१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३० शुक्रबार
  • Saturday, 14 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ३० शुक्रबार १४:१४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ३० शुक्रबार १४:१४:oo

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इंगेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम निस्कने अपेक्षा गर्न सकिने बताएकी छिन्।

संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्रालयको कामकारबाहीबारे जानकारी गराउँदै आफू परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि नेपालका मित्रराष्ट्रहरू तथा विश्व समुदायसँग कूटनीतिक सक्रियता बढाएको बताएकी हुन्।

मन्त्री डा. राणाले भनिन्, ‘कूटनीति भनेको एउटा प्रक्रिया हो। आजको आजै यसबाट प्रतिफल हात लागिहाल्ने पनि होइन। विश्व समुदाय, अन्तर्राष्ट्रिय मञ्चहरू तथा द्विपक्षीय एवं बहुपक्षीय भेटहरूमा नेपालको सहभागिता र संलग्नतालाई बढाई आफ्ना एजेन्डा स्थापित गर्ने प्रयास गरिरहेका छौँ। मलाई विश्वास छ प्रतिफल राम्रै निस्कनेछ।’

सांसदहरूका प्रश्नको जवाफमा मन्त्री डा. राणाले सगरमाथा संवादको आयोजना गरेर जलवायु परिवर्तनका कारण समस्यामा परेको नेपालले यससम्बन्धी आफ्नो एजेन्डालाई विश्व समुदायमा स्थापित गर्ने काम गरेको बताइन्।

‘कोप ३०’ देखि आगामी दिनमा विश्वमा आयोजना हुने जलवायुसम्बन्धी कार्यक्रमहरूमा सगरमाथा संवादमार्फत पारित कार्ययोजनालाई नै अघि सारिने जानकारी दिँदै मन्त्री डा. राणाले सगरमाथा संवादमा नेपालका छिमेकी राष्ट्र भारत र चीनलगायतका कैयौँ देश र अन्तर्राष्ट्रिय संघसंगठनहरूको सहभागिता एवं नेपालको एजेन्डामा साथ र सहयोग गर्ने प्रतिबद्धता पनि नेपालको कूटनीतिक उपलब्धि रहेको बताइन्।

नेपालको श्रमगन्तव्य नरहेका र अवैध रूपमा विदेश पुगेका नेपालीका सम्बन्धमा गृह र श्रम मन्त्रालयसँगको समन्वयमा काम अघि बढाइएको जानकारी पनि उनले दिइन्। मन्त्री डा. राणाले विश्वका कुनै पनि मुलुकमा रहेका नेपाली नागरिकहरूलाई आवश्यक सेवाका लागि पासपोर्ट तथा कन्सुलर सेवाका टोलीहरू नै खटाएर सेवा दिइएको बताइन्।

उनले नेपालको परराष्ट्र नीतिलाई थप अब्बल र विस्तारित बनाउन तथा विश्वमा विकसित विभिन्न परिस्थितिका कारण नेपाली नागरिकलाई आवश्यक कन्सुलर सेवासमेत प्रदान गर्नका लागि आवश्यक जनशक्तिको व्यवस्थासहितको ओएनएम गरेर दरबन्दी थप गरी सेवा प्रदान गरिएको जानकारी पनि सो अवसरमा दिएकी थिइन्।