१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २० शुक्रबार
  • Friday, 04 July, 2025
२o८२ असार २० शुक्रबार १o:२७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेका लहान नगर अध्यक्षलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २० शुक्रबार १o:२७:oo

नेपाल पत्रकार महासंघ सिराहा शाखा अध्यक्ष मनोज बनैता यादव नेकपा एमाले सिराहा लहान नगर अध्यक्षलाई कानुनी कारबाहीको माग गर्दै प्रहरीमा उजुरी गरेका छन् ।  शाखा अध्यक्ष यादवले जिल्ला प्रहरी कार्यालयमा एमाले लहान नगर अध्यक्ष राजकुमार साहलाई आवश्यक कानुनी कारबाहीको माग गर्दै बिहीबार उजुरी दिएका हुन् । उजुरीमा अध्यक्ष साहले १७ असारमा सामाजिक सञ्जाल (फेसबुक) बाट अश्लील, तुच्छ, अपमानजनक गालीगलौज गरी आफ्नो चरित्र हत्या गरेकाले कानुनी कारबाहीको माग गरिएको छ । 

विगतमा पनि पटकपटक पत्रकारहरूलाई सामाजिक सञ्जालमार्फत नगर अध्यक्षको नाममा तुच्छ र गैरराजनीतिक तल्लो स्तरको टिप्पणी गर्दै आएका साहलाई यसपटक प्रहरीले कानुनी कारबाहीको दायरामा ल्याउनेमा आफू विश्वस्त रहेको उनले बताए । जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले महासंघका शाखा अध्यक्षको उजुरी प्रहरीमा परेको जानकारी दिँदै प्रहरीले बुझ्ने काम गरिरहेको बताए । 

के भएको थियो ? 
१७ असारमा लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोसँग सम्बन्धित भिडियो फेसबुकबाट सार्वजनिक भएपछि नगर अध्यक्ष साहले आफ्नो नामबाट महासंघका शाखा अध्यक्षको नाम नै किटान गरी अत्यन्त तल्लो स्तरको गालीगलौज गरेका थिए । सिंगो नगर कार्यपालिकाबिच काम, कर्तव्य र अधिकार प्रयोगको विषयमा पछिल्लो केही महिनादेखि द्वन्द्व चल्दै आएको सन्दर्भमा केही दिन पहिले उपप्रमुख महतोले जिल्लाका पत्रकारहरूलाई गालीगलौज गरेका थिए । 

त्यसलगत्तै महासंघका जिल्ला अध्यक्ष यादवले नगर उपप्रमुखलाई पत्रकारहरूमाथि लगाइएको आरोपको पुष्टि गर्न चुनौती दिँदै अन्यथा उनले गरेको गलत कर्तुत सार्वजनिक गर्ने चेतावनी दिएकै वेला भिडियो सार्वजनिक भएको थियो । भिडियोमा केही युवाहरूले लगातार नाम सोधिरहेका वेला उपप्रमुख महतोले आफ्नो नाम अशोक यादव बताएका छन् भने ठेगानाबारे केही बोलेका छैनन् । मोटरसाइकलको हेलमेट लगाएका उनले किन भिडियो खिचेको भन्दै रोक्ने प्रयास गरिरहेको भए पनि उक्त भिडियो कहिले र कसले खिचेका हुन् भन्ने केही खुलेको छैन । त्यही भिडियो सार्वजनिक भएपछि नगर अध्यक्ष साहले महासंघका अध्यक्ष साहलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेका हुन् ।  

सत्तारूढ दलका नगर अध्यक्षजस्तो राजनीतिक व्यक्तिले सामाजिक सञ्जालमार्फत महासंघका अध्यक्षको नाम नै किटान गरी गैरराजनीतिक, तुच्छ र तल्लो स्तरको गालीगलौज गरेपछि पत्रकारसम्बद्ध संघसंस्थाहरूले त्यसको भर्त्सना गर्दै कारबाहीको माग गरेका छन्। महासंघको केन्द्रीय समिति, मधेश प्रदेश समिति, जिल्ला शाखासहित प्रेस सेन्टर नेपाल, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, समाजवादी प्रेस संगठन सिराहाले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै नगर अध्यक्ष साहविरुद्ध कानुनी कारबाहीको माग गरेका छन् ।

विज्ञप्तिमा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दा व्यक्तिको सामाजिक चरित्र र प्रतिष्ठामा आघात पुर्‍याइनु अत्यन्त निन्दनीय र सामाजिक अपराध औँल्याउँदै घटनाको छानबिन गरी  दोषीमाथि आवश्यक कानुनी कारबाहीसहित सुरक्षित एवं भयरहित पत्रकारिताको प्रत्याभूति दिलाउन सम्बन्धित निकायको ध्याकर्षण गराइएको छ ।