१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २९ बिहीबार
  • Friday, 13 June, 2025
दीपक भट्ट रामेछाप
२o८२ जेठ २९ बिहीबार १४:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तामाकोशी अंग्रेजी बोर्डिङका विद्यार्थीले कुटे शिक्षक

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८२ जेठ २९ बिहीबार १४:२५:oo

 सदरमुकम मन्थलीस्थित तामाकोशी अंग्रेजी बोर्डिङ स्कुलका नेपाली शिक्षक प्रेम बसेललाई सोही विद्यालयमा अध्ययनरत विद्यार्थीले निर्घात कुटपिट गरेका छन्। मंगलबार साँझ विद्यालयको गेटमा दुई विद्यार्थीले नेपाली शिक्षक बसेललाई कुटपिट गरेको घटना गुपचुप राखिएको छ। विद्यालयको पढाइ सकेर घर फर्किँदै गरेका कक्षा १० र कक्षा ८ मा अध्ययनरत दुई विद्यार्थी एक आपसमा विद्यालयको गेटमा कुटपिट गर्न थालेपछि उनीहरूलाई छुट्याउन पुगेका शिक्षक बसेललाई ती दुई विद्यार्थीले निर्घात कुटपिट गरेका हुन्। 

विद्यार्थीको कुटाइबाट घाइते भएका शिक्षक बसेललाई मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौं केएमसी अस्पताल रिफर गरिएको रामेछाप सामुदायिक अस्पतालका निर्देशक डा. केशव धामीले जानकारी दिए। उनले भने, ‘शिक्षक बसेलको नाकमा चोट छ। यहाँ उपचारपछि उहाँहरूले काठमाडौं जाने मनसाय गरेकाले रिफर गरिएको  छ।’

विद्यार्थीहरूले शिक्षक कुटपिट गरेको सूचना कार्यालयमा आए तापनि कुटपिटमा संलग्नलाई कारबाही गरी पाऊँ भन्ने कुनै लिखित निवेदन हालसम्म कार्यालयमा नआएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। विद्यालयमा अध्ययनरत दुई विद्यार्थीहरू एकआपसमा कुस्ती गरिरहेको अवस्थामा छुट्याउन जाँदा विद्यार्थीले शिक्षक बसेलमाथि नै कुटपिट गरेको घटना आफूले पछि मात्रै जानकारी पाएको तामाकोशी अंग्रेजी बोर्डिङ स्कुलका प्रधानाध्यापक दीपक खड्काले जानकारी दिए। 

उनले भने, ‘विद्यार्थीको कुटाइपछि घाइते भएका शिक्षकको उपचारको लागि मन्थलीस्थित रामेछाप सामुदायिक अस्पताल लगिएको थियो। शिक्षक बसेलको नाकमा असर परेकाले थप उपचारको लागि काठमाडौं पठाइएको छ। अहिले उहाँ अस्पतालबाट डिस्चार्ज भइसकेको भन्ने सूचना पाएको छु, तर टेलिफोन सम्पर्क गर्दा उहाँको टेलिफोन उठेको छैन,’ प्रअ खड्काले बताए। 

केही समयअघिदेखि शिक्षक र ती दुई विद्यार्थीबिच खेलकुदको विषयलाई लिएर विवाद बढेको थियो। सोही विषयलाई लिएर ती विद्यार्थीले शिक्षकमाथि आक्रमण गरेको हुन सक्ने विद्यालय प्रशासनले अनुमान गरेको छ।