
अमेरिकामा चिनियाँ विद्यार्थीका लागि कठिन बन्ने संकेत देखिएको छ । केही साताअघि अमेरिकी विदेश मन्त्रालयले चिनियाँ विद्यार्थीको भिसा रद्द गर्न ‘आक्रामक’ अभियान सुरु गर्ने घोषणा गर्यो । घोषणाको निसानामा ‘महत्वपूर्ण क्षेत्र’ मा रहेका चिनियाँ विद्यार्थी हुनेछन् र उनीहरू विज्ञान र इन्जिनियरिङ कार्यक्रम (जुन चीनका लागि रणनीतिक चासोको विषय मानिन्छ)अन्तर्गत अमेरिका जान्छन् । अर्को निसानामा चिनियाँ कम्युनिस्ट पार्टीसँग ‘सम्बन्ध’ भएकाहरू हुनेछन् । कतिजना विद्यार्थीलाई अध्ययन छोड्न बाध्य पारिनेछ भन्ने स्पष्ट छैन । तर, चिनियाँ युवाका लागि अब कहाँ पढ्ने भन्नेबारेमा सोच्दै गर्दा अमेरिका अब एक कठिन यात्राजस्तो देखिन्छ ।
पछिल्लो भिसा नीति आउनुभन्दा धेरैअगाडि नै कतिपय चिनियाँ विद्यार्थीको अमेरिकी विश्वविद्यालयमा अध्ययन मोह घटिसकेको थियो । सन् २०१९–२० को शैक्षिक वर्षमा त्यहाँ चिनियाँ विद्यार्थीको संख्या उच्चतमस्तरमा पुगेको थियो । त्यतिवेला लगभग तीन लाख ७२ हजार चिनियाँ विद्यार्थीले अमेरिका पढ्ने गर्थे । त्यसपछि मुख्यतया, चीनको कोभिड–१९ पछि चिनियाँ विद्यार्थीलाई कडाइ गरिएको थियो । त्यसवेलादेखि नै विद्यार्थीको प्रवाह तीव्र रूपमा घट्यो र त्यसपछि वर्षमा खासै सुधार हुन सकेन । सन् २०२३–२४ को शैक्षिक वर्षमा लगभग दुई लाख ७७ हजार चिनियाँ अमेरिकामा अध्ययन गरिरहेका थिए । बढ्दो रूपमा मध्यमवर्गीय चिनियाँ अभिभावकले यसलाई आफ्ना बच्चाका लागि धेरै महँगो र जोखिमपूर्ण गन्तव्यको रूपमा हेर्छन् ।
सन् १९७० को दशकको अन्त्यदेखि नै लगभग ३० लाख चिनियाँ युवा अमेरिकामा पढ्न गएका छन् । पढ्न गएका धेरैजसो चिनियाँ त्यहाँ बसोवास गर्छन् । आकर्षक जागिरको बहानमा कतिपय स्वदेश फर्किएका छन् । तिनीहरूलाई हाइगुई पनि भनेर चिनिन्छन्, जसको अर्थ ‘समुद्रपारबाट फर्कने’ भन्ने लाग्छ । बेइजिङ र सांघाईका धनाढ्यका परिवारका सन्तानका लागि अमेरिकाको इभी लिग एक महत्वपूर्ण गन्तव्य बनेको छ । राष्ट्रपति सी जिनपिङकी छोरी हार्वर्डमा स्नातक हुन् भने पार्टीका मध्य तहका अधिकारीहरू पनि आधुनिक शासनका बारेमा सिक्न अमेरिका जाने गरेका छन् ।
तर, धेरै चिनियाँका लागि अमेरिकी शिक्षाको लगानीमा प्रतिफल भने घट्दै गएको छ । लगानी सधैँ महँगोसिद्ध भएको छ र आजकाल मध्यम वर्गीय परिवार कमजोर आर्थिक अवस्था र पुँजीबजारमा आएको मन्दीका कारण खर्च गर्न कम इच्छुक देखिन्छन् । पछिल्लो समयमा तिनीहरूका लागि बेलायत पनि विकल्प बन्न थालेको छ किनकि बेलायतमा सस्तो विश्वविद्यालय छनोट गर्ने सुविधा छ । सन् २०२३–२४ को शैक्षिक वर्षमा लगभग एक लाख ५० हजार चिनियाँ विद्यार्थी बेलायत पढ्न गएका थिए । पछिल्ला दिनमा धेरैजसो विद्यार्थी हङकङ, सिंगापुर र एसियाका अन्य ठाउँहरूमा जाने गरेका छन् । कक्षाहरूमा प्राय: अंग्रेजी विषयमा पढाइन्छ र तिनीहरूलाई अध्ययन गर्न मैत्रीपूर्ण ठाउँको रूपमा हेरिन्छ । जापानमा चिनियाँ विद्यार्थीको संख्या २०१९ मा एक लाखभन्दा कमबाट बढेर २०२३ मा एक लाख १५ हजार पुगेको थियो ।
चीनको निराशाजनक रोजगार बजारमा विदेशी डिग्रीको कम उपयोग हुने गरेको कतिपयको तर्क छ । धेरै विदेशी परामर्शदाता र कानुन फर्मले चीनमा आफ्नो गतिविधि सञ्चालन घटाएका छन्, चिनियाँ विद्यार्थीहरूलाई अमेरिकी कलेजहरूमा आवेदन दिन मद्दत गर्ने एक शिक्षक भन्छन् ।
अर्थशास्त्रमा स्नातक गरेका युवा एम लेईले स्नातकपछि स्वदेशमै चिनियाँ सरकारी कार्यलय वा राज्य स्वामित्वको कम्पनीमा स्थायी पद पाउने सपना देख्छन् । त्यस्ता रोजगारदाता प्राय: विदेशी शिक्षा हासिल गरेका स्नातकमाथि शंकाको नजरले हेर्ने उनी बताउँछन् । ठुलो उपकरण निर्माता ग्री इलेक्ट्रिककी अध्यक्ष डोङ मिङझुका अनुसार उनको कम्पनीले विदेशीहरूले जासुसको रूपमा भर्ती गरेको अवस्थामा हाइगुईलाई काममा राखेको छैन ।
यसैबिच, चीनका आफ्नै शीर्ष विश्वविद्यालयहरू बढ्दो रूपमा प्रतिस्पर्धी र आकर्षक हुँदै गइरहेका छन्, विशेषगरी विज्ञान र इन्जिनियरिङजस्ता क्षेत्रहरूमा यस्तो आकर्षण बढेको हो । ‘विद्यार्थीलाई महत्वपूर्ण क्षेत्रमा महत्वपूर्ण विषय पढाउने क्रममा चीनले अमेरिकासँग प्रतिस्पर्धा गर्न र उछिन्न पनि सक्छ,’ बेइजिङको कुलीन सिंघुआ विश्वविद्यालयमा जीव विज्ञानअन्तर्गत विद्यावारिधि गरेका एक विद्यार्थी भन्छन् । विद्यार्थीको विचारमा क्युएस वल्र्ड युनिभर्सिटी विश्वमा २०औँ स्थानमा छ भने छिमेकी पेकिङ विश्वविद्यालय १४औँ स्थानमा छ । प्राय: सबै पुराना विद्यार्थीसँग अमेरिकी विश्वविद्यालयबाट प्राप्त गरेको डिग्रीको सर्टिफिकेट छ । तर, युवाहरू भने सामान्यतया चीनमा शिक्षित छन् ।
चीनमा पढेकालाई नै प्राथमिकता
परामर्शदाता भेन्चर एजुकेसनका जुलियन फिसरको विचारमा अहिले कतिपय चिनियाँ कम्पनीले चिनियाँ विश्वविद्यालयमै पढेका विद्यार्थीलाई प्राथमिकता दिन थालेका छन् जसका कारण विदेशमा अध्ययन गर्ने चिनियाँहरूको कुल संख्या घटिरहेको छ । चीनको न्यून जन्मदरले भावी पुस्ताका विद्यार्थीको आकार घटाएको छ । त्यस्तै, साना सन्तानका अभिभावकहरूले विदेशी विश्वविद्यालयमा जान सक्ने अन्तर्राष्ट्रिय विद्यालयमा आवेदन दिनुको सट्टा घरेलु शिक्षा प्रदान गर्ने निर्णय गरिरहेका छन्, फिसर अगाडि भन्छन् । यसले अन्तर्राष्ट्रिय शिक्षा प्रणालीमा ‘टाइमबम’ सिर्जना गरेको उनको भनाइ छ । यसले चिनियाँ विद्यार्थीको नगदमा निर्भर विदेशी संस्थामा कम्पन ल्याउने उनको दाबी छ ।
स्वदेशमा अध्ययन गरिरहेका धेरै विद्यार्थीहरू अमेरिकाको नयाँ भिसा नीतिप्रति खासै निराश देखिँदैनन् । बेइजिङको बेइहाङ विश्वविद्यालयमा स्याटेलाइट प्रोपल्सन अनुसन्धान गरिरहेका स्नातकोत्तरका विद्यार्र्थी लीले अमेरिकाले चिनियाँ नागरिकलाई आफ्नो उच्च प्रविधि कार्यक्रममा प्रवेश दिन नचाहेका विषयबारे (बेइहाङले स्नातकलाई २०२० देखि अमेरिकामा अध्ययन गर्न प्रतिबन्ध लगाइएको छ किनभने विश्वविद्यालयको चीनको सशस्त्र सेनासँग नजिकको सम्बन्ध छ) आफूले राम्रैसँग बुझेको बताउँछन् । तर, उनी आशावादी भने देखिन्छन् । ‘विदेशमा अध्ययन गर्न सक्ने विद्यार्थी धेरै प्रभावशाली हुन्छन् । त्यसैले यदि तिनीहरू स्वदेशमै बसे भने, यसले घरेलु अनुसन्धान र विकासलाई मद्दत गर्नेछ,’ उनी भन्छन्, ‘अमेरिकाले कसरी व्यवहार गरिरहेको छ भनेर हामी परिवर्तन गर्न सक्दैनौँ,’ झाङ नाम गरेका अर्का डक्टरले अनुसन्धानकर्ता भन्छन्, ‘जबसम्म हामी राम्रोसँग विकास गरिरहेका छौँ, तबसम्म सबै कुरा अवसर हो ।’
–इकोनोमिस्टबाट