
काठमाडौं महानगरपालिकाभित्रको वायुप्रदूषणको मात्रा लाइभ हेर्न मिल्ने गरी ‘काठमाडौं महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ सार्वजनिक गरिएको छ। विश्व वातावरण दिवसको अवसर पारेर महानगरले बिहीबारदेखि ड्यास बोर्ड सञ्चालनमा ल्याएको हो।
महानगरले यसअघि १८ ठाउँमा वायुप्रदूषण मापनयन्त्र जडान गरिसकेको छ। मापनयन्त्रले देखाएको पिएम–२.५ र वायु गुणस्तर सूचकांकको विवरणलाई रियल टाइम हेर्न सकिने वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले बताइन्।
‘यसबाट कुन ठाउँमा वायुको गुणस्तरको अवस्था के छ भन्ने जानकारी पाउन सकिन्छ । महानगरपालिका स्वस्थ्य सहरका लागि थालेका प्रयत्नमध्ये यो एउटा महत्वपूर्ण प्रयास हो,’ उनले भनिन्।
स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले ड्यास बोर्डबाट प्राप्त हुने तथ्यांकले सहरी जनस्वास्थ्य समस्या समाधानका लागि नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्न आधार दिने बताए । पार्टनरसिप फर हेल्दी सिटिज परियोजना, काठमाडाैंका परियाेजना प्रमुख इन्जिनियर सञ्जीव पाण्डेका अनुसार ड्यास बोर्डमा सात खण्ड छन् । यसअघि सहरका विभिन्न १८ ठाउँमा जडान गरिएका उपकरणबाट वायु गुणस्तर हेर्न व्यवस्था बोर्डको मुख्य विशेषता हो।
यससँगै वायु गुणस्तर सूचकांक बुझ्न सहयोग गर्ने शैक्षिक सामग्री राखिएका छन् । वायु गुणस्तर सूचकांकलाई रंग संकेत दिएर स्वास्थ्य सावधानी सूचना बोर्ड छ । वायुप्रदूषणसम्बन्धी जनचेतनामूलक भिडियो सन्देश राख्ने ठाउँ छ । सवारीसाधन प्रदूषण चेकजाँचको प्रगति विवरण हेर्न सकिन्छ।
महानगरले छत्रपाटी चिकित्सालय, लैनचौर, कलंकी चोक, बालाजु बाइसधारा उद्यान, परोपकार स्त्री तथा प्रसूतिरोग अस्पताल, महानगर प्रहरी बलको क्षेत्रीय कार्यालय नयाँ बसपार्कमा वायुप्रदूषण मापन यन्त्र जडान गरिसकेको छ । त्यस्तै, चक्रपथको ठुलो भ¥याङ, बौद्ध, रत्नराज्य माध्यमिक विद्यालय (मध्य बानेश्वर), टेकु ट्रान्सफर स्टेसन, वडा नम्बर २७ कार्यालय, पशुपति मित्र माध्यमिक विद्यालय (चाबहिल), जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालय (जडीबुटी), वडा नम्बर ५ कार्यालय (नरःदे), वडा नम्बर २३ कार्यालय (ओमबहाल), वडा नम्बर १ को सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र (नक्साल) र वडा नम्बर ३१ कार्यालयपरिसरमा पनि यन्त्र जडान भएका छन्।