्मसभा’ बोलाएको उल्लेख गरेकाले त्यतिवेला त्यस क्षेत्रमा वर्ण व्यवस्था थियो भनी मान्न सकिन्छ ।

यहाँ चर्चा गर्न खोजिएका तीन विषय हुन् । पहिलो– वर्ण, दोस्रो– जात र तेस्रो हो– नेपालमा वर्ण वा जात व्यवस्था कसरी र कहिले प्रवेश गर्‍यो । वर्ण शब्दले ब्राह्मण, क्षत्रीय, वैश्य र शूद्रलाई ग्रहण गर्छ, जसको प्रथम प्रयोग ऋग्वेदको पुरुष सूक्तमा गरिएको छ । ऋग्वैदिक कालमा क्षत्रीय विश्वामित्र शास्त्रीय ज्ञान प्राप्तिका कारण ब्राह्मण बने । त्यो क्रम महाभारत कालसम्म पनि जारी रह्यो । महाभारतको अनुशासन पर्वमा वीतहव्य राजा, शल्यपर्वका अनुसार अष्र्टिषेण, सिन्धद्वीप तथा देवापि आदि क्षत्रीयहरू सरस्वती नदी तटमा ब्राह्मण बनेका छन् । त्यसैले वर्ण व्यवस्था रहुन्जेल जन्म तथा कर्म (काम) दुवै आधारमा निर्धारण र वर्ण परिवर्तनसमेत सम्भव हुन्थ्यो । जाति वा जात शब्दले कुनै कालमा जन्मेका कारणले पाएको मर्यादाभेद वा वर्णशंकरत्व र त्यसैअनुसारको पेसा तत्वलाई बुझाउँछ । अर्थात्, जाति शब्दको अर्थ हो, जन्म । जात कर्मका आधारमा परिवर्तन हुँदैन, जुन कुरा भागवत गीतालगायत ग्रन्थमा प्रस्ट लेखिएको छ । 

नेपालखण्डमा जात व्यवस्था
काठमाडौंका केही विहार यस्ता छन् जहाँ ब्राह्मण पनि बज्राचार्य हुन सक्छ र कहीँ ज्यापु पनि कर्मद्वारा बज्राचार्य हुन सक्छन् । कर्माचार्य, गुर्वाचार्य, जोशी आदि ६ थरे श्रेष्ठ थरधारी छन् । श्रेष्ठ थर विभेदको एक नमुना हो । उदाहरणका लागि २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, २०४३ सालमा प्रधानमन्त्री बनेका मरिचमानसिंह श्रेष्ठ, कांग्रेसका सर्वाेच्च नेता गणेशमासिंह श्रेष्ठसमेत प्रजातन्त्रवादी, पञ्चायतमा उच्च ओहोदामा पुगेका व्यक्ति तथा कम्युनिस्ट नेतासमेतले यो विभेदी श्रेष्ठ (सर्वाेच्च, उत्तम) शब्दको त्याग होइन, अनुसरण नै गरे ।

चक्रवर्ती राजाका अधीनमा रहेका साना राज्य भएका राजाका राज्यलाई ठकुराई भनिन्छ र त्यस्तो राज्यको राजालाई ठाकुर वा ठकुरी भनिन्छ । उदाहरणका लागि नेपाल एकीकरण अभियान प्रारम्भ हुनुपूर्व यस भेकमा अनेक साना–साना राज्य थिए । ती राज्यमा शासन गर्ने ठकुरी जुनसुकै जातका हुन्थे । अर्थात्, अहिन्दु वा अनार्य अनेकौँ ठकुरीहरू धर्म परिवर्तनद्वारा क्षत्रीय बन्न पुगे । क्षेत्रका आधारमा ठाकुर र ठकुरीबिच समेत भेद उत्पन्न हुन गयो । जस्तै– पहाडका ठकुरीहरू आफूलाई उच्च खानदानी तथा शासक जाति भनी घमण्ड गर्ने गर्छन् । तथापि, मधेशका ठाकुरहरू मधेशी भएकैले विभेदमा पारिएको तीतो अनुभव गर्छन् । जस्तै– पहाडका ठकुरी शाह आदि र मधेशी नेता महन्थ ठाकुरका मनोदशालाई उदाहरणका रूपमा हेर्न सकिन्छ । यस्ता उदाहरण थुप्रै भेटिन्छन् । जस्तै– मधेशका झा पहाड उक्लेपछि ओझा भए । मधेशका मिश्रा पहाड चडेपछि मिश्र बने । भनिरहनै परेन ओझा, मिश्र आदि मधेशका मिश्रा र झाभन्दा आफूलाई उच्च भएको ठान्छन् । त्यस्तै पहाडका समाजमा सुनार, लोहार अछुत कहलाउँछन् भने, उनीहरू मधेश झरेपछि सोनार, लोहार कहलाउँछन् र त्यहाँ छुत मानिन्छन् ।

हालको कर्णाली प्रदेश पहिले खस राज्य थियो । खसहरू ईसाको आठौँ शताब्दीदेखि भारतको कश(खस) मीर हुँदै कर्णालीतिर प्रवेश गरे । उनीहरू धेरैपछि मात्रै धर्म परिवर्तन गरी हिन्दु बनेका हुन् । उनीहरू ब्राह्मण, क्षत्रीय र मतवालीसम्म बने । ब्राह्मणले राजालाई आफूपछिको उच्च ओहोदा दिएकाले वर्ण विभाजन कार्यमा तत्कालीन राजाहरूले आँखा चिम्लिदिएको वा मौन स्वीकृति दिएको बताइन्छ । यसर्थ, अनार्य, अहिन्दु खसहरू हिन्दु क्षत्रीय वर्णमा परिवर्तन गराइए । तथापि, मनुस्मृति (१०/१२) अनुसार खसलाई पनि व्रात्य नै भनिएको छ । व्रात्यको अर्थ वर्णशंकर वा यज्ञोपवित (जनै) विहीन अर्थात् शूद्र वर्ण भन्ने अर्थ लाग्छ । 

शाह, राणाशासन कालमा शूद्र (दलित)माथि धेरै कडा कानुन लागू गरियो । प्रधानमन्त्री भीमसेन थापा (१८६३—१८९६) ले छुवाछुत व्यवहारलाई अझ कडा र व्यवस्थित पार्ने काम गरे । उदाहरणका लागि उक्त समयमा भाउजूसँग ब्राह्मण र क्षत्रीले यौन सम्बन्ध राखे कैद जरिवाना गरिन्थ्यो । तर, अछुतले उही अपराध गरे काटिन्थ्यो । प्रधानमन्त्री जंगबहादुर राणाले २०१० सालमा मुलुकी ऐन जारी गरे । उनले परम्परागत अछुत समुदायलाई पानी नचल्ने जातको रूपमा कानुनमै व्यवस्था गरे । कथित उच्च जातकाले अछुतमाथि छुवाछुतको व्यवहार नगरे दण्ड सजाय हुने व्यवस्था गरे ।

२००६ सालताका सर्वजित कामीको नेतृत्वमा एक टोली प्रधानमन्त्री मोहनशमशेर राणासमक्ष खड्काथोकी थर भएका कामी जातिको जात बढुवा गराउन बिन्तीपत्र लिएर पुगेका थिए । उनी ००६ सालअगावै विश्व सर्वजन संघ नामक दलितको पहिलो संगठन स्थापना गर्ने व्यक्ति हुन् । उनीहरूको माग थियो, ‘हामीले खड्का थर लेख्न र यज्ञोपवित धारण गर्न पाउनुपर्छ र हामीलाई क्षत्रीसरहको जात बढुवा गराइपाऊ ।’ राणा प्रधानमन्त्रीले उनीहरूको माग सदर गरे पनि तल्लो तहका सरकारी कर्मचारीको षड्यन्त्रका कारण उक्त आदेश कार्यान्वयन हुन पाएन । बरु कर्मचारीको जालमा उनीमाथि मुद्दा लगाई जेल हालियो । त्यहाँबाट निस्केपछि सर्वजित भारत गए र उतैका पण्डित पुरोहितको सल्लाहबमोजिम आफूलाई मिथकका विश्वकर्माका सन्तान मान्दै विश्वकर्मा थर लिएर फर्के । त्यसपछि अछुत मानिने एक जातिले आफ्नो थर विश्वकर्मा लेख्न थाले र अद्यापि लेख्दै छन् ।

ऋग्वैदिक कालमा आर्य, अनार्य जाति (समुदाय ?) बिच द्वन्द्व भएको उल्लेख छ । नेपालका मूलवासी समुदायमाथि ब्राह्मणहरूले जात विभाजनको सीमारेखा कोरे । त्यसैमा खस, मगर, नेवा: आदि राजा वा शासकले स्वार्थवश साथ दिए । जात व्यवस्थाको आधार र कारण शासन सत्ता, शक्ति र सम्पत्ति (तीन शक्ति )नै हुन् । दैविक वा ईश्वरीय सत्ता, स्वर्ग, नर्कका जालझेलको रचना गरेर सोझा समुदायको राज्यसत्ता, वैभव र विरासतमाथि विभेदी शासन लादिएको इतिहास बुझ्न जरुरी छ । त्यसपूर्व नेपालमा न जात व्यवस्था थियो, न छुवाछुत प्रथा ।

वैदिककालदेखि नै ब्राह्मण र क्षत्रीय मिलेर शासन गर्दै आए । क्षत्रीय राजा सुदास दिवोदासका पुत्र थिए । राजाका पुरोहित वशिष्ठ अत्यन्तै प्रतिभाशाली थिए । वशिष्ठको प्रतिभाका अगाडि राजा सुदासको प्रतिभा त्यसै धमिलिएर जाने देखिएकाले उनले विश्वामित्रलाई आफ्नो राजपुरोहित बनाए । त्यसैको प्रतिशोधस्वरूप वशिष्ठले सुदासलाई दाशराज युद्धमा फसाइदिएका थिए । त्यसैले यी दुई समूहबिच द्वन्द्वको इतिहास पनि छ । ब्राह्मणलाई जब संकट आइपर्छ, तब क्षत्रीयलाई पुकार्ने र क्षत्रीयको सहयोगमा आफ्नो सत्ता बचाउने प्राचीन इतिहास छ । त्यसैले नेपालमा समेत धेरैपटक ‘राजा (क्षत्रीय) आऊ देश (ब्राह्मण सत्ता) बचाऊ’को नारा यसैकारण लाग्ने गरेको छ ।