१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २५ आइतबार
  • Sunday, 08 June, 2025
२o८२ जेठ २५ आइतबार ११:५९:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

बंगलादेशसँगको विद्युत् व्यापार अन्योलमा

बंगलादेश पावर डेभलपमेन्ट बोर्डले गत वर्ष किनेको बिजुलीको पैसा तिरेन, यस वर्षका लागि एलसी खोल्नेलगायत प्रक्रिया सुरु गरेन 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २५ आइतबार ११:५९:oo

विद्युत् व्यापार सम्झौताअनुसार आगामी १५ जुन (१ असार)देखि बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत् खरिद गर्नुपर्नेछ । तर, विद्युत् व्यापार पुनः सुरु हुने दिने नजिकिँदै जाँदा बंगलादेशले विद्युत् आयातको कुनै प्रक्रिया सुरु गरेको छैन । यसले गर्दा बंगलादेशसँगको विद्युत् व्यापार के होला भन्ने अन्योल बढेको छ ।

बंगलादेशको आधिकारिक निकाय बंगलादेश पावर डेभलपमेन्ट बोर्डले यो वर्षको वर्षायाममा नेपालबाट विद्युत् आयातका लागि हालसम्म पनि एलसी खोलेको छैन । त्यति मात्र होइन, बोर्डले गत वर्ष खरिद गरेको विद्युत्को भुक्तानीसमेत दिएको छैन । अघिल्लो वर्षकै विद्युत्को भुक्तानी नदिनु, यस वर्ष विद्युत् आयातका लागि एलसी नखोलिनु तथा हालसम्म कुनै औपचारिक सम्पर्क नहुनुले बंगलादेशसँगको विद्युत् व्यापारमा अन्योल देखिएको हो ।

सबै प्रक्रिया पूरा गरेर नेपाल विद्युत् प्राधिकरणले गत वर्ष १५ नोभेम्बर (३० कात्तिक)मा पहिलोपटक बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरेको थियो । सम्झौताअनुसार १५ जुनदेखि १५ नोभेम्बरसम्म मात्रै विद्युत् निर्यात गर्न पाइने भएकाले त्यसपछिका दिन भने विद्युत् निर्यात गर्न मिलेन । ३० कात्तिकमा भर्चुअल रूपमा यसको उद्घाटन गर्दै दिउँसो १२:१५ बजेदेखि राति १२ बजेसम्म ४० मेगावाट विद्युत् निर्यात गरिएको थियो । त्यस अवधिमा चार लाख ७० हजार युनिट विद्युत् निर्यात भएको थियो । 

प्रतियुनिट ६.४० सेन्टमा विद्युत् निर्यात गर्ने गरी सम्झौता भएको थियो । त्यसवेला निर्यात भएको बिजुलीबापत नेपालले ३० हजार ८० डलर बंगलादेशबाट पाउनुपर्नेछ, जुन रकम अझै प्राप्त नभएको स्रोतको भनाइ छ । ‘यो रकम थोरै हो । तर, यसरी लामो समयसम्म भुक्तानी नहुँदा त्यसले त्यति राम्रो अर्थ भने राख्दैन । सात महिनासम्म पनि भुक्तानी आएको छैन,’ स्रोतले भन्यो, ‘बंगलादेशसँगको विद्युत् व्यापार पहिलो गाँसमै ढुंगाजस्तो भएको छ ।’

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले बंगलादेशले एलसी नखोलेका कारण भुक्तानी नआएको हुन सक्ने बताए । ‘गत वर्ष एक दिन मात्रै विद्युत् निर्यात भएको हो । रकम पनि धेरै थिएन । एक दिनको मात्रै भुक्तानी गर्नका लागि एलसी खोलिएन होला,’ उनले भने, ‘सायद, अब विद्युत् खरिद गरेर गरिने भुक्तानीमा गत वर्षको रकम पनि समावेश हुन्छ होला ।’ 

बंगलादेशले भारतलाई पनि भुक्तानी दिन गरेको थियो ढिलाइ 
बंगलादेशले यसअघि भारतलाई पनि बिजुली खरिदबापतको झन्डै एक अर्ब ११ करोड डलर भुक्तानी गर्न ढिलाइ गरेको थियो । यो गत कात्तिककै घटना हो, जुनवेला नेपालले बंगलादेशमा विद्युत् निर्यात गर्ने अन्तिम तयारी गरेको थियो ।

त्यसवेला बंगलादेशले भारतको अडानी ग्रुपलाई मात्रै ८४ करोड ६० लाख डलर तिर्नुपर्ने थियो । १६ सय मेगावाट विद्युत् उपलब्ध गराएको अडानी ग्रुपले त्यो रकम नपाएपछि गत कात्तिकमा विद्युत् कटौतीसमेत गरिदिएको थियो । त्यसवेला नै बंगलादेशले भारतको पावर ट्रेड कर्पाेरेसन इन्डियालाई आठ करोड र एसइआइएल इनर्जी इन्डियालाई १९ करोड अमेरिकी डलरबराबरको बिल तिर्न बाँकी रहेको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार लेखेका थिए । त्यसपछि भने बंगलादेशले त्यो कारोबार मिलाउँदै लगेको छ । अहिले नेपालबापत खरिद गरेको बिजुलीको भुक्तानीमा पनि बंगलादेशले ढिलाइ गरेको छ । 

१ असारदेखि विद्युत् निर्यात गर्नुपर्ने, तर बंगलादेशले खोलेको छैन एलसी
सम्झौताअनुसार १ असारदेखि बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत् खरिद गर्नुपर्नेछ । एक साता मात्रै बाँकी हुँदा पनि बंगलादेशले नेपालबाट विद्युत् आयात गर्न त्यहाँको बैंकमा लेटर अफ क्रेडिट (एलसी) खोलेको छैन । कुनै पनि वस्तु तथा सेवा आयात गर्दा त्यसको भुक्तानी गर्न एलसी अनिवार्य हुन्छ । नेपालबाट ४० मेगावाट विद्युत् भारतीय प्रसारणलाइन हुँदै बंगलादेश निर्यात गर्ने गरी १७ असोज ०८१ मा त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौतापत्रको अवधि पाँच वर्षको रहेको छ । नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)बिच भएको सम्झौताअनुसार १५ जुनदेखि १५ नोभेम्बर (असार १ देखि कात्तिक ३० गतेसम्म) ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरिन्छ ।

‘सम्झौताअनुसाार विद्युत् निर्यात गर्ने दिन आउन अब एक साता बाँकी छ । जुन १५ तारिखबाट विद्युत् निर्यात गर्नुपर्ने हो । तर, अहिले बंगलादेशले हामीले पठाएको सन्देशमा कुनै रेस्पोन्स गरेको छैन,’ स्रातले भन्यो, ‘हामीले इमेललगायतका माध्यमबाट ताकेता गरेका छौँ । तर, त्यसको पनि रिप्लाई आइरहेको छैन । त्यसले गर्दा बंगलादेशमा विद्युत् निर्यात अन्योलमा परेको छ ।’

नेपालले सन् ०३५ सम्म बंगलादेशमा पाँच हजार मेगावाट विद्युत् बिक्री गर्ने लक्ष्य लिएको छ । तर, अहिले ४० मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता कार्यान्वयनमै चुनौती भइरहेको प्राधिकरणका अधिकारी बताउँछन् । 

प्राधिकरणका प्रवक्ता राजन ढकालले भने बंगलादेशसँग सम्पर्क हुन सुरु गरेको दाबी गरे । यद्यपि, बंगलादेशले एलसी अझै नखोलेको भने उनले स्विकारे । ‘हालै विद्युत् निर्यातका लागि कार्यतालिका बनाउने विषयमा बंगलादेश र प्राधिकरणको भारप्रेषण केन्द्रबिच समन्वयन भएको जस्तो लाग्छ । तर, एलसी नै खोलेको भने छैन । तर, विद्युत् निर्यातको कार्यतालिका बनाउने विषयमा काम भने भइरहेको छ । एलसी भुक्तानीका लागि आवश्यक हो । बंगलादेशले एलसी खोल्ने तयारी गरिरहेको छ जस्तो लाग्छ,’ उनले भने, ‘विद्युत् भने १५ जुनबाट नै निर्यात गर्न सकिन्छ भन्नेमा हामी आशावादी छौँ ।’