
पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा पाँचदिने भ्रमणका लागि खनाल आइतबार राति चीन प्रस्थान गरेका हुन् ।
चीनमा हुने ‘विश्व सभ्यता संवाद’ कार्यक्रममा खनाल सहभागी हुने उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । बेइजिङको मुख्य कार्यक्रममा सहभागी हुनुअघि खनालले हेनान प्रान्तको भ्रमण गर्नेछन् । हेनानमा तीन दिन त्यहाँको आधुनिक कृषि अनुसन्धान केन्द्र, डिजिटल प्रविधि कम्पनी, नयाँ ऊर्जा प्रविधि कारखाना तथा ग्रामीण पुनरुत्थानका नमुना परियोजनाहरूको अवलोकन गर्ने कार्यक्रम छ ।
हेनान भ्रमणको अन्त्यमा चिनियाँ कम्युनिस्ट पार्टी हेनान प्रान्तीय कमिटीले आयोजना गर्ने कार्यक्रममा प्रमुख वक्ताको रूपमा खनालले सम्बोधन गर्ने भट्टराईले जानकारी दिए । त्यसपछि बेइजिङमा खनालले जुलाई १० मा दुईवटा महत्त्वपूर्ण सत्रलाई सम्बोधन गर्नेछन् ।
त्यस क्रममा ‘मन्त्रीस्तरीय विश्व सभ्यता संवाद’को पूर्ण सत्रको तेस्रो खण्ड, ‘मानवताका साझा मूल्यहरूको संयुक्त प्रवर्द्धन’लाई खनालले सम्बोधन गर्नेछन् । सोही दिन ‘सभ्यताहरूको आदानप्रदान, पारस्परिक सिकाइ र प्राज्ञिक संवाद’ शीर्षकको छैटौँ उपमञ्चको उद्घाटन समारोहमा पनि प्रमुख वक्ताका रूपमा खनालले सम्बोधन गर्नेछन् ।
बेइजिङमा नेता खनालले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओलगायत अन्य चिनियाँ नेताहरूसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ । साथै सम्मेलनमा सहभागी हुने विभिन्न मुलुकका पूर्वप्रधानमन्त्री, मन्त्री, विज्ञ तथा प्रतिनिधिहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । खनाल २७ असारमा स्वदेश फर्किने कार्यक्रम छ ।