
चालू आर्थिक वर्षमा सुदूरपश्चिमको आर्थिक वृद्धिदर तुलनात्मक रूपमा सबैभन्दा कम हुने आकलन गरिएको छ । प्रदेश सरकारले आज प्रदेश सभामा प्रस्तुत गरेको चालू आर्थिक वर्षको सर्वेक्षणमा यस वर्ष सुदूरपश्चिमको आर्थिक वृद्धिदर ३.३२ प्रतिशत रहने उल्लेख गरिएको छ । सबैभन्दा बढी आर्थिक वृद्धिदर गण्डकी प्रदेशको ५.५१ प्रतिशत रहने अनुमान गरिएको छ ।
चालू आर्थिक वर्षको सर्वेक्षण प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले देशको कुल गार्हस्थ्य उत्पादनमा सुदूरपश्चिमको योगदान ७.०३ प्रतिशत रहने अनुमान रहेको बताए । चालू आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजार ४९६ अमेरिकी डलर हुने अनुमान रहेकोमा सुदूरपश्चिम प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजार १५३ डलर रहने अनुमान छ । जुन गत वर्षको तुलनामा २.७६ प्रतिशतले वृद्धि हो ।
चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रको योगदान ३४.९५ प्रतिशत द्वितीय क्षेत्रको १२.३० र तृतीय क्षेत्रको ५२.७५ प्रतिशत रहने अनुमान छ । चैत मसान्तसम्म प्रदेश सरकारले एक हजार एक करोड २९ लाख आन्तरिक आम्दानी गरेको छ । फागुन मसान्तसम्म यो प्रदेशमा लघुवित्त तथा वित्तीय संख्याको शाखा संख्या ८४९ रहेको मन्त्री थापाले जानकारी दिए ।
सर्वेक्षणअनुसार पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन एक खर्ब ४४ अर्ब रुपैयाँ र कर्जा प्रवाह एक खर्ब ५३ अर्ब रुपैयाँ रहेको छ । मन्त्री थापाले बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनमा सुदूरपश्चिमको योगदान २.१५ र कुल कर्जा प्रवाहमा २.८२ प्रतिशतमात्र रहेको बताए । सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा पनि बढ्दो अनुपातमा रहेको उनले बताए । चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको निष्क्रिय कर्जाको अनुपात क्रमशः ४.७३, ५.११ र १२.८५ प्रतिशत रहेको मन्त्री थापाले प्रस्तुत गरे ।
सुदूरपश्चिममा फागुन मसान्तसम्म बिमा कम्पनीको शाखा २६५ र बिमा सेवा पुगेको जनसंख्याको अनुपान १८.०९ प्रतिशत रहेको छ । गत वर्षको फागुन मसान्तसम्मको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिसम्मको बिमालेख संख्या ३.३ प्रतिशतले ह्रास आएको छ भने बिमा शुल्क आर्जन १२.७० प्रतिशतले बढ्न गई सात अर्ब ४६ करोड १३ लाख पुगेको छ ।
मन्त्री थापाले फागुन मसान्तसम्म सामाजिक सुरक्षा कोषमा १५ नयाँ रोजगार दाता र ७१० नयाँ योगदानकर्ता थप भई कुल रोजगारदाताको संख्या २९८ पुगेको जानकारी दिए । त्यस्तै, कुल योगदानकर्ताको संख्या दुई हजार ८५८ पुगेको छ । सामाजिक सुरक्षा कोषमा आबद्ध भएका पाँच लाख ६८ हजार १८८ योगदानकर्ताहरूमध्ये यस प्रदेशको योगदानकर्ताको संख्या ०.५ प्रतिशत मात्र रहेको सर्भेक्षणमा उल्लेख छ ।
सुदूरपश्चिममा चैत मसान्तसम्म उद्योगको संख्या एक हजार ६३१ पुगेको छ । ती उद्योगमा कुल प्रस्तावित लगानी दुई अर्ब ६४ करोड ६० लाख र प्रस्तावित रोजगारी संख्या पाँच हजार ७७७ रहेको मन्त्री थापाले जानकारी दिए । यो प्रदेशमा दर्ता भएका उद्योगको संख्या ५४ हजा ९७१ पुगेको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्म ६ किलोमिटर तटबन्ध निर्माण गरी १९८ हेक्टर जमिन उकास भएको, पाँच हजार पाँच सय हेक्टरमा सिँचाइ सुविधा विस्तार भएको जनाइएको छ । सर्वेक्षणअनुसार सुदूरपश्चिममा फागुन मसान्तसम्म ८६.६ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ भने यहाँ विद्युत् उत्पादन १६७ मेगावाट पुगेको छ ।
चालू आर्थिक वर्षको चैत मसान्तसम्म प्रदेशमा १० हजार ७०६ वटा नयाँ सवारी दर्ता भएका छन् । दुईपांग्रे सवारीसाधनको दर्ता गत वर्षको यही अवधिको तुलनामा ८.४१ प्रतिशतले वृद्धि भएको छ । प्रदेशमा स्वीकृत कर्मचारी दरबन्दीमध्ये ३८.८ प्रतिशत रिक्त रहेको मन्त्री थापाले जानकारी दिए ।