
प्रहरीले पोखराका दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १७ जुवाडेलाई आठ बुक तास र चार लाख १३ हजार ६५ रुपैयाँ नगदसहित रंगेहात पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका-१० रक्षामार्गबाट जुवातास खेलिरहेका नौजनालाई चार बुक तास र दुई लाख २२ हजार ८० रुपैयाँ नगदसहित पक्राउ गरेको कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए।
यसैगरी, जिप्रका कास्की र र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा–१५, घलेचोकबाट जुवातास खेलिरहेका आठजनालाई चार बुक तास र एक लाख ९० हजार नौ सय ८५ रुपैयाँसहित पक्राउ गरेको जिसीले जानकारी दिए।
दुई स्थानमध्ये पोखरा–१०, रक्षामार्गबाट पक्राउ पर्नेहरूमा पोखरा–१९, लामाचौर बस्ने प्रसाद छन्त्याल, पोखरा–११ फूलबारी बस्ने हेमनारायण गर्बुजा, पोखरा–१२, माटेपानी लीलप्रसाद गुरुङ, पोखरा–२९, सैनिक बस्ती टेकबहादुर गुरुङ, पोखरा–१६ की रेनु गर्बुजा, पोखरा–९, न्युरोड बस्ने दिपा पुन, पोखरा–१५ नयाँगाउँ बस्ने जेनिषा पुन, पोखरा १४, चाउथे बस्ने पुष्पा पुन र पोखरा–१०, रक्षामार्ग दलबहादुर पुन रहेका छन्।
त्यसैगरी, पोखरा–१५ घलेचोकबाट पक्राउ परेकाहरूमा पोखरा–१० बस्ने चन्द्रबहादुर पुन, पोखरा–१० रंगशाला बस्ने कल्पना भन्ने टीकामाया आले, पोखरा–१० काजीपोखरी बस्ने विष्णु थापा, पोखरा–१५, लक्ष्मीटोल बस्ने सोनी गुरुङ, पोखरा–१५, घलेचोक बस्ने हिमाल गुरुङ, पोखरा–१९, लामाचौर बस्ने केशकुमारी गुरुङ, पोखरा–१०, काजीपोखरी बस्ने टोपबहादुर थापा र पोखरा–१५ मितेरी टोल बस्ने बलराम गुरुङ रहेका छन्।
पक्राउ परेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा सोमबार पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।