
विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेन भ्रमणमा पुगेका प्रधानमन्त्री केपी ओली आज स्वदेश फर्कँदै छन् । प्रधानमन्त्री ओली आज अपराह्न ३:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन प्रस्थान गरेका थिए ।
स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको थियो । यस्तै, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजसँग पनि दुईपक्षीय भेटवार्ता भएको थियो ।
यस्तै, स्टोनियाका राष्ट्रपति अलार कारिस, इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुई मोन्टेनेग्रोसँग पनि भेटवार्ता भएको थियो । प्रधानमन्त्री ओलीले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री ओलीले अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षतासमेत गरेका थिए । यस्तै, विभिन्न छलफल सत्रमा प्रधानमन्त्री ओलीको सक्रिय सहभागिता रहेको थियो ।
विकास सहायतामा नयाँ सोचसम्बधी उच्चस्तरीय छलफलका अवाला अन्य साइड इभेन्टहरूमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो ।
बिहीबार मात्र उनले स्पेनको मेड्रिडस्थित विश्वप्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको भ्रमण गरेका थिए । यसैगरी प्रधानमन्त्री ओलीले स्पेनमा रहेको नेपाली दूतावासको निरीक्षणका अलावा नेपाली समुदायसँग छलफल गरेका थिए । प्रधानमन्त्री ओली केहीबेरअघि मात्र स्पेनको मेड्रिडबाट कतारको दोहातर्फ प्रस्थान गरिसकेका छन् ।